निवर्तमान अध्यक्ष आचार्यको संयोजकत्वमा इप्पानको सल्लाहकार समिति गठन
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।
निवर्तमान अध्यक्ष सल्लाहकार समितिको संयोजक रहने संस्थाको विधानबमोजिम अग्रज ऊर्जा उद्यमी, ऊर्जाविज्ञ, ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरूमध्येबाट सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले उल्लेख गरेका छन् ।
संस्थाको २१ सदस्यीय सल्लाहकार समितिमा पूर्वराज्यमन्त्री एवं ऊर्जा उद्यमी उमेश श्रेष्ठ, प्रतिनिधिसभाका सांसद एवं ऊर्जा उद्यमी दीपक खड्का, प्रतिनिधिसभाका सांसद एवं ऊर्जा उद्यमी एलपी साँवा लिम्बू, इप्पानका पूर्वउपाध्यक्ष कुमार पाण्डे, पूर्वसांसद एवं ऊर्जा उद्यमी डेढराज खड्का, वरिष्ठ ऊर्जा उद्यमीहरू गुरूप्रसाद न्यौपाने, ई. भानु पोखरेल, वीरेन्द्रबहादुर न्यौपाने, बटु लामिछाने र पुष्पज्योति ढुङ्गाना सदस्यमा नियुक्त भएका छन् ।
यसैगरी ऊर्जा उद्यमीहरु, केशवबहादुर रायमाझी, अर्जुनप्रसाद गौतम, सुशील थापा, अनुप आचार्य, ध्रुवप्रसाद उप्रेती, जगत पोखरेल, कृष्ण आचार्य, मनोज गोयल, सुनिल केसी, इन्दिरा पन्तलाई पनि इप्पानको सल्लाहकारमा नियुक्त गरिएको छ ।
इप्पान विधानको परिच्छेद ९ को धारा १ अनुसार इप्पानमा २१ सदस्यीय सल्लाहकार समिति गठन गर्न सक्ने व्यवस्थाअनुसार असार १ गते बसेको इप्पान कार्यसमितिको बैठकल सल्लाहकार समिति गठन गरेको इप्पानले जनाएको छ ।
विधानमा भएको व्यवस्थाअनुसार सल्लाहकार समितिका सदस्यहरूले समितिको बैठकमा उपस्थित भई आवश्यक परामर्श दिन सक्नेछन् । सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार कार्यसमितिले तोकेबमोजिम हुने उल्लेख छ ।
यसैगरी ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका विज्ञहरू रहने एक छुट्टै विज्ञ सल्लाहकार समिति गठन गर्नेसमेत बैठकले निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिए ।