मागभन्दा बढी आवेदन परिसक्दा पनि किन थप्यो घोराही सिमेन्टले आईपीओमा आवेदन दिने समय ? – Nepal Press

मागभन्दा बढी आवेदन परिसक्दा पनि किन थप्यो घोराही सिमेन्टले आईपीओमा आवेदन दिने समय ?

काठमाडौं । महँगोमा बिक्री खुला गरेको घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय थप भएको छ । सोमबार १० बजेसम्म घोराही सिमेन्टमा २ करोड २४ लाख ९४ हजार ५८० कित्ताका लागि आवेदन परिसकेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । जबकि घोराहीले ६९ लाख ११ हजार ६ सय ७० कित्ताका लागि आवेदन खुलाएको थियो ।

मागभन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले आईपीओ भर्ने समय भने थपेको छ । प्राप्त भएका आवेदनहरू सबै प्रमाणित भई नसकेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्‍याइएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

हिमालयन क्यापिटलका चिफ अपरेटिङ अफिसर राम प्रसाद भट्टराईले सिआस्वा बैंक तथा वित्तीय संस्थाले प्रमाणीकरण गर्ने काम भ्याई नसकेकोले समय स्वतः थप भएको बताएका छन् ।

उनले प्रमाणीकरणको काम सकिने बित्तिकै आवेदन बन्द गरिने जानकारी नेपाल प्रेसलाई दिए । सीडीएसका अनुसार सोमबार १० बजेसम्म ५ लाख ७ हजार ९५४ जना सर्वसाधारणले ९ अर्ब ७८ करोड ५१ लाख ४२ हजार ३ सय रुपैयाँ बराबरको कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले जेठ ३२ गते देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो ।

महँगो मूल्यमा आईपीओ जारी गरेको घोराहीको वित्तीय अवस्थामाथि नै लगानीकर्ताले शंका गरेका थिए ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ ।

त्यसबेला सबै सेयर बिकेको थिएन । नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो । घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् ।घोराहीको गत आर्थिक वर्षको ९२०७८र९८० को वित्तीय विवरणअनुसार कुल २१ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

क्रेडिट रेटिङ नेपालबाट रेटिङ गराएको घोराहीले CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating) रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको जनाउँछ । यस कम्पनीको नेटवर्थ २२६ रुपैयाँ ६१ पैसा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *