कालीमाटीको सडकमै टमाटर फाल्ने किसान हुन् कि बिचौलिया ? – Nepal Press

कालीमाटीको सडकमै टमाटर फाल्ने किसान हुन् कि बिचौलिया ?

काठमाडौं । आइतबार कालीमाटीमा किसानको जमात टमाटरको क्रेट लिएर सडकमा उत्रिए । केही किसान कालीमाटी तरकारी भित्रैको होल्डिङ एरियामा टमाटरको क्रेट लिएर फ्याँकिरेहका थिए भने केहीले कालीमाटी चोकमै लगेर फ्याले । दुःख गरेर आफैंले उब्जाएको तरकारी कसरी किसानले रोडमै फाल्न सके त ?

कतिपयले यसमा बिचौलियाको हात रहेकोसमेत बताए । हामीले टमाटर फाल्नेमध्येकै एक किसानलाई सोध्यौं ।

टमाटर किन फालिएको हो ?

ढुंगाना एग्रिकल्चरका किसान सामर्थ ढुंगाना आफूहरुले उब्जाएको टमाटरले मूल्य नै नपाएको बताउँछन् । टमाटर फाल्नेमा सबै काठमाडौं उपत्यकाभित्रकै किसान भएको उनले दाबी गरे ।

किसानहरुले ३० देखि ४० हजार रुपैयाँ प्रतिरोपनीसम्म भाडामा जग्गा लिएर टनेलमा टमाटर खेती गरिरहेका छन् । उब्जनीमा लागेको लागतसमेत टमाटरले उठाउन नसकेपछि विरक्तिएर आफूहरुले टमाटर फालेको ढुंगाना बताउँछन् ।

उनी भन्छन, ‘सरकार युवालाई उद्यममा जोड्ने, सामूहिक खेतीमा प्रोत्साहन गर्ने भन्छ । तर, देशभित्रै उद्यममा जोडिएका युवाको उत्पादनले मूल्य नपाउँदा सरकार मौन बस्छ ।’

टमाटरको पनि समर्थन मूल्य तोक्नुपर्ने किसानहरुको माग छ । काठमाडौं उपत्यकाभित्रै दैनिक ३ लाख केजीभन्दा बढी उत्पादन भए पनि माग भने ५० प्रतिशत पनि नभएको किसानको भनाइ छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ भन्छन्, ‘किसानले उत्पादन बढी गरे । तर, माग नभएपछि मूल्य कम भएको हो । मूल्य नपाएपछि किसानहरु आक्रोशित भएर टमाटर सडकमा फ्याँकेका हुन् ।’

यसअघि चितवनका किसानहरुले गत माघमा सडकमा टमाटर फालेका थिए । आइतबार कालीमाटी तरकारी बजारमा टनेलको गोलभेडा प्रतिकेजी ६ देखि १० रुपैयाँसम्म रहेको छ । व्यापारीले बेच्ने बिक्री मूल्य यो भए पनि वास्तविक किसानले पाउने मूल्य योभन्दा कम छ ।

तर, खुद्रा बजारमा भने ३० देखि ४० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको छ । किसानहरुले उत्पादन गरेर बजारसम्म ल्याउँदा ३० देखि ३२ रुपैयाँसम्म लागत लागे पनि बिक्री गर्दाको मूल्य भने निकै कम भएको उनीहरुको गुनासो छ ।

यता भारतबाट आउने ठूलो टमाटरको मूल्य भने ४० देखि ४५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको छ । खुद्रा पसलमा आइपुग्दा त्यसको मूल्य पनि बढी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *