ओलीले भने- अहंकार पसेपछि कोही पनि मान्छे बन्न सक्दैन (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको अहिलेको सबैभन्दा ठूलो समस्या अराजकता भएको बताएका छन् ।
नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा अराजकता, अनुशासनहीनता, जिम्मेवारीबोधको कमी बढेको बताए ।
उनले भने, ‘मैले भन्ने गरेको छु, दिमागमा अहंकार पसेपछि त्योभित्र पसेपछि ढोका लगाउँछ । चुकुल लगाउँछ । साँचो पनि लगाउँछ । केही ज्ञान, गुण, आचारण, सीप केही पनि प्रवेश गर्न पाउँदैन घमण्डले । अरु चिज प्रवेश नै गर्न पाउँदैन । घमण्डमात्रै हुन्छ दिमागमा । घमण्डी दिमागले केही सोच्नै सक्दैन । नाम नै अहंकार । मान्छे बन्नै सक्दैन । त्यसले मान्छेलाई दुष्टात्मा बनाउँछ ।’
अध्यक्ष ओलीले जीवनको लागि योग गर्नुपर्ने बताए ।
अघिल्लो दिन टिल्ल भएर भोलिपल्ट बिहान योग गर्नुको अर्थ नहुने बताउँदै उनले भने, ‘अघिल्लो दिनको ह्याङ्ले टाउको दुःखेको हुन्छ । टिल्ल भएको भोलिपल्ट योग गर्नुको अर्थ हुँदैन ।’