तीन करोड भ्रष्टाचारको आरोपमा सिंचाई विभागका तत्कालीन महानिर्देशकविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचार्य विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारी विरुद्ध ३ करोडभन्दा बढी विगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ ।
उनले महानिर्देशकका रुपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान गर्दा उनले भष्ट्राचार गरेको पुष्टि गरेपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राजभण्डारीले २०५१ साल फागुन ३० देखि २०७८ भदौ ३१ गतेसम्मको अनुसन्धान जाँच अवधिमा तीन करोड ६५ लाख ७७ हजार ३४६ रुपैयाँको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ ।
उनले प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदा अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार भण्डारीले सार्वजनिक पदको दुरुपयोग गरी सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेकोले तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपैया बिगो कायम गरी कैद तथा जरिवानाको सजाय हुन गर्न र अस्वभाविक सम्पत्ति जफत र असुल उपर गरी पाउन मागदावी गर्दै मुद्दा दायर गरिएको छ ।
यसैगरी, राजभण्डारीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति उनले श्रीमती दिपा श्रेष्ठको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, कम्पनी लगानी, विमा प्रिमियम भुक्तानी लगायत गरेको भन्दै दिपा श्रेष्ठबाट बिगो जफत गर्न पनि माग गरिएको आयोगले जनाएको छ ।