नेपाली गोलभेडाको मूल्य बढ्यो
काठमाडौं । नेपाली गोलभेडाको मूल्य बढ्न थालेको छ । आइतबार कालीमाटीमा किसानहरुले नेपाली टमाटरको मूल्य निकै कम भएको भन्दै सडकमै टमाटार फालेर विरोध गरेका थिए ।
भारतीय टमाटरको थोक मूल्य ५० रुपैयाँ प्रतिकेजीसम्म तिर्दा नेपाली टनेल टमाटरको मूल्य भने ६ देखि १० रुपैयाँसम्म थियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार भने टमाटरको मूल्य बढेको छ ।
गोलभेडा सानो (टनेल) को प्रतिकेजी ९ रूपैयाँदेखि १४ रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले हिजो अस्तिको तुलनामा नेपाली टमाटरको मूल्यमा सुधार आएको बताए । उनका अनुसार अहिले केही माग पनि बढेको छ ।
व्यापारीले बेच्ने बिक्री मूल्य एउटा भएपनि वास्तविक किसानले पाउने मूल्य यो भन्दा कम छ । उता खुद्रा मुल्य भने ४० रुपैयाँ प्रतिकेजीसम्म रहेको छ ।
भारतीय गोलभेडाको भने प्रतिकेजी ४५ रुपैयाँसम्म थोक मूल्य रहेको छ । किसानहरुले उत्पादन गरेर बजारसम्म ल्याउँदा ३० देखि ३२ रुपैयाँसम्म लागत लागे पनि बिक्री गर्दाको मूल्य भने निकै कम भएको गुनासो किसानहरुले गर्दै आएका छन्।