आलाकार्ट लागू भएपनि बढी शुल्क लिने टेलिभिजन कार्यक्रम वितरक संस्थालाई कारबाही गर्ने विभागको चेतावनी
काठमाडौं । टेलिभिजन कार्यक्रम वितरक संस्थाले उपभोक्तामा पर्ने शुल्कभार कम गर्न नेपाल सरकारको उद्देश्य विपरीत अतिरिक्त शुल्क उठाएको गुनासो आएपछि सूचना तथा प्रसारण विभागले सूचना नै जारी गरेर थप शुल्क नलिन निर्देशन दिएको छ ।
इन्टरनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाएको गुनासो बढेपछि विभागले सूचना जारी गरेको हो ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘टेलिभिजन च्यानलको छुट्टाछुट्टै मूल्यसहित बुकेको मूल्य प्रस्ताव गर्न सूचना तथा प्रसारण विभागले सबै वितरण संस्थालाई पत्राचार गरिसकेको र त्यस्तो मूल्य हाल सम्म प्राप्त नभएकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट यस्तो बुकेको मूल्य निर्धारण भैनसकेको व्यहोरा जानकारी गराउँदछौं ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाको सेवा प्रणाली वापत उपभोक्तालाई पर्ने व्ययभार कम गर्ने उद्देश्यले आलाकार्ट मूल्य निर्णय गरी सबै वितरण संस्थालाई सो प्रणाली लागु गर्न केही समय अघि सूचना नै जारी गरेर भनेको थियो ।
मन्त्रालयले गत चैत २४ गतेको उपभोक्ताले ‘टेलिभिजन प्रसारण वापत मासिक रुपमा अधिकतम ५०० रुपैयाँ भुक्तानी गर्दा तथा इन्टरनेट सेवा वापत दूरसञ्चार ऐन, २०५३ बमोजिमको शुल्क भुक्तानी गर्नु पर्दा समेत हाल तिर्नु पर्ने र उठाउने शुल्क भन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो ।
तर हालसम्म पनि अतिरिक्त शुल्क उठाउने काम बन्द नभएपछि तत्काल बन्द गर्न निर्देशन दिएको हो । अरिरिक्त शुल्क लिएको पाए कारबाही गरिने पनि विभागले स्पष्ट पारेको छ ।