घोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन, १ करोड कित्ताभन्दा बढी आवेदन रद्द – Nepal Press

घोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन, १ करोड कित्ताभन्दा बढी आवेदन रद्द

काठमाडौं । प्रिमियम मूल्यमा शेयर (आइपिओ) निष्कासन गरेको घोराही सिमेन्टको एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएको छ । सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतले रद्द हुनेक्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्ने बताएको छ । आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएको छ ।

योसँगै धितोपत्र बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक शेयर निष्कासनमा रोक लगाइएको हो ।

यसै कारण सोमबार नै सीडीएससीले सूचना जारी गरेर बैंक खातामा भएको रकमभन्दा बढीको आईपीओ भर्नेलाई कारबाही गरिने बताएको छ ।

संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा बैंक खातामा मौज्दात नराखी बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको निष्कासन प्राप्त आवेदनको संख्या वा परिणामलाई प्रभावित पार्न खोजेमा कारबाही हुने जनाएको छ ।

सीडीएससीका अनुसार सोमबार २ बजेसम्म २ करोड ३३ लाख २२ हजार ३ सय कित्ताका लागि आवेदन परेको छ । रकमका हिसाबले १० अर्बभन्दा बढीको आवेदन हो ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । यसले १ सय अंकित मूल्यमा ३३५ रूपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रूपैयाँका दरले आईपीओ खुला गरेको हो ।

प्राप्त भएका आवेदनहरू सबै प्रमाणित भई नसकेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्‍याइएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । हिमालयन क्यापिटलका चिफ अपरेटिङ अफिसर रामप्रसाद भट्टराईले सीआस्वा बैंक तथा वित्तीय संस्थाले प्रमाणीकरण गर्ने काम भ्याई नसकेकोले समय स्वतः थप भएको बताएका छन् ।

उनले प्रमाणीकरणको काम सकिनेबित्तिकै आवेदन बन्द गरिने जानकारी नेपाल प्रेसलाई दिए ।

प्रमाणीकरणकै सिलसिलामा १ करोड कित्ताभन्दा बढीको आवेदन बैंक खातामा भएको रकमभन्दा बढीको आवेदन दिएको कारण रद्द भइसकेको छ । प्रमाणीकरणको काम जारी रहेकाले रद्द युनिट अझै बढ्न सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर