मोर्चा गठनमा प्रचण्डको छलाङ- निरन्तरतामा क्रमभंग कि महाविपत्तिको पूर्वाङ्ग ?
काठमाडौं । निरन्तरतामा क्रमभंग माओवादी अध्यक्ष प्रचण्डको कार्यनीति हो । जनयुद्धका बेला प्रचण्डले प्रतिपादन गरेको रणनीति थियो– ‘धक्का, छलाङ, महाविपत्ति र कब्जा’ ।
प्रचण्ड कुनै न कुनै प्रयोग नगरी बसिरहन सक्दैनन् । त्यसैले उनी आफूलाई अस्थिर होइन गतिशील नेता भन्न रुचाउँछन् । आफ्नो प्रयोग असफल भएपछि तत्कालै छलाङ मार्ने र त्यो प्रयोग गलत थियो भन्न कत्ति पनि अप्ठेरो नमान्ने व्यवहारवादी नेता हुन् प्रचण्ड ।
पछिल्लो पटक समाजवादी मोर्चा घोषणा सभामा उनले एमालेसँगको एकता हतारमा गरिएको गल्ती थियो भन्न भ्याइहाले । जुन स्वीकारोक्ति समकालीन अरु नेताहरुमा देखिन्न । यही गुणले प्रचण्डलाई शान्ति प्रक्रियामा आएदेखि निरन्तर सत्तामा बस्न सघाएको छ ।
प्रचण्डले युद्धकालदेखि नै प्रयोग गरेको र सफलता/असफलता दुवै व्यहोर्दै आएर पनि छाड्न नसकेको नीति भनेको धक्का, छलाङ, क्रमभंग र महाविपत्ति नै हो । महाविपत्ति सिर्जना गरेर आफ्नो पहलकदमीबाट सत्तामा पुग्नु नै उनको अहिलेसम्मको सफल प्रयोग हो ।
उनको यो नीतिको पछिल्लो प्रयोग चुनावअघि र पछि एक महिनाका बीचमा तीनपटक प्रयोग भइसकेको छ । चौथो प्रयोग कांग्रेससहितको ९ दलीय सत्ता गठबन्धनको नेतृत्व गरिरहेकै बेला विप्लवसहितको चार दलीय ‘समाजवादी मोर्चा’को घोषणा हो ।
२०४४ सालदेखि निरन्तर पार्टी सत्ताको नेतृत्व गरिरहेका प्रचण्ड २०६४ सालदेखि कुनै न कुनै रुपमा सत्ताको नेतृत्व वा सहभागी भएर बसिरहेका नेता हुन् । आज उनीसँग संख्याको हिसाबले निकै कमजोर शक्ति छ । त्यसैले थर्ड फ्रन्ट खडा गरेर ५४ सीट संख्याको नेतृत्व गर्दै सत्ता सहयात्री कांग्रेसलाई दबाबमा राख्ने रणनीतिमा छन् ।
प्रचण्ड जबजब सत्ता र शक्तिको किनारामा पर्छन् वा आफ्नै पार्टीभित्र र बाहिर चलखेल गरेर आफूलाई केन्द्र भागमा राख्न चाहन्छन् तबतब उनी मोर्चा वा गठबन्धनको अस्त्र फाल्छन् । पछिल्लो समाजवादी मोर्चा त्यसको उदाहरणमात्र हो । उनले बितेका ३० वर्षमा यस्ता मोर्चा, गठबन्धन वा संयुक्त मोर्चाको प्रयोग पटकपटक गरिसकेका छन् ।
आफूलाई सत्ता र शक्तिमा अविच्छिन्न रुपमा राखिरहन प्रचण्डले कहिले आफ्नै पार्टी फुटाएको इतिहास छ भने कहिले तत्कालीन अवस्थामा आफ्नो दस्तावेजमा प्रमुख दुश्मन घोषणा गरिएका राजादेखि कांग्रेससँग सहकार्य गरेका छन् ।
कहिले आफ्नै सहयोद्धालाई (बाबुराम भट्टराई) लालसेनाको हिरासतमा लिएर राजासँग संयुक्त मोर्चाको तयारी त कहिले भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरेर दिल्लीमा भारतीय प्रधानमन्त्रीलाई याचनापत्र बुझाउँदै दल र राजाविरुद्धको मोर्चासमेत प्रचण्डले अभ्यास नगरेका होइनन् ।
प्रचण्ड जब जब सत्ता र शक्तिको किनारामा पर्छन् वा आफ्नै पार्टीभित्र र बाहिर चलखेल गरेर आफूलाई केन्द्रभागमा राख्न चाहान्छन् त्यो बेला उनी मोर्चा वा गठबन्धनको अस्त्र फाल्छन् । पछिल्लो समाजवादी मोर्चा त्यसको उदाहरणमात्र हो । उनले बितेका ३० वर्षमा यस्ता मोर्चा, गठबन्धन वा संयुक्त मोर्चाको प्रयोग पटकपटक गरिसकेका छन् ।
प्रचण्डको पछिल्लो समाजवादी मोर्चाको बारेमा धेरै व्याख्या गरिरहन किन जरुरी छैन भने यसको स्थायित्व र निरन्तरतामाथि मोर्चाका शीर्ष नेताहरु नै विश्वस्त छैनन् । मोर्चाको अवधारणा बनाउने बाबुराम भट्टराईलाई किन यसबाट बाहिर राखियो ? यसले धेरै कुरा प्रस्ट पार्छ ।
मुख्य कुरा प्रचण्डले आफ्नो सत्तामाथि कतैबाट घुन पुतली लाग्ने संकेत पाएपछि हतारहतार ५४ सीटको शक्ति देखाउन गरिएको मोर्चा हो । यसबाहेक यो मोर्चाको अगाडिको यात्राको गन्तव्य छैन । तर, प्रचण्डको हकमा भने यस्ता मोर्चाको गठन र विघटन निरन्तरतामा क्रमभंगमात्र हुन् भन्ने कुरा विगतका प्रयोगबाट थाहा हुन्छ ।
प्रचण्डले कहिले कुन मोर्चा बनाए ? यो टाइमलाइनमा हेर्न र बुझ्न सकिन्छ । यस आलेखको उद्देश्य पनि समाजवादी मोर्चाको विश्लेषणभन्दा पनि प्रचण्डले प्रयोग गरेका र इतिहासको गर्तमा बिलाएका मोर्चाहरुलाई ताजा गराउने उत्खनन् मात्र हो ।
१ः संयुक्त राष्ट्रिय जनआन्दोलन
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनलाई निर्णायक बनाउन २०४६ सालमा कांग्रेस र कम्युनिष्ट पार्टीले संयुक्त जनआन्दोलन गर्ने भए । मदन भण्डारीले नेतृत्व गरेको तत्कालीन नेकपा माले र मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालीन नेकपा माक्र्सवादीलगायतका वाम दलहरुले संयुक्त वाममोर्चा बनाए । वाममोर्चाको संयोजक सहाना प्रधान थिइन् ।
जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा तत्कालीन नेकपा (मशाल) पछि एकता केन्द्रका महासचिव प्रचण्डले वाम मोर्चाभन्दा बाहिर अर्को मोर्चा बनाए । संयुक्त राष्ट्रिय जनआन्दोलनको ब्यानरमा फरक आन्दोलन गरे । २०४६ चैत २६ गते राजा र कांग्रेस तथा वाममोर्चाबीच बहुदलीय व्यवस्था पुनःस्थापनाको सहमति भयो । तर, प्रचण्ड नेतृत्वको मोर्चाले सो सहमति अमान्य भन्यो ।
संयुक्त राष्ट्रिय आन्दोलनलाई प्रचण्डले जनयुद्धकालमा पनि भक्तहादुर श्रेष्ठको नेतृत्वमा खुला मोर्चाको रुपमा प्रयोग गरेका थिए ।
२ः संयुक्त जनमोर्चा
बहुदलीय व्यवस्थालाई नमान्ने भने पनि २०४८ सालको आम निर्वाचनलाई प्रचण्डले प्रयोग गरे । उनले नेकपा एकता केन्द्रको महासचिव भए पनि चुनाव लड्न संयुक्त जनमोर्चा घोषणा गरे ।
डा.बाबुराम भट्टराईले मोर्चाको नेतृत्व गरे । उक्त मोर्चाले नेकपा एमालेसँग मिलेर २०५ सदस्यीय प्रतिनिधिसभामा ९ सीट जितेर तेस्रो पार्टी बनेको थियो । जुन आकारमा अहिले पनि माओवादी आइपुगेको छ ।
कहिले आफ्नै सहयोद्धालाई (बाबुराम भट्टराई) लालसेनाको हिरासतमा लिएर राजासँग संयुक्त मोर्चाको तयारी त कहिले भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरेर दिल्लीमा भारतीय प्रधानमन्त्रीलाई याचनापत्र बुझाउदै दल र राजाविरुद्धको मोर्चा समेत प्रचण्डले अभ्यास नगरेका होइनन् ।
९ सीट जितेको जनमोर्चा ३ वर्ष नपुग्दै विभाजित भएर प्रचण्डले नेकपा माओवादी गठन गरी जनयुद्ध थालेका थिए ।
३ः संयुक्त मोर्चा/जनसरकार
माओवादी जनयुद्ध सुरु भएपछि नेताहरु भूमिगत भए । भक्तबहादुर श्रेष्ठको नेतृत्वमा माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलनलाई संयुक्त मोर्चाका रुपमा परिचालित गरेर खुला गतिविधिमार्फत माओवादीको पक्षमा जनमत बनाउने प्रयास गरेको थियो ।
यसबीचमा भक्तबहादुर पटकपटक पक्राउ परे । २०५७ सालबाट माओवादीले प्रचण्डपथ विकास गर्दै २०५८ मा संयुक्त जनसरकार घोषणा गरेको थियो । जनसरकारलाई माओवादीले मोर्चा नै भनेको थियो ।
प्रचण्डले संयुक्त जनसरकारलाई माओवादीमात्र नभएर प्रगतिशील, देशभक्त, जनवादीहरुले प्रतिस्पर्धा गर्न पाउने भन्दै मोर्चाकै रुपमा व्याख्या गरेका थिए । जसको नेतृत्व केन्द्रमा बाबुराम भट्टराईले गरेका थिए ।
२०६२ सालतिर रोल्पालगायतका केही ठाउँमा नमुना मतदान गरेर संयुक्त जनसरकारमा माओवादी पार्टीबाहेकका व्यक्तिलाई पनि प्रतिस्पर्धा गराइएको थियो । तर, तत्कालीन कांग्रेस–एमालेविरुद्ध राजासँग सहकार्य गरेर सत्तामा जाने प्रचण्डको नीतिविरुद्ध उभिएबापत बाबुरामलाई कारबाही गरेर हिरासतमा राखिएपछि संयुक्त जनसरकार पनि एक प्रकारले भंग भएको थियो ।
४ः पहिचानवादी मोर्चा
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनबाट करिब बहुमतसहित ठूलो दल बनेको माओवादीले सरकारको नेतृत्व गरे पनि प्रधानसेनापति काण्ड लागेर प्रचण्डले राजीनामा दिए । त्यसपछि सडकबाटै सत्ता कब्जा गर्ने भनेर देशभरबाट ५ लाख मान्छे काठमाडौंमा जम्मा गरेर हड्ताल गरे पनि पार लागेन ।
त्यसपछि लगातार संविधान निर्माणको बाटो अवरुद्ध भयो । २०६९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको निवास बालुवाटारमा जनजाति सभासद ककस र दलहरुबीच ११ बुँदे सम्झौता भयो, जसमा बहुजातीय पहिचानसहितका ११ प्रदेश बनाउने भनियो ।
सहमतिमा हस्ताक्षर गरेर बालुवाटारबाट तत्कालीन निवास लाजिम्पाट पुगेका प्रचण्डले सम्झौताको मसी सुक्न नपाउँदै तत्कालीन मधेसी मोर्चा र आदिवासी जनजाति मोर्चाका नेताहरुलाई बोलाए । आफूले मात्र एकल जातीय पहिचान लिन नसकेको भन्दै अब सडक आन्दोलनबाटै अधिकार लिन आग्रह गरे ।
त्यसपछि आदिवासी जनजाति आन्दोलन भयो । जनधनको क्षति भयो । मधेशमा पनि आन्दोलन भयो । तर, अन्तिममा संविधानसभा नै भंग भयो र प्रचण्डको हातमा केही रहेन । त्यसपछि भएको दोस्रो संविधानसभा चुनावमा प्रचण्डको माओवादी धेरै कम सीटसहित तेस्रोमा खुम्चियो भने पहिचानवादी दलहरु पत्तासाफ भए । यसरी प्रचण्डको पहिचानवादी मोर्चा पनि असफल भयो ।
५ः ३३ दलीय मोर्चा
