बालेन: बलिया कि बेलगाम ? – Nepal Press

बालेन: बलिया कि बेलगाम ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकक्षमा गे्रटर नेपालको नक्सा राखेको घटनाले खुबै चर्चा पायो । भारतको नयाँ संसद भवनमा नेपालका भूभाग (लुम्बिनी, कपिलवस्तु) समावेश गरिएको उक्त नक्साको नाम ‘अखण्ड भारत’ राखिएको छ । संसद भवन उद्घाटनलगत्तै उक्त नक्साबारे हुुनुपर्ने स्वाभाविक चर्चा हुन थाल्यो । नेपाललगायत अन्य मुलुकबाट जिज्ञासाहरु आउन थालेपश्चात भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रस्टीकरण दिँदै यो एउटा सांस्कृतिक नक्सा भएको बयान दिए । आवश्यक परे थप प्रस्टीकरण दिने जानकारीसमेत गराएको छ, भारतीय पक्षले ।

भारतमा अखण्ड भारतको कल्पणाकारको रुपमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई मानिन्छ । अखण्ड भारतको काल्पनिक (आजको युगमा यो काल्पनिक नै हो) सीमाभित्र नेपाल, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान जस्ता देशको भूभागलाई चार किल्लाभित्र अटाउँछ । नेपालको भूभागबारे आवश्यक परेको खण्डमा औपचारिक तवरबाट नेपाल सरकारले थप स्पष्टीकरण माग्न सक्ने अधिकार र स्पेस हामीसँग सुरक्षित छ । यो आलेखमा एउटा महानगरको मेयरले आफ्नो देशको छिमेकी-विदेशी सम्बन्धका सवालमा दख्खल गर्ने ल्याकत देखाउनु कतिको जायज छ ? के बहुदलीय व्यवस्थाको जगमा तयार पारिएको नेपालको संविधानभन्दा माथि एउटा मेयरले हर्कत देखाउँदा त्यसले वाहवाही पाउनु भनेको दलीय व्यवस्थाभित्र हाबी भएको लोकप्रियतावादलाई मलजल गर्नुसरह होइन ?

नेपाली वीरताको अर्को पाटो

हरेक देशसँग उसको गौरवगाथा हुन्छ । कति विश्वले आफैं चिनेको हुन्छ भने कतिपय तयार पारिन्छ । गौरवजन्य कथाहरुले देशभित्र भावनात्मक असर पार्छ भने बाहिरी देशहरुले हाम्रो देशप्रतिको अवधारणा कस्तो बनाउने हो त्यसमा प्रभाव पार्छ । नेपालसँग कैयौं गौरवका कथाहरु हुनसक्लान् । त्यही भएर त नेपाली जनता सार्वभौम भएको महसुस गर्छन् । यद्यपि नेपालको ‘वीरता’को गौरवगाथालाई प्रचारित गर्न केही ‘न्यारेटिभ’ तयार पारिएको छ । जस्तैः नेपाल कहिल्यै पनि कसैसामु झुकेन ! भारतसम्म पुगिसकेको इस्ट इन्डिया कम्पनी गोर्खालीको खुकुरीको डरले नेपाल पस्नै सकेन… ! वीर रस झल्काउने यी कथ्यहरु देशभक्ति जगाउने प्रकृतिको छ । वर्तमान युवा पुस्ताले यी ‘न्यारेटिभ’लाई फेसबुकदेखि टिकटकसम्म ल्याएको छ । यस सन्दर्भमा सुजीव शाक्यले आफ्नो पुस्तक ‘अर्थात अर्थतन्त्र’मा ‘एकलकाँटे नेपाल’ शीर्षकअन्तर्गत लेख्नुभएको एउटा ऐतिहासिक सन्दर्भलाई यस लेखको अंश बनाउन वाञ्छनीय ठान्छु-

नेपाल बेलायती इस्ट इन्डिया कम्पनीविरुद्ध लडाइँमा होमिएको थियो । विसं १८४८ मा चीनसँगको युद्धमा व्यहोर्नुपर्ने ठूलो क्षतिले गोर्खा साम्राज्य र गोर्खाली सेनालाई कमजोर बनाइसकेको थियो । पश्चिमको काँगडामा भएको लामो तर असफल कारबाहीले नेपाली सेनालाई गलाइसकेको थियो । जुन कारबाही विसं १८६५ मा पश्चिम भारतका शिख शासक रञ्जित सिंहको मुठभेडपछि मात्रै सकिएको थियो । विसं १८६९ सम्म पञ्जाबबाहेक भारतका अधिकांश राज्य कम्पनीको नियन्त्रण आइसकेका थिए । कमजोर अवस्थाका बावजुद गोर्खाली राज्य विस्तार अभियानलाई कायम राख्दै नेपाल बेलायतसँग भिड्न पुग्यो । बेलायत जस्तो साम्राज्यसँग विनासुझबुझ युद्ध लड्ने मूर्ख्याइँ गर्नु तत्कालीन शासकको कमजोरी थियो । अदूरदर्शिता थियो । यी दुई मुलुकबीचको लडाइँलाई नेपाली साहसको नमुना भन्छन् । यो एक किसिमको ‘ह्याङओभर’मा राखिदिएको छ नेपाली समाजलाई ।

काठमाडौं महानगरको कार्यालयमा मेयरले ‘गे्रटर नेपाल’को नक्सा झुण्ड्याउनसाथ सामाजिक सञ्जालमा त्यो नक्सा छ्यापछ्याप्ती हुन थाल्यो । कसैले गर्न नसक्ने आँट बालेनले गरेर देखायो भनी बालेनको देवत्वकरणमा कतिपय मानिसहरु लागिपरेका छन् । मुद्दा विशेषमा सडकमा ओर्लिने नागरिक समाजका मान्यवरहरु ‘बालेनले ठीक ग¥यो’ भनी लम्बेतान दिन भ्याइरहेका छन् ।

तर, शाक्यको दृष्टिमा त्यो साहस थिएन, लापरबाही थियो । सन् १८१५ मा युद्धको अन्त्यतिर आइपुग्दा नेपालले तराई, सिक्किम र महाकाली नदीका पश्चिमतिरका महत्वपूर्ण भूभाग गुमायो । गुमेको भूभाग खेतीयोग्यको हिस्सा ठूलो थियो । जमिनमा अत्यधिक निर्भर रहेको नेपालले राष्ट्रिय अभिमानको ज्वाला साम्य पार्न ६४ हजार वर्ग किलोमिटर अथवा एकतिहाइ भूभाग गुमाउनुपर्‍यो । साथै भौगोलिक र आर्थिक पराजयले कमजोर भइसकेको थियो । उता बेलायतले चीनलाई हरायो । शिखलाई हरायो । नेपाललाई पनि घुँडा टेकायो । त्यो हारपछि नेपालको विस्तार अभियानसमेत रोकियो । क्षेत्रीय शक्तिको रुपमा आफूलाई स्थापित गर्न नेपालको प्रयास पनि अड्कियो । दुई शक्ति राष्ट्र अगाडि आफ्नो कमजोर सैनिक र आर्थिक अवस्थालाई स्वीकार्नुको विकल्प थिएन । त्यसपछि नेपालले बाध्य भई विश्व मामिलाबाट पृथक रहने नीति लिनुपरेको थियो ।

राष्ट्रियता र राष्ट्रवादको पोखरीमा पौडी खेल्नुभन्दा पहिला हामीले इतिहासका यी पानाहरुलाई बेवास्ता गर्न मिल्दैन । वीर गोर्खाली शब्दसँग माया राख्ने नागरिकको मन्न खिन्न गर्ने ध्येय पंक्तिकारको अवश्य छैन । यद्यपि वीरताको पैमान निर्धारण गर्दा कुनै पनि शासकले आफ्नो आत्ममुग्द्दतालाई सर्वेसर्वा भाष्य निर्माण गर्नु न्यायोचित हुँदैन भनी बुझ्न आवश्यक छ ।

बालेन्द्रको लगाम कता ?

काठमाडौं महानगरको कार्यालयमा मेयरले ‘गे्रटर नेपाल’को नक्सा झुण्ड्याउनसाथ सामाजिक सञ्जालमा त्यो नक्सा छ्यापछ्याप्ती हुन थाल्यो । कसैले गर्न नसक्ने आँट बालेनले गरेर देखायो भनी बालेनको देवत्वकरणमा कतिपय मानिसहरु लागिपरेका छन् । मुद्दा विशेषमा सडकमा ओर्लिने नागरिक समाजका मान्यवरहरु ‘बालेनले ठीक गर्‍यो’ भनी लम्बेतान दिन भ्याइरहेका छन् । प्रमुख भनाउँदा राजनीतिक दलका प्रायः नेताहरु उक्त कार्यलाई देशको स्वाभीमानसँग जोडेर अभिव्यक्तिहरु समेत दिइसके । राजनीतिक दलका युवा नेताहरु बालेनको बोलीलाई ऐन, कानून र क्षेत्राधिकारको मिटर लगाएर नाप्न चाहँदैनन् । बरु बालेन जस्तै बोलिहाल्छन् वा मौन बस्छन् ।

यद्यपि काठमाडौं महानगरका मेयरबाहेक अन्य नेताले ग्रेटर नेपालको काल्पनिक नक्सा आफ्नो घर वा कार्यालयमा झुण्ड्याएको देखिएको छैन । खासमा राजनीतिक दलका नेताहरुका लागि बालेन एकप्रकारको बाध्यता भएको प्रतीत हुन्छ । नेपालको राजनीतिक बजारमा अहिले लोकप्रियतावाद (पपुलिज्म)को माग बढ्दो छ । राणाशासनको अवसानदेखि गणतन्त्रको स्थापनासम्म आइपुग्दा नेपाली जनताले केवल व्यवस्था परिवर्तनको अनुभूति गर्न सकेका रहेछन् । लोकप्रियतावादलाई लोकतन्त्रभित्रको गहिरो संकटको लक्षणको रुपमा लिने गरिन्छ । पपुलिज्म पनि एउटा राजनीतिक दृष्टिकोण हो, जसले आफ्ना सरोकारहरुलाई स्थापित सम्भ्रान्त समूहले बेवास्ता गरेको महसुस गर्न बाध्य साधारण नागरिकहरुलाई अपील गर्न ‘प्रोभोक’ गरिरहेको हुन्छ ।

नेपालको राजनीतिक बजारमा अहिले लोकप्रियतावाद (पपुलिज्म)को माग बढ्दो छ । राणाशासनको अवसानदेखि गणतन्त्रको स्थापनासम्म आइपुग्दा नेपाली जनताले केवल व्यवस्था परिवर्तनको अनुभूति गर्न सकेका रहेछन् । लोकप्रियतावादलाई लोकतन्त्रभित्रको गहिरो संकटको लक्षणको रुपमा लिने गरिन्छ ।

बालेनको आफ्नै राजनीतिक दुनियाँ छ । उनलाई सबै राजनीतिक दलसँग घृणा छ । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक-समावेशी जस्ता उपलब्धिहरु उनले कम्पोज गर्ने गायनका लागि प्रयोग गरिने ‘सरकास्टिक लिरिक्स’ मात्र हुन् । लोकप्रियतावादी भएर होला, बालेनले नेपाली मिडियालाई बाल दिँदैन । आखिर बालेनको आँटको स्रोत र दलका नेताहरुको स्रोतमा भिन्नता छ त ?

काठमाडौंको सडक विस्तारदेखि खाल्डाखुल्डी पुर्न देशको प्रधानमन्त्री नै खट्टिनुपर्छ भन्ने सोच र अभ्यासलाई गलत साबित गर्ने सन्देश बाबुराम भट्टराईदेखि केपी शर्मा ओलीसम्म पुगेको हुनुपर्छ । स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने मान्यता स्थापित गर्नसक्ने छनक काठमाडौं महानगरको मेयरले दिइरहेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा प्रवाहमा बिचौलियाहरुले खडा गरेको सिन्डिकेटलाई धक्का लगाउन स्वतन्त्र निर्वाचितले गर्नसक्छ भनी महानगरले देखाइरहेको छ । फोहर व्यवस्थापन गर्न असहयोग भएको खण्डमा बालेन्द्रको टीमले सिंहदरबारमा कचरा फ्यालेर विद्रोही स्वभाव देखाउँछ । काठमाडौंमा खर्पनमा तरकारी बेच्न हिँड्ने स्थानीयवासीको परम्परागत पेशा उनको लागि उनले बनाएको कानूनको बर्खिलाप हुन्छ ।

समग्रमा बालेन्द्र आफ्नो चुनावी घोषणापत्र कार्यान्वयनमा दत्तचित्त भएर खटेको बुझ्न सकिन्छ । उनी आफ्नो ‘टीओआर’ पालनामा निर्मम देखिन्छन् । आर्थिक पारदर्शिता उनको तागतको मूल हो । तर, हामीले के बिर्सनुहुन्न भने काठमाडौंका मतदातासँग गरेका वाचाहरु एउटा मेयरले पूरा गर्ने यत्न गर्नु उनले पाएको जनादेश हो । कसैले आफ्नो गर्नुपर्ने काम गरेको विषयलाई लिएर उसको देवत्वकरण गर्नु नेपाली जनता लोकप्रियतावादको शिकार भइरहेको चाल नपाउनु कालान्तरमा दुःखद साबित हुनसक्छ । त्यसै पनि बेलाबेलामा जंगबहादुर र हिटलर खोज्नेहरुको कमी छैन नेपालमा ।

अन्त्यमा

नेपालको संविधानले निर्धारण गरेको वैधानिक नक्साबाहेक अन्य नक्सालाई चिन्दैन । बालेन नाम गरेको व्यक्तिले आफ्नो घरमा अन्य कुनै नक्सा राखेको भए, त्यो खासै चर्चाको विषय बन्दैनथ्यो होला वा माइतीघर मण्डलामा कसैले ग्रेटर नेपालको नक्सा फहराएको भए एकछिन रमाइलो नै हुन्थ्यो होला ! तर, एउटा मेयरले आफ्नो कार्यालयमा संविधानले नै नचिनेको झण्डा राखेकोप्रति मौन समर्थन जनाउनु राजनीतिक दलका नेताहरुको बाध्यता होला । तर, यसले ती नेताहरुकै वजुदमा प्रश्नचिन्ह लगाइरहने निश्चित छ ।

विश्लेषक सीके लालको शब्द सापटी लिएर भन्दा ‘बालेन एउटा जुनकिरी हो, न न्यानो दिन्छ न त उज्यालो ।’ नेपालको संविधानको परिधिमा रहेर आफ्नो क्षेत्राधिकार उल्लंघन गरी गम्भीर मुद्दामा गैरसंवैधानिक तवरबाट त्यसको प्रतिकार गर्नु र संविधानले नै ग्यारेन्टी गरेको बहुदलीय व्यवस्थाप्रति बालेनले लोकप्रियतावाद लाद्ने प्रयास गरेका छन् । सीमाका सवालमा आम नेपाली जनताले स्पष्टीकरण माग्ने माध्यम हो सरकार र प्रतिपक्ष न कि कुनै स्थानीय तहका जनप्रतिनिधि । तसर्थ राजनीतिक दृष्टिकोणले बालेनलाई बेलगाम छाड्नु घातकसिद्ध हुनसक्छ ।


प्रतिक्रिया

3 thoughts on “बालेन: बलिया कि बेलगाम ?

  1. अखण्ड भारतको नक्सा जसमा नेपालको भूभाग समेटिनु आम नेपाली ले ठिकै हो भनेर स्विकार्नु पर्ने हो त?

  2. बलियो बालेन
    पत्रकार बेलगाम
    सरकार बेकाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *