चिनियाँ राजदूतले भने- पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो (भिडिओ) – Nepal Press

चिनियाँ राजदूतले भने- पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो (भिडिओ)

काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको उल्लेख गर्दै उनले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो ।

सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर