समीक्षकले समस्या छ भन्ने मात्र होइन, खराबी कहाँ हो स्पष्ट भन्नुपर्छ : निर्देशक वल – Nepal Press
नेपाल टक

समीक्षकले समस्या छ भन्ने मात्र होइन, खराबी कहाँ हो स्पष्ट भन्नुपर्छ : निर्देशक वल

काठमाडौं । अहिले हलहरुमा ‘नीरफूल’ दोस्रो हप्ता चलिरहेको छ । कोरोना महामारीका कारण प्रदर्शन रोकिएको यस फिल्मले २०७२ सालमा गएको भूकम्पका कारण तितरबितर भएको परिवारको पुनर्मिलनको कथा भन्छ । तर, बक्स अफिसमा अपेक्षित व्यापार गरिरहेको छैन । लामो समय पत्रकारिता गरेका निर्देशक फूलमान वल निर्देशित ‘नीरफूल’को समीक्षा पनि मिश्रित छ ।

यही विषयमा रहेर निर्देशक फूलमान वलसँग गरिएको कुराकानीको सम्पादित अंशः

– ‘नीरफूल’मा तामाङ भाषाको फिल्म भनिएका प्रतिक्रिया र समीक्षाहरु पनि आए । यो क्षेत्रीय फिल्म हो र ?

फिल्मको भाषा भन्नाले संवादको भाषामात्रै बुझिँदैन । फिल्म दृश्य भाषा पनि हो । त्यसैले यो संवादविना पनि बुझिनुपर्छ भन्ने मान्यता छ । रङ, संगीत, ध्वनि पनि भाषा हुन् । अभिनय, भावहरु पनि फिल्मका भाषा हुन् । फिल्ममा भाषा भन्नेबित्तिकै भर्बल भाषामात्रै होइन ।

दुई घण्टा दश मिनेटको फिल्ममा २७ मिनेट तामाङ भाषा छ । पटकथाको संरचना र पात्र निर्माणको प्रक्रियामा जाँदा त्यो आवश्यक भयो । भाषाको कारणले बच्ची हराएको स्थिति हो । भाषाको कारणले बच्ची हराउनासाथ परिवारमा नेपाली भाषा बोल्नु मिलेन ।

नेपाली भाषा बावुआमाले नबोलेकाले छोरीले भाषा सिक्न सकेन । नेपाली भाषा नजानेका कारण भूकम्पमा मिसिङ भएकी बच्चीको कथा वास्तविक कथाबाट लिएको हुँ । ताप्लेजुङमा पहिरोमा आमा गुमाएकी तामाङ बच्ची भाषा नजानेका कारण चार दिनसम्म बीपी कोइराला मेमोरियल अस्पताल धरानमा अलपत्र परेकी थिइन् ।

यो फिल्म कथा तामाङ समुदायको कथा हो । साइफाइ वा हरर फिल्म बनाउँदा संरचना कस्तो प्रयोग गर्ने, त्यस विधाले नै तय गर्छ । मैले रियालिस्टिक हिसाबबाट काम गरें । यसो गर्दा ननलिनियर प्रयोग गर्न सक्थें होला । तर, यो तामाङ समुदायको कथा हो । तामाङ समुदायको विशेषता सोझो र सरल हो । मैले कथालाई पनि लिनियर बनाए । किनभने तामाङ समुदाय कतै पनि जिकज्याक छैन । लिनियर छ । पात्रहरु लिनियर छन् । थ्रिएक्टमै सिम्पली कथा भनेको हो ।

हामी जापानिज, कोरियन फिल्म सबटाइटलमा हेरिरहेका हुन्छौं । तर, संविधानले राष्ट्र भाषा भनेको तामाङ भाषा आउनासाथ हामीलाई क्षेत्रीय फिल्म लाग्नु परम्परागत मानसिकता हो । एकातिर यो खालको मानसिकता छ, अर्कोतिर हिन्दी भाषालाई सीधै एडप्ट गरेका छौं ।

दयाहाङको नाम चेन्जारोङ छ । बूढीको नाम स्युरल्हामो छ । तामाङ समुदायको आजको सभ्यता बोनिजम र बुद्धिजम फ्युजन भएर बनेको छ । स्युरल्हामो बौद्ध परम्पराको नाम हो । चेन्जारोङ बोन फिलोसोफीमा आधरित नाम हो । छोरी पिन्चावती चेन्जारोङको छोरी भएर हो । वती भएकाले बोनपट्टीबाट जोडियो । लामापट्टी जोडिएको थियो भने ल्हामो हुन्छ । आजको तामाङ समुदायको बोन र बुद्धिजमको फ्युजन हो । तर, आजको आजै प्रतिक्रिया आउने तयारी चाउचाउ जस्तो फिल्म बनाएको होइन । त्यसैले तत्काल आएका प्रतिक्रिया, समीक्षाहरुमात्रै फिल्मको सम्पूर्ण चिरफार होइन ।

– यस्ता प्रतिक्रिया किन आए जस्तो लाग्छ तपाईंलाई ?

हाम्रो फिल्मबारे सोच्ने परम्परागत तरीका जुन छ, त्यसले गर्दा यस्ता कुरा आउने हो ।

– परम्परागत दृष्टि भन्नाले ?

हामी जापानिज, कोरियन फिल्म सबटाइटलमा हेरिरहेका हुन्छौं । तर, संविधानले राष्ट्र भाषा भनेको तामाङ भाषा आउनासाथ हामीलाई क्षेत्रीय फिल्म लाग्नु परम्परागत मानसिकता हो । एकातिर यो खालको मानसिकता छ, अर्कोतिर हिन्दी भाषालाई सीधै एडप्ट गरेका छौं । नेपाली फिल्मलाई हिन्दीमा डब गरेर नेपाली फिल्मसरह नै मान्यता दिइरहेका छौं ।

यो कस्तो खालको विरोधाभाष हो ? यो भनेको नेपाली समाजको संस्थापनले गर्ने राजनीति हो । अब प्रतिक्रियाहरु सबैले आ–आफ्नै ठाउँबाट बनाउने हो । तर, अलि वस्तुनिष्ठ प्रतिक्रिया चाहिँ होइन यो ।

– समीक्षकहरुले पटकथा कमजोर र फितलो भनिरहेका छन् नि ?

पटकथा कमजोर भयो । तर, के कुरामा कमजोर भयो ? त्यो पनि भनिदिनुपर्‍यो । संरचना मिलेन कि ? क्यारेक्टराइजेसन मिलेन कि ? द्वन्द्वको लेभल भी सेपमा बढोत्तरी भएर गएन कि ? पटकथा कमजोर भएको भए मान्छेहरु हल छाडेर हिँडिहाल्थे नि !

द्वन्द्वहरुको निर्माण आइसफलको जस्तो हुनुपर्छ भन्छौं । सुरुमा सानो भएर ठूल्ठूलो हुँदै गएर फेदीमा आइपुग्दा ठूलो आकारको हुन्छ । साइकोलोजिकल द्वन्द्व निर्माण भएको छैन ? कहाँ कमजोरी छ, त्यो भन्नुपर्‍यो । भन्नलाई पटकथामा कमजोरी भन्ने, तर के के कमजोरी भए भनेर नभन्ने ? बिरामी हो, सिकिस्त हो भन्नेले त यसको किड्नी बिग्रेको छ, फोक्सो बिग्रेको छ, यसको अरु फंकसन बिग्रेको छ भन्नुपर्‍यो नि ! एक हिसाबबाट यो दुराग्रह राखेर गरिएको टिप्पणी जस्तो लाग्छ मलाई ।

– तपाईंले पनि एक समय समीक्षा गरेरै आउनुभएको हो । के हामीकहाँ फिल्म समीक्षा गर्ने कुरामा समस्या हो ?

मेरो विचारमा हामी फिल्मको समीक्षा नै गर्न सकिरहेका छैनौं । फिल्म समीक्षा नै हुन सकेको छैन । समीक्षाका अनेक आयाम हुन्छन् । हाम्रोमा यो यो संरचना मिलेन, यो संरचनाबाट कथा यसरी भनेको भए पनि हुने भन्ने सुझाव आउँदैन ।

बिरामी हो, सिकिस्त हो भन्नेले त यसको किड्नी बिग्रेको छ, फोक्सो बिग्रेको छ, यसको अरु फंकसन बिग्रेको छ भन्नुप¥यो नि ! एक हिसाबबाट यो दुराग्रह राखेर गरिएको टिप्पणी जस्तो लाग्छ मलाई ।

समग्रमा हाम्रो समीक्षा तारिफ गर्नयोग्य देखिँदैन । समीक्षा फिल्म बनाउनुभन्दा पनि गाह्रो कुरा हो । निर्देशकले जसरी पनि भन्नसक्छ । मैले प्रयोग गरें भन्यो, सकियो । समीक्षकमा त्यो स्वतन्त्रता छैन । समीक्षा भनेको दुईचार फिल्म हेरेर फिल्म यस्तो उस्तो हुनुपर्थ्यो भन्नु होइन ।

हाम्रोमा एकजनाले जुन धारबाट समीक्षा ठोक्छन्, त्यही ठाउँबाट अरुले ठोक्छन् । अथवा अमूक ठाउँमा बसेर यो फिल्मलाई सिध्याउने, माथि उठाउने भन्ने खालको सल्लाह गरेर फिल्मलाई हानिरहेका हुन्छन् । यो समीक्षाको नैतिकता होइन ।

म पनि समीक्षा गर्थें । त्यसवेला पनि समीक्षक हुँ भनेर भन्दिनँ थिएँ । आज पनि भन्दिनँ । त्यो मेरो जागिरको धर्म थियो । मेरो ज्ञानको दायरा जति थियो, त्यसमा टिप्पणी गरेर लेख्थें । जब मैले सन् २०१२ मा ‘सेलफोन’ भन्ने फिल्म बनाएँ । त्यसपछि मैले फिल्ममाथि लेखेको छैन । आफैंले फिल्म बनाएपछि मैले समीक्षा लेख्ने नैतिकता गुमाएँ ।

– संगीतमा रैथाने बाजा प्रयोग गर्नुभयो । प्रकाशहरुमा पनि प्रयोग गर्नुभएको छ । तर, यी सबै प्रयोग सहज रुपमा दर्शकसम्म सञ्चार भयो कि भएन ?

दर्शकमा सीधा हिसाबबाट सञ्चार हुने हो । निर्देशकले प्रयोग गरेको कुरा बिस्तारै बुझिने हो । दर्शकले यो कथा यस्तो रहेछ भनेर बुझ्ने हो । भिजुअल लिट्रेसी भएकाले हेर्दा अर्कै चिज पाउने हो । फिल्मलाई एकेडेमिक हिसाबबाट बुझ्दा अर्को कुरा पाउने भयो ।

‘नीरफूल’मा हिमालको पाटोको कथा आउँदा वार्म टोन छ कलरमा । त्यो परिवारको प्रेम हो । भूइँचालो आउँदा दुःखको कथा आउँछ, त्यहाँ ब्ल्यु चलाइएको छ । काठमाडौं आउँदा ब्ल्युमा डस्ट मिलाएर चलाइएको छ । संगीतमा हिमाली बाजामात्रै चलाइएको छ । तर, दर्शकसम्म जाँदा प्रोजेक्टरको खराबीका कारण पनि दर्शकलाई कलरको माध्यमबाट कथालाई बुझ्न गाह्रो हुने रहेछ ।

हामी फिल्मको समीक्षा नै गर्न सकिरहेका छैनौं । फिल्म समीक्षा नै हुन सकेको छैन । समीक्षाका अनेक आयाम हुन्छन् । हाम्रोमा यो यो संरचना मिलेन, यो संरचनाबाट कथा यसरी भनेको भए पनि हुने भन्ने सुझाव आउँदैन ।

काठमाडौं आएर पात्रहरुले फ्लासब्याकमा जाँदा उज्यालो कलर छ । फ्लासब्याक प्रायः ब्ल्याक एण्ड ह्वाइट हुन्छ । तर, असाध्यै दुःखमा कोही भएको वेला उसले कलरफूल विगत नै सम्झन्छ । त्यसैले ब्ल्याक एण्ड ह्वाइट प्रयोग भएको छैन । फिल्ममा त्यसरी कथा भन्न खोजेको हो, अब देख्ने नदेख्ने भन्ने कुरा दृष्टिकोणमा भर पर्ने कुरा होला ।

– प्रयोग त अत्यधिक भयो । तर, दर्शकसँग त्यो प्रयोग बुझ्न सक्ने दक्षता पनि चाहिन्छ होला नि ?

निर्देशकले काम गर्दा सबै दर्शकले आफ्नो तहबाट अब्बल तरीकाले बुझ्ने गरी गरी काम गर्नुपर्छ जस्तो लाग्छ । फिल्म लिट्रेसी भएको वा एकेडेमिक दर्शकले बुझ्ने कुरा फरक होला । विदेश जानुअघि साँझमा छोरीलाई काखमा राखेर बाउले बिनायो बजाउन सिकाउँछ । त्यो बाउछोरीको सम्बन्धसँगै ज्ञान हस्तान्तरणको कुरा पनि होला । आमा काठमाडौंमा बलात्कृत भएपछि टुङ्ना भाँचिन्छ । त्यसलाई कसरी हेर्ने, दृष्टिकोण होला सबैको । तर, फिल्मको सफलता त फेरि सबैखाले दर्शकले वाउ भन्ने नै हुनुपर्छ । अमूर्त विम्ब प्रयोग गर्ने, दर्शकले नबुझ्ने भयो भने के काम ? ‘नीरफूल’ चाहिँ त्यति अमूर्त जस्तो लाग्दैन मलाई ।

– दर्शकको वर्गको कुरा गर्दैगर्दा हाम्रो समीक्षा र समीक्षकहरु चाहिँ कुन वर्गमा पर्छन् ?

समीक्षकहरु एकेडेमिक वर्ग हो कि इकोनोमिक वर्ग हो ? इकोनोमिक वर्ग हो भने हाम्रा फिल्म समीक्षकहरु मध्यम लेभलका छन् । एकेडेमिक वर्गको लेभलबाट हेर्दा हाम्रा समीक्षकहरु पढेर होइन, परेर आएका धेरै छन् । अरुले लेखेका पढेर, गुगल सर्च गरेर लेख्छन् । फिल्मको तहबाट पढेर रिभ्यु गर्छु भन्ने खालको त देखिँदैन ।

यसका लागि हाम्रो मिडिया हाउस पनि कति गम्भीर छ त ? रिपोर्टरलाई विज्ञ बनाउन हाउसले कति लगानी गर्‍यो ? रिपोर्टरलाई सिक्न पठाउँदा फिल्म, चित्रकलाको रिपोर्टिङमा पठाउँछन् । एल्बम लन्च, किताब विमोचनतिर पठाउँछन् । यो क्षेत्र यति शक्तिशाली हो कि यहाँ त थिमेटिक विज्ञ मान्छे चाहिन्छ । हाम्रो मिडिया हाउस त्यस्तो मान्छे उत्पादन गर्ने ठाउँमा छैन । हाम्रा समीक्षाहरु मध्यम लेभलको आउनु हाम्रो पत्रकारिताकै दोष हो । व्यक्तिगत समीक्षकको दोष होइन ।

– फिल्ममा विषयवस्तुको विविधताबीच तपाईंले भन्न खोज्नुभएको कथा कुन हो ?

यो फिल्म भूकम्पमा हराएकी छोरीको खोजी हो । बाँकी विषयवस्तु पात्रको यात्रामा आउने उपकथाहरु हुन् । फिल्म मूल उद्देश्यबाट चिप्लिएको लाग्दैन । तर, मूलकथा सँगसँगै भूकम्पको उद्धारमाथि संघसंस्थाको बदमासी जोडिन्छ । सातआठ सय बच्चा भेटिएनन् । बालगृहको नाममा बालबच्चा बेचबिखन गर्ने धन्दा गरे । तर, पात्रमा जुन खालको अप्ठ्यारो आउँछ, त्यो फेस गरेर गएको छ ।

फिल्मको सफलता त फेरि सबैखाले दर्शकले वाउ भन्ने नै हुनुपर्छ । अमूर्त विम्ब प्रयोग गर्ने, दर्शकले नबुझ्ने भयो भने के काम ? ‘नीरफूल’ चाहिँ त्यति अमूर्त जस्तो लाग्दैन मलाई ।

कथा पुनर्मिलनको प्रयत्न नै हो । पुनर्मिलनका लागि लड्नुपर्ने धेरै कुरा छन् । सिस्टमहरुमा समस्या कहाँ छ, त्यो देखाउन खोजिएको छ । मिडियामै पनि कति कमजोरी छ, हामीलाई थाहा छ । सर्वसाधारणको पहुँच कर्पोरेट मिडियामा सीधै हुन्छ त ? सम्पादक छिर्दै गर्दा र पाठकपत्र छापिदिनुपर्‍यो हजुर भनेर आउने मान्छेलाई गेट पालेले गर्ने व्यवहार एकै हुन्छ त ? भ्रष्टाचार सिंहदरबारमा फाइल तलमाथि गरेर गरिनेमात्रै हुँदैन, गेटमा पालेले गर्ने दुर्व्यवहार पनि भ्रष्टाचार नै हो । तर, अनेक मुद्दाका बीच पात्रहरु आफ्नो लक्ष्यबाट भने च्युत भए जस्तो लाग्दैन मलाई ।

– एक सर्जकलाई नकारात्मक र सकारात्मक प्रतिक्रियाले कस्तो खालको ऊर्जा दिँदोरहेछ ?

हरेक सृजनालाई क्रिटिकल्ली हेरिनुपर्छ । नेपाली फिल्म उद्योगमा ब्लकबस्टर भनिएका, हप्तामा तीनवटा न्युज फालिएका फिल्मको रिभ्यु आएनन् । कम्तीमा ‘नीरफूल’को रिभ्यु त आयो नि ! यो नै मेरा लागि ऊर्जा हो ।

– बक्स अफिसमा त असफल भयो है ?

बक्स अफिस एनलाइसिस गरिहाल्ने वेला भएको छैन । यो फिल्मको गल्ती चाहिँ मार्केटिङको हिसाबबाट भएको हो । पहिला कोरोनाले खायो, रिएडिट गर्नुपर्‍यो । खर्च बढ्यो । यो पाटोबाट हाम्रो कमजोरी रह्यो । बक्स अफिस कलेक्सन यस्ता कुराले पनि निर्धारण गर्ने गर्छन् । तर, जुन खालको मार्केटिङ गर्‍यौं, त्यो हिसाबले दोस्रो हप्तासम्म जानु पनि सफलता नै हो ।

– अन्त्यमा, समीक्षाहरुमाथि निकै बोल्नुभयो । समीक्षकहरुप्रति तपाईंको दुःखेसो हो कि गुनासो ?

कतिपय समीक्षकले हिमालमा गाउँ देखिएन भने । भेडीखर्क भएको ठाउँमा सारंकोटमा जस्तो गाउँ हुँदैन । तल स्याप्रुबेंसीबाट नै तीन तहको भूगोल देखाइएको छ । हिमाली भेगको समीक्षा लेखेपछि त्यति त बुझ्नुपर्‍यो नि ! भौगोलिक यात्रा बुझ्नुपर्‍यो । भूइँचालो जाँदा जंगल जलेको देखाइएको छ । जब कि स्युरल्हामोले चेन्जारोङलाई मलेसिया पठाएर फिर्दा हरियो हुन्छ ।

तैपनि मैले अहिले जवाफ दिएर के हुन्छ र ! मैले आफ्नो सृजना राम्रो नै भन्छु होला । तर, सैद्धान्तिक हिसाबबाट कमजोरी यहाँ छ भनेर भन्नुपर्छ । झाँक्रीले नाडी हेरेर यो नानीलाई चाहिँ भूत लाग्या छ भने जस्तो भन्नुहुँदैन । समीक्षकले चिरफार गर्नुपर्छ, किड्नीको समस्या भए यो यो समस्या रहेछ भनेर भन्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर