टेस्ट राष्ट्रविरुद्ध नेपालको सुदृढ ब्याटिङ, तर डेथ ओभरमा जिम्बाबेको कमब्याक
काठमाडौं । टेस्ट राष्ट्रको मान्यता प्राप्त जिम्बाबेविरुद्ध उसकै घरेलु मैदानमा नेपालले आफ्नो ब्याटिङ क्षमता खुलेर प्रस्तुत गरेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको साझेदारीप्रेरित नेपालले जिम्बाबेलाई २९१ रनको बलियो लक्ष्य दियो ।
नेपालका अग्रपंक्तिका ब्याट्सम्यानहरु जिम्बाबेका बलरहरुमाथि पूर्ण हावी भएका थिए । तर, गतिलो फिनिसिङ गर्न नसक्दा नेपालले ३०० रनको कोसेढुंगा पार गर्न सकेन । यद्यपि, यो नेपालको तेस्रो ठूलो एकदिवसीय स्कोर हो । यदि सिकन्दर राजाको समूहलाई बलरहरुले अंकुश लगाउन सके नेपालले जिम्बाबेलाई ‘सेटब्याक’ दिन सक्नेछ ।
एक समय नेपाल सहजै ३ सय रन पार गर्न सक्ने अवस्थामा थियो । तर, अन्तिम पाँच ओभरमा नेपालले लगातार विकेट गुमाउँदा आक्रामक रन बटुल्न सकेन । कुशल मल्ल क्रिजमा हुँदासम्म नेपालले ठूलो विशाल स्कोरको आशा गरेको थियो । तर, जब उनी आफ्नो विस्फोटक अन्दाजमा उत्रिँदै थिए, लुज सटमा विकेट गुमाउन पुगे । ४४.२ ओभरमा तेन्दाइ चतारालाई आकर्षक छक्का प्रहार गरेलगत्तै ४४.३ ओभरमा उनी क्याचआउट हुन पुगे ।
मल्ल आउट हुँदासम्म नेपाल ४ विकेट गुमाएर २५५ रनको स्थितिमा थियो । अझै ६ विकेट र ३३ बल हातमा थिए । यदि पछाडिका ब्याट्सम्यानहरुले पनि रफ्तार समातेको भए नेपालले ३३ बलमा कम्तिमा ५० रन बनाउन सक्थ्यो । तर, त्यस्तो भएन । आरिफ शेख र गुल्शन झाले रन गति बढाउन सकेनन् । दबाब बढ्दै जाँदा उनीहरु दुवै आउट भए । त्यसपछि भीम सार्कीले स्कोर बोर्डमा दख्खल दिन सकेनन् ।
नेपालसँग ११ नम्बरसम्म नै ब्याट्सम्यान थिए । आठौं नम्बरमा पठाइएका दीपेन्द्रसिंह ऐरी र विस्फोटक करण केसीले पनि बाउन्ड्री निकाल्न सकेनन् । नेपालले पछिल्ला ५.३ ओभरमा ५ विकेट गुमाउँदा ३५ रनमात्रै जोड्न सक्यो ।
यद्यपि समग्रमा नेपालले बनाएको स्कोर बलियो हो । योभन्दा ठूलो स्कोर एकदिवसीयमा नेपालले दुई पटकमात्रै बनाएको छ । गत अप्रिलमा नेपालले ओमानलाई ३११ र गत मार्चमा पपुआ न्युगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य दिएको थियो । ती दुवै खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म २७९ रनको लक्ष्यसम्म दिएर हारेको इतिहास छ । सन् २०२२ को मार्चमा नेपालले कीर्तिपुर मैदानमा पीएनजीलाई २७९ रनको लक्ष्य दिएर पनि त्यस खेलमा ३ विकेटले पराजित भएको थियो ।
टेस्ट मान्यता प्राप्त जिम्बावेविरुद्ध सन्दीप लामिछाने, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले स्पीन आक्रमण सम्हाल्नेछन् भने गुल्सन झा, सोमपाल कामी र करन केसी फास्ट बलिङमा उत्रनेछन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेका पछिल्ला १४ मध्ये १३ वटा खेल जितेको छ । टेस्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने पहिलोपटक भिडेको हो ।
आजको म्याचमा नेपालले सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाएको छ । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रन जोडे । कुशल ९९ रनमा र आसिफ ६६ रनमा आउट भए । टेस्ट राष्ट्रविरुद्ध अर्धशतक प्रहार गर्ने कुशल पहिलो र आसिफ दोस्रो ब्याट्सम्यान बनेका छन् ।