दोस्रो संविधानसभामा पराजित भएपछि प्रचण्डले फेरि सत्ता र शक्तिको केन्द्रमा रहन मोर्चाको अभ्यास थाले । २०७० को चुनावपछि हाराहारी सीट लिएर पहिलो र दोस्रो शक्ति बनेका कांग्रेस र एमालेले सरकार बनाए । प्रचण्ड सत्ता बाहिर पुगेपछि उनले फेरि ३३ दलीय मोर्चा बनाए ।
मुख्य कुरा प्रचण्डले आफ्नो सत्तामाथि कतैबाट घुन पुतली लाग्ने संकेत पाएपछि हतारहतार ५४ सीटको शक्ति देखाउन गरिएको मोर्चा हो । यसबाहेक यो मोर्चाको अगाडिको यात्राको गन्तव्य छैन ।
उक्त मोर्चामा मधेसवादी, पहिचानवादी, मोहन वैद्यहरुका साथै पत्नी पीडित संघका अध्यक्षसमेत समेटिए । मोर्चाले सडक आन्दोलन पनि गर्यो । संविधानसभाभित्र कुर्सी भाँच्ने, संविधानसभा अध्यक्षलाई चप्पल हान्नेदेखि केपी ओलीलाई झटारो हान्नेसम्मका काम भएको थियो ।
३३ दलीय मोर्चाकै जातीय आन्दोलनका रुपमा प्रचण्डले आदिवासी जनजाति आन्दोलन नामको अर्को मोर्चा पनि बनाए । तर, २०७२ सालको भूकम्पसँगै उनैले पहल गरेर कांग्रेस-एमालेसहित १६ बुँदे सहमति गरेर संविधान जारी गर्न पुगे । त्यो कदमसँगै ३३ दलीय मोर्चा र आदिवासी जनजाति आन्दोलन पनि भंग भए ।
६ः बृहत वाम गठबन्धन मोर्चा (गठबन्धन)
३३ दलीय मोर्चा र आदिवासी जनजाति आन्दोलनको मोर्चा छाडेर कांग्रेस-एमालेसँग मिलेर संविधान बनाउन गएका प्रचण्डले केपी ओलीलाई ९ महिनामै सरकारमा ढालेर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । तर, त्यसको एक वर्ष नपुग्दै उनी फेरि वाम गठबन्धन बनाएर एमालेसँग मोर्चा बनाउन पुगे ।
२०७४ सालको स्थानीय चुनाव कांग्रेससँग मिलेर लडेका प्रचण्डले आम चुनावअघि एमालेसँग बृहत वाम गठबन्धन बनाए । त्यसमा राष्ट्रिय जनमोर्चालगायतका दल पनि समेटिए । हृदयेश त्रिपाठी समूह पनि मिसिएर बनेको बृहत वाम मोर्चाले करिव दुईतिहाइ बहुमत ल्यायो । उनको त्यो मोर्चा पार्टी एकतासम्म पुग्यो । त्यो मोर्चामा उपेन्द्र यादवको नेतृत्वको समाजवादी पार्टीलाई समेत मिसाएर दुईतिहाइको सरकार बन्यो । त्यसपछि के भयो सबैलाई थाहा छ । उनले नेकपाभित्र पूर्वएमाले खेमाभित्रै मोर्चा बनाए । ओलीविरुद्ध माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुसँग मिलेर मोर्चा बनाउँदै प्रधानमन्त्री हटाउने तहमा पुगेपछि नेकपा र संसद दुवै भंग भए ।
७ः ‘प्रतिगमन’ (केपी ओली)विरोधी मोर्चा
तत्कालीन नेकपा र संसद भंग भएपछि प्रचण्डले केपी ओलीविरुद्ध नेकपाको बहुमत हिस्सा लिएर मोर्चा बनाए । प्रतिगमनविरोधी मोर्चा भनिएको उक्त मोर्चामा अन्य केही दल, ओलीविरोधी नागरिक समाजसहित सहभागी भए । उक्त मोर्चा मूलतः सर्वोच्च अदालतमा विचाराधीन फैसलासम्मका लागि थियो । सर्वोच्चको फैसलाबाट संसद पुनःस्थापना र अदालतबाटै नेकपा एकता भंग भएसँगै उक्त मोर्चा पनि अलपत्र परेको थियो ।
८ः पाँच दलीय गठबन्धन (संयुक्त मोर्चा)
दोस्रोपटक संसद विघटनपछि प्रचण्डकै अगुवाइमा ५ दलीय गठबन्धन बन्यो, जसमा कांग्रेस पनि समेटियो । कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्ष (पछि नेकपा एस) मिलेर गठबन्धन बन्यो । उक्त गठबन्धन अदालतदेखि सडकसम्म गयो ।
यो गठबन्धनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बृहत नागरिक आन्दोलन भेला गरेर पत्रकार महासंघ, बारलगायत नागरिक समाजको समेत मोर्चा बनाएर केपी ओलीविरुद्धको अघोषित संयुक्त मोर्चा बनाएको थियो ।
योगीले भनेका छन्- ‘समाजवाद यस्तो एक मृगतृष्णा हो, जसले धनीलाई गरीब बनाउँछ, गरीबलाई गुलाम बनाउँछ, बुद्धिजीवीलाई बेवकुफ बनाउँछ र केबल नेता र तिनका मान्छेलाई सबैभन्दा ठूलो बनाउने आजको सबैभन्दा ठूलो पाखण्ड हो समाजवाद ।’
सर्वोच्च अदालतको परमादेशबाट गठबन्धनको सरकार बनेपछि पनि अघिल्लो चुनावसम्म ५ दलीय गठबन्धन मिलेर चुनाव लडे । तर, चुनावपछि प्रचण्ड त्यो गठबन्धन छाडेर फेरि केपी ओलीको समर्थनमा प्रधानमन्त्री बने ।
एक महिना नपुग्दै प्रचण्ड पुनः पुरानै गठबन्धनमा फर्किए । त्यसको भूराजनीतिक कारण अरु नै छन् ।
९ः समाजवादी मोर्चा
चुनावअघि नै गठन हुने भनिएको समाजवादी मोर्चा अहिले किन घोषणा भयो ? यसको बारेमा यहाँ चर्चा गर्न खोजिएको छैन । यो मोर्चामा बाबुराम भट्टराईलाई किन अटाइएन ? यसबारे पनि नेपाल प्रेसले सबैभन्दा पहिले खुलासा गरिसकेको थियो ।
३० वर्षमा प्रचण्डले प्रयोग गरेको यो पछिल्लो मोर्चा कसरी अघि बढ्छ र सत्ता राजनीतिले कुन बाटो लिन्छ ? त्यो अहिले भन्न हतारो हुन्छ । तर, यति चाहिँ भन्न सकिन्छ कि जनताले अस्वीकृत गरिसकेका गठबन्धन र मोर्चाहरु हाम्रो पालामा एसएलसीमा २ वा त्योभन्दा बढी विषय लाग्ने विद्यार्थीले मौका परीक्षाका रुपमा दिने कम्पार्टमेन्ट र एक्जाम्टेड जस्तै हुन् ।
प्रचण्डको यो मोर्चा प्रयोग सम्भावित महाविपत्तिको पूर्वाङ्ग हो भन्न सकिन्छ । गेरुवस्त्र धारण गरिसकेका प्रचण्डले धार्मिक अनुष्ठानमा पूर्वाङ्गको अर्थ नबुझ्ने कुरा भएन । सत्ता गठबन्धनभित्रको अवस्था र नयाँ तथा स्वतन्त्रहरुको बढ्दो लोकप्रियताले कांग्रेस-एमालेलाई समेत त्राहिमाम बनाएको बेला प्रचण्डले आफ्नो महाविपत्ति नदेख्ने कुरा भएन । आकारको हिसाबले २०४९ सालको जनमोर्चा बनिसकेको माओवादीले समाजवादी मोर्चा हुँदै पार्टी एकता नै गरे पनि अब आकार वृद्धि गर्ने सम्भावना कमै देखिन्छ । उनको यो प्रयोग सम्भवतः अब अन्तिम पनि हुनसक्छ ।
अन्तिममा भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले त्यहाँको संसदमा भने जस्तै समाजवादी मोर्चा केही नेता र उनीहरुका मान्छेलाई सबैभन्दा ठूलो र शक्तिशाली बनाइराख्ने पाखण्डमा सीमित हुनेछ वा त्यहीभित्र को नेता भन्ने विवादले भंग हुनेछ ।
योगीले भनेका छन्- ‘समाजवाद यस्तो एक मृगतृष्णा हो, जसले धनीलाई गरीब बनाउँछ, गरीबलाई गुलाम बनाउँछ, बुद्धिजीवीलाई बेवकुफ बनाउँछ र केबल नेता र तिनका मान्छेलाई सबैभन्दा ठूलो बनाउने आजको सबैभन्दा ठूलो पाखण्ड हो समाजवाद ।’
देशद्रोही, भ्रष्टाचारी, दलाल नसिद्विई देशले शान्ति पाउने देखिदैन ।