जसले खराब स्थितिमा रहेको अमेरिकाका लागि सातौँ नम्बरमा आएर नेपालविरुद्ध शतक बनाए
काठमाडौं । जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई २०७ रनमा समेटेको छ ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएको थियो ।
अमेरिकाका लागि विकेटकिपरसमेत रहेका सायन जहांगिरले सतक बनाए। उनी एक सय रनमा नटआउट भए ।
अमेरिकाले १८ रनमै ४ विकेट गुमाएको थियो । अमेरिकाले ६५ रनको स्थितिमा पाचौँ विकेट गुमाएपछि क्रिजमा आएका थिए जहांगिर ।
सातौँ नम्बरमा ब्याटिङमा आएका यी ब्याट्सम्यानले छैटौँ विकेटका लागि सुशान्त मोडानीसँग २९, सातौँ विकेटका लागि निसर्ग पटेलसँग ३४ र आठौँ विकेटका लागि जेस्सी सिंहसँग ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि उनले पूर्व कप्तान सौरभ नेत्रभाल्करसँग नवौँ विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।
२८ वर्षीय जहांगिर पाकिस्तानका पूर्व क्रिकेटर हुन् । उनले पाकिस्तानको यू-१९ राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले अमेरिकाका लागि हालसम्म ८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए जसमा उनले सर्वाधिक ३९ सहित कुल १३५ रन जोडेका थिए । तर नेपालविरुद्ध उनले सम्हालिएर खेल्दै पहिलो अर्धशतक हुँदै पहिलो शतकको यात्रा तय गरे ।
५६ बलमा पहिलो ५० रन पुरा गरेका उनले दोस्रो ५० रन पुरा गर्न केवल २३ बल मात्र खेलेका थिए । उनले ४५ औँ ओभरमा करन केसीलाई दुई छक्का र एक चौका प्रहार गरेका थिए । ४३ औँ ओभरमा पनि उनले गुल्सन झालाई एक छक्का र एक चौका हिर्काएका थिए। जहांगिरले खेलभर ७९ बलमा ३ छक्का र १० चौका प्रहार गरे ।