संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग – Nepal Press

संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग

कैलाली । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशले संरक्षण क्षेत्र घोषणा गर्ने प्रदेश सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा डडेल्धुराको महाभारत र अछामको रामारोशन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै प्रदेश अध्यक्ष झुमा चौधरी सरकारले उक्त निर्णय फिर्ता लिनु पर्ने बताएकी छन् ।

प्रदेश सरकारको बजेट वक्तव्यमा उल्लेखित उक्त घोषणाले सामुदायिक वन व्यवस्थापन र वन तथा प्राकृतिक स्रोत माथिको सामुदायिक अधिकार प्रभावित र कुण्ठित हुने सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश महासंघको ठहर छ ।

‘उद्योग तथा पर्यटन विकासका नाममा समुदायको प्राकृतिक स्रोतमा अनुचित दोहन र हस्तक्षेप हुने भएको हुँदा बुँदा नम्बर ४१ खारेज गर्नका लागि प्रदेश सरकार समक्ष अनुरोध गर्दछौ’ प्रदेश अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मन्त्रालयको सहमति लिएर मात्रै सामुदायिक बन हस्तान्तरण गर्ने सरकारको नीतिलाई समेत विरोध गरिएको छ ।यस अघि डिभिजन बन कार्यालयले सामुदायिक बन हस्तान्तरण गर्ने संघीय व्यवस्था भएको हुँदा अहिले प्रदेश सरकारले संघ सरकारसँग बाझिने नीति लिएको समेत बताइएको छ ।

महासंघले बुँदा नम्बर ५८ पनि खारेज गर्नु पर्ने बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *