बैंकहरुमा थुप्रियो तीन खर्ब रुपैयाँ, ब्याजदर पनि तीन प्रतिशतभन्दा बढीले घट्यो – Nepal Press

बैंकहरुमा थुप्रियो तीन खर्ब रुपैयाँ, ब्याजदर पनि तीन प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं । लगानीयोग्य रकम (तरलता) को चरम अभाव झेलेका बैंकहरुमा अहिले भने पैसा फालाफाल भएको छ । अहिले वाणिज्य बैंकहरुमा मात्र ३ खर्ब तरलता थुप्रिएको छ ।

नेपालको बैंकिङ प्रणालीले लामो समय तरलता अभाव झेले पनि पछिल्ला दिनहरुमा तरलता फालाफाल भएको हो । चालू आर्थिक वर्षको सुरुबाटै लगानीयोग्य रकमको अभावले छटपटाएका बैंकहरु आर्थिक वर्षको अन्त्यमा आएर चाहिनेभन्दा बढी सहज अवस्थामा देखिएका छन् ।

नेपाल बैंकका सीईओ कृष्ण अधिकारीले वाणिज्य बैंकहरुमा ३ खर्ब तरलता रहेको बताए । पछिल्लो समय ठूलो कर्जाको माग भएन, रेमिट्यान्स बढिरह्यो र नेट आउटफ्लोभन्दा इनफ्लो भएकाले बैंकहरुमा पैसा थुप्रिएको अधिकारीको तर्क छ । बैंकहरुलाई कहिले कर्जा दिन नपाएर समस्या हुन्छ भने कहिले भएको पैसा लगानी नभएर तनाव हुन्छ ।

सोमबार मौद्रिक नीतिसम्बन्धी सुझाव दिन पुगेका लगानीकर्तासँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि तरलता निरन्तर बढेको जानकारी गराएका थिए ।

उनले लगानीकर्तासँगको भेटमा भनेका थिए, ‘तरलता यसरी बढेको छ कि अन्तरबैंक ब्याजदर एकैदिन एक प्रतिशतसम्मले घटेको छ, यस्तो भएको मैले विरलै देखेको छु । अब त ब्याजदर करिडोरअनुसार बजारबाट पैसा तान्नुपर्ने अवस्था आयो ।’

राष्ट्र बैंकले बजारमा न्यून तरलता हुँदा प्रवाह गर्ने र अधिक तरलता हुँदा तान्ने गरेको छ । अहिलेको अवस्था पनि बजारमा अधिक तरलता भएकाले तान्नुपर्ने अवस्था देखिएको गर्भनर अधिकारीले लगानीकर्तासँगको भेटमा भनेका थिए ।

यता बैंकिङविज्ञ भुवन दाहालले विकास निर्माण सुरु हुन थालेपछि अहिले भएको रकम नै कम हुने बताउँछन् । बैंकहरु यसअघि भन्दा तुलनात्मक रुपले सहज अवस्थामा भए पनि विकास निर्माणको काम हुन थालेपछि उनीहरुलाई यही ३ खर्ब पनि कम हुने उनको तर्क छ ।

तरलता अभावमा जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न जान्छ र त्यसले मुनाफा प्रभावित हुन्छ ।

अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ । बैंकमा कम व्याज पाउने भएपछि सुपरिवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

३ प्रतिशतभन्दा बढीले घट्यो अन्तरबैंक ब्याजदर

बैंकहरुमा रकम थुप्रिन थालेपछि एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको व्याजदर पनि साढे ३ प्रतिशतभन्दा बढीले घटेको छ । केही दिन अघिसम्म ७ प्रतिशतभन्दा माथि रहेको अन्तरबैंक व्याजदर अहिले ४.५१ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १० अर्बले बढेको छ । तर, कर्जा लगानी भने ठप्प देखिएको छ । सो अवधिमा कर्जा लगानी १० अर्बले नै घटेको छ । एक वर्षको अवधिमा भने ५ खर्बले निक्षेप बढेको देखिन्छ । तर, कर्जा लगानी भने १ खर्ब २९ अर्ब रुपैयाँ भएको देखिन्छ । बैंकिङविज्ञ दाहाल करिब ६ वर्ष यताकै कम कर्जा प्रवाह भएको बताउँछन् । जसका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको उनको तर्क छ ।

लगानीयोग्य रकम बढी भएकै कारण बैंहरुको सीडी रेसियो (कर्जा निक्षेप अनुपात) ८३.८८ प्रतिशत छ । वाणिज्य बैंकहरुले ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्न पाउँछन् । यो भनेको बैंकसँग १०० रुपैयाँ छ भने उनीहरुले १० रुपैयाँ राखेर ९० रुपैयाँ पुरै लगानी गर्न पाउने अवस्था हो ।

बैंकहरूले तरलता समस्या बढिरहँदा राष्ट्र बैंकबाट उच्चदरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिँदै आएका थिए । दिनहुँजसो एसएलएफ प्रयोग गर्ने बैंकहरुले २०८० साल लागेपछि जम्मा ८ पटकमात्र एसएलएफ सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । उनीहरुले पछिल्लो एसएलएफ सुविधा जेठ १७ गते लिएका थिए । त्यसयता लिएका छैनन् । यसले पनि बैंकहरुमा पैसा फालाफाल भएको पुष्टि गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर