हेवामा बिलाएका राजाराम- जसले घरमा फोन गरेर बाढी आयो हामी भाग्दैछौं भनेका थिए
बेपत्ता हाइड्रोका मजदुर खोज्न कैलाली र बर्दियाका आफन्त संखुवासभाको हेवा बगरमा
विराटनगर । गएको शनिबार राति हेवा खोलाको बाढीमा हराइरहेका सुपर हेवा जलविद्युत आयोजनाका १७ मजदुर अझै भेटिएका छैनन् । एकजनाको शव भेटिएपनि पहिचान खुलेको छैन ।
हराइरहेका मध्ये एक हुन् बारबर्दिया नगरपालिका-८ औरीका राजाराम चौधरी । नेपाली सेनाबाट पेन्सन पकाएका उनी ३ महिनादेखि संखुवासभाको चैनपुर हाइड्रोमा काम गर्न आएका थिए । उनका जेठो छोरा विशालकुमार थारु पनि तनहुँको एक हाइड्रोपावरमा मजदुर छन् ।
राजारामसँगै रोहित र राहुल थारु सुपर हेवामा काम गर्ने । खाना र खाजा खाएर दैनिक ६ सय रूपैयाँ हाजिरामा काम गरिरहेका उनले शनिबार बेलुका ९ बजेर १८ मिनेटमा घरमा बुहारी कृष्णालाई फोन गरेर भने- ‘यहाँ ठूलो पानी परिरहेको छ । खोलामा डरलाग्दो बाढी आएको छ । हामी भाग्दैछौं ।’
छोरा विशाल कुमार त्यति भनेर फोन काटिएपछि बुबा अझै नभेटिएको बताउँछन् । राजारामका ७५ वर्षीय बुबा बरबरी थारु र आमा महंङ्गी छोरा खोज्न चैनपुर आउन खोजिरहेका छन् । राजारामकी श्रीमती सुमित्री बोल्न सक्ने अवस्थामा छैनन् ।
शनिबार बिहान विशाललाई फोन गरेर राजारामले ज्याला थापेर केही दिनभित्रै गाउँ फर्किने बताएका थिए ।
बुबा खोज्न आएका विशालले भन्छन्, ‘पानी पर्ने बेला भएको छ । अब हाम्रो काम रोकिन्छ । ठेकेदारले काम गरेको पैसा दिने बित्तिकै घर आउँछु त पनि आइज । पानी पर्न छाडेपछि फेरि काममा जानुपर्छ ।’
उनीहरूको खोजीका लागि बर्दियाको औरीबाट आफन्त हेवा खोला बगरमा पुगेका छन् । राजारामका दाजु कालीराम थारु पनि हेवामा छन् ।
बाढीका कारण बेपत्ता भएका राहुल थारु र रोहित थारु दाजु भाइ हुन् । उनीहरू बर्दिया औरीकै हुन् । रोहित भने लामो समयदेखि हाइड्रो पावर निर्माणमा काम गर्ने कामदार हुन् । राहुल ५ महिना अघि आएका हुन् ।
बार बर्दिया नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नरबहादुर चन्दका अनुसार सो वडाको औरीमा १३९ परिवार मुक्त कमैया र सुकुमबासी बस्ने गर्छन् । उनीहरूमध्ये धेरैजना ज्याला मजदुरीमा विभिन्न ठाउा पुगेका छन् । हाइड्रो, बाटो र पुल निर्माणका लागि धेरैजना जाने गरेको चन्दले बताए ।
चन्दले भने, ‘नेपालका धेरै जसो जिल्लामा हुने पूर्वाधार निर्माणमा यहाँका मानिसहरू जाने गर्छन् । अहिले पनि कालिकोट, दार्चुला, रामेछाप, तनहुँ, सोलुखुम्बु लगायतका जिल्लामा भइरहेको बाटो, पुल र हाइड्रो निर्माणमा औरीका स्थानीय पुगेका छन् ।’
सुपर हेवा जलविद्युत निर्माणमा पुगेका तीनजना बेपत्ता भएपछि अहिले बस्ती नै चिन्तित भएको वडाध्यक्ष चन्दले बताए ।
कैलाली र बर्दियाबाट आफन्त खोज्न हेवा बगरमा
शनिबार आएको बाढीका कारण कैलाली र बर्दियाका ८ जना कामदार बेपत्ता छन् । उनीहरू सबै बुद्धिराम थारुमार्फत कामका लागि त्यहाँ पुगेका थिए । आफूले लगेका कामदारसँगै बस्ने बुद्धिराम भने बाढी आएको बेला थप मानिस लिन भनेर बर्दिया पुगेका थिए । बर्खा लाग्न लाग्यो काम सक्नुपर्छ भनेर अरू मानिस लिन बर्दिया पुगेको थिए ।
बुद्धिरामले भने, ‘म यता आएको बेला बाढीले बगाएछ ।’
अहिले उनीसँगै कैलाली र बर्दियाबाट आफन्तको खोजविनका लागि स्थानीय संखुवासभा पुगेका छन् । हेवा खोलामा ठूलो बाढी आएका उनीहरू बसेको क्याम्पको निशानासमेत छैन । आमा सीता थारु खोज्न कैलालीबाट १५ वर्षीया छोरी दाइसँगै आएकी छन् । कैलालीका सुगत थारुका बुबा डम्बर थारु पनि हेवा खोलाको बगर बगर दौडिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाका अनुसार अहिले हेवा खोलामा जनपद प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खाजी कार्य गरिरहेको छ ।