योजना कार्यान्वयनमा चौतारा साँगाचोकगढी नगरपालिका अगाडि – Nepal Press

योजना कार्यान्वयनमा चौतारा साँगाचोकगढी नगरपालिका अगाडि

भौतिक निर्माणमा सतप्रतिशत प्रगति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये योजना कार्यान्वनको हिसाबले सबैभन्दा अगाडि चौतारा साँगाचोकगढी नगरपालिका देखिएको छ । सिन्धुपाल्चोकको पहिलो र आन्तरिक आम्दानीको सबैभन्दा बढी स्रोत समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले चालु आर्थिक वर्ष सकिनै लाग्दा योजनाको काम पनि लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको पहिलो एक वर्ष पुरा हुदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले साना ठुला गरी ३ सय ८५ योजनाहरुमा बजेट विनियोजन गरेको थियो ।

चालु आर्थिक वर्ष सकिन अब केही हप्ता मात्रै बाँकी रहँदा चौतारा साँगाचोकगढी नगरपालिकाको भुक्तानीको प्रक्रिया मात्रै होइन योजना पनि सबै सकिन लागेको नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिए । नगरपालिकाले चालु आर्थिक वर्षमा भौतिक निर्माणका लागि विनियोजन गरेको बजेट तथा योजनाको सतप्रतिशत प्रगति भएको नगरपालिकाले दाबी गरेको छ ।

भौतिक निर्माण–सडक पहिलो प्राथामिकता

अन्य स्थानीय तहले जस्तै चौतारा साँगाचोकगढी नगरपालिकाले पनि भौतिक पुर्वाधार तर्फ सडक निर्माणको योजनालाई चालु आर्थिक वर्षमा पहिलो प्राथामिकतामा राखेको छ ।

‘सडक सञ्जाल गाउँ–गाउँमा पुगेपछि त्यहाँ उत्पादित सामग्रीले पनि बजार पाउँछ त्यसैले सडकलाई स्थानीयको आयआर्जनसँग पनि जोडेका छौं’ नगरपालिकाका मेयर  सापकोटाले भने ।

चौतारा साँगाचोकगढी नगरपालिकाको सबै १४ वडामा यो आर्थिक वर्षमा २१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने ३ सय १० किलोमिटर सडकको स्तोरन्नती गरिएको उनले बताए । नगरपालिकाको आफ्नै स्रोतबाट भने यो वर्ष जम्मा २ दशमलब १५ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ ।

‘हामीले कालोपत्रेका लागि यो वर्ष धेरै सडकहरुको पुर्वाधार तयार पारेर स्तोरन्नती गरेका छौ,आगामी आर्थिक वर्षमा थप सडकहरुमा कालोपत्रे गर्ने योजना बनाएका छौ मेयर सापकोटाले भने–‘ एक किलोमिटर सडक कालोपत्रे गर्न नै धेरै बजेट आवश्यक पर्ने र पहाडी भू–बनोटका कारण धेरै सडकमा कालोपत्रे गर्नका लागि बजेट अभाव छ ।’ सडकहरु कालोपत्रे र ढलानका लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको मेयर सापकोटाले जानकारी दिए ।

नगरपालिकाले आफ्नै बजेटमा यो वर्ष वडा नम्बर ३ को कुभिण्डे खोलामा पक्की पुल समेत निर्माण गरेको छ । नगरपालिकाले अहिलेसम्म कुनै सडक ट्रयाक नै नपुगेको धेरै बस्तीहरुमा सडक ट्रयाकले जोडिदिँदा स्थानीय समेत खुसी भएका छन् । यो वर्ष वडा नम्बर १ को स्याउले–बदलाङ–महभिर सडक खनिएको छ । ९० मिटर लम्बाइको सडकको ट्रयाक पहिलो पटक खनिएपछि स्थानीय खुसी भएका छन् ।

त्यस्तै वडा नम्बर–१ को पात्लेपानी–गुरुङडाँडा–भेडावारी–कुभिण्डे खोला–किटीनी सडक, वडा नम्बर ७ का् मेलचौर–कल्लेरी–आरुबोटे–मार्से खोला सडक, मेलचौर–भैसे सडक, नौबिसे–देवीडाँडा–कामीडाँडा सडक, इर्खु हुदै दिप गाउँ जोड्ने सडक पनि यो वर्ष स्तोरन्नती गरिएको छ ।

चौतारा–गिदाने–झ्याढी सडक, चौतारा शहरी सडक भिरकुना आर्मी ब्यारेक जोड्ने सडक लगायत धेरै सडकहरुको यो वर्ष स्तोरन्नती गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले जानकारी दिइन् ।

 

गोरेटोबाटो निर्माणलाई प्राथामिकता

गाउँघरमा सडक सञ्जालको बढ्दो निर्माणसँग पराम्परगत रुपमा आवतजावत गर्ने गोरेटो बाटोहरु मर्मत सम्भार नहुँदा हिँडडुलमा नै समस्या भएपछि चौतारा साँगाचोकगढी नगरपालिकाले पुराना गोरेटो तथा सिढी बाटोहरुलाई यो वर्ष प्राथामितामा राखेर निर्माण गरेको छ ।

नगरपालिका भित्रका सबै वडाका बस्तीहरुमा पुराना बाटाहरुलाई पहिचान र प्राथमिकतामा राखेर नगरपालिकाले यो वर्ष ४ हजार ८ सय ४९ मिटर पुराना बाटाहरु निर्माण तथा मर्मत गरेको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिए । आउने आर्थिक वर्षमा पनि यस्ता बाटाहरु निर्माण गरिने मेयर सापकोटाले बताए ।

नगर गौरवको योजना, कृषकहरुका लागि शीत भण्डार

चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीयले उत्पादन गरेका कृषि उत्पादनलाई पछिसम्मको लागि भण्डार गर्ने उदेश्यले चौतारा साँगाचोकगढी नगरपालिका–४ मा शित भण्डार निर्माण सुरु गरिएको छ ।

यो शीत भण्डार निर्माण सम्पन्न भएपछि नगरपालिकाका धेरै किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्रीको भण्डारणका लागि सजिलो हुने छ । त्यस्तै अघिल्लो वर्ष नै नगरपालिकाको ५ नम्बर वडाको चौतारा बजारमा निर्माण सम्पन्न भएको मिनी शीत भण्डारलाई यो वर्षदेखि सञ्चालनमा ल्याइएको छ ।

मठ मन्दिर,गुम्बा धार्मिक सांस्कृति सम्पदा निर्माण

चौतारा साँगाचोकगगढी नगरपालिकाले नगरपालिका भित्र रहेका विभिन्न जातजातिहरुको सांस्कृतिक सम्पदाहरुको निर्माणलाई पनि नगरपालिकाले यो आर्थिक वर्षमा निर्माणका लागि महत्व दिएको छ । अघिल्लो कार्यकालमा निर्माण सुरु गरिएको बुद्धपार्कलाई यो वर्ष पनि बजेट राखेर निर्माण कार्यलाई अगाडि बढाएको छ ।

नगरपालिकाले यो वर्ष २९ वटा मन्दिरलाई ममर्त गरेको छ भने ५ वटा छर्याेतेनको पनि पुननिर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । त्यस्तै पुरात्वतिक हिसाबले निकै महत्वपुर्ण रहेको चौतारा पुरानो बजारमा रहेको कृष्ण मन्दिरको पनि पुरात्तव विभागसँग समन्वय गरेर निर्माण कार्य अगाढी बढाएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले पार्क लगायत अन्य संरचनाहरुको समेत निर्माण गरेको छ । यो वर्ष ८ लाख रुपियाँको बजेटमा वढा नम्बर ५ को छापमा शंखधर पार्क निर्माण सम्पन्न गरेको छ । त्यस्तै वडा नम्बर १३ को नर्सिङडाँडामा शहिद स्मृति पार्कका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेर पार्क निर्माणको सुरुवात गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर