गगन विश्वप्रकाशको मौनता म विरुद्धको अन्यायको अनुमोदन हो : उपप्राध्यापक प्रेम चलाउने (भिडिओ) – Nepal Press
नेपाल टक

गगन विश्वप्रकाशको मौनता म विरुद्धको अन्यायको अनुमोदन हो : उपप्राध्यापक प्रेम चलाउने (भिडिओ)

काठमाडौं । विद्यार्थीहरूसँग पठनपाठनमा धाउनुपर्ने त्रिविका उपप्राध्यापक प्रेम बहादुर चलाउने आजकाल अदालत धाइरहेका छन् ।

घरपरिवारसँग बस्नुपर्ने उनी आमरण अनसन बसिरहेका छन् । यो सबैको जरा प्रचण्ड सरकारको मन्त्रिमण्डलले उनलाई त्रिवि परिसरमा भएको सांघातिक हमलाको मुद्दा फिर्ता लिएबाटै सुरु हुन्छ ।

विगत तीन दिन देखी उपप्राध्यापक त्रिविको उपकुलपति कार्यालय परिसरमा आमरण अनसनमा छन् । अनसनमा उनको पक्षमा प्रजातान्त्रिक प्राध्यापक देखी प्रगतिशील प्राध्यापक संघ देखी प्राध्यापक संघले समर्थन गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट स्ववियु सभापति भएका श्यामराज ओझाले समर्थन दिन नमानेपछि अनेरास्ववियुबाट स्ववियु सचिव जितेका सिद्धान्त भट्टले स्ववियुको तर्फबाट समर्थन गरेको विज्ञप्ति निकालेका छन् । यी सबैलाई भित्तामा टाँसेर आमरण अनसनमा छन् उपप्राध्यापक चलाउने ।

उनीहरू २०७७ असोजमा नेपाल विद्यार्थी संघका नेताहरूको सांघातिक हमलाबाट लागेका घाउ चोटका दस्ताबेज देखी अदालतमा भएको न्यायिक लडाइका ठेलीहरू समेत राखेर चलाउने आमरण अनसनमा छन् ।

कालो ब्यानरमा राखिएको भित्तामा राखिएका चलाउनेका चार प्रश्नहरू छन् ।

१. विश्वविद्यालयभित्र प्राध्यापक कहिलेसम्म असुरक्षित भई पढाउनु पर्ने ?

२. स्वतन्त्र न्यायपालिकामाथि राज्यबाट पटक पटक हस्तक्षेप किन हुँदै छ ?

३. शैक्षिक संस्थाभित्र कहिलेसम्म गुन्डाराज चलिरहने ?

४. के राज्यले अपराधीलाई संरक्षण गरिरहने हो ?

राज्यमाथि यिनै चार संघीन प्रश्न राखेर आमरण अनसनमा रहेका उपप्राध्यापक चलाउनेलाई नेपाल प्रेसकर्मीले अनसनस्थलमा बुधवार राती सात प्रश्न गरेको छ । प्रश्नोत्तरको सार:

तपाईं अहिले तेस्रो दिनको अनसनमा हुनुहुन्छ । पहिलो दिनको अनसन र तेस्रो दिनको अनसनमा बसिरहँदा केहि चेन्ज भएको छ न्यायिक यात्रामा ?

मैले न्याय पाउने बाटा अलिकति फराकिलो भएको देख्नु ।

जस्तो कुन अर्थमा फराकिलो ?

मलाई परेको अन्यायले धेरैलाई दुख्यो । यसले आम नागरिकहरूलाई दुख्यो । विद्यार्थीहरूलाई दुख्यो । पत्रकारहरूलाई दुख्यो । पत्रकारहरूलाई त धेरै नै दुख्यो भन्छु । त्यसपछि प्राध्यापकहरूलाई पनि दुख्यो । त्यो हिसाबले त्यहाँबाट विरोध सुरु भयो ।

त्यसले अन्यायको निन्दा गर्‍यो । भर्त्सना गर्‍यो । यो गर्न हुँदैन भन्ने लाइनमा आलोचना अगाडि बढ्यो । त्यसले मेरो न्यायको बाटो फराकिलो भयो ।

प्राध्यापकहरूलाई दुख्यो भन्नु भयो । तर, तपाइको घटना भएको धेरै समयपछि आमरण अनसन थाल्दाखेरि मात्रै प्राध्यापकहरुको तर्फबाट तपाईँलाई ऐक्यबद्धता आयो औपचारिक रूपमा । किन ढिलो दुख्यो उहाँहरूलाई ?

यो भन्दा पनि मैले चाहिँ कसरी हेर्छु भने यो निश्चित रूपमा तपाईँको भावना अनुसार प्राध्यापकहरूलाई सबैभन्दा बढी दुख्नुपर्ने हो ।

प्राध्यापकले चैँ यो बेला मात्रै होइन कि मरणासन्न अवस्थामा भइसकेपछि लगत्तै अलि एग्रे्सिब प्रोटेस्टमा जानुपर्थ्यो ।

तर, जे भने पनि मलाई त अहिले साथ सहयोग चाहिएको छ । त्यो हिसाबले चैँ उहाँहरूलाई ढिलै प्राटेस्टमा आएपनि त्यसलाई मैले सम्मानै गर्छु ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । २०७२ सालको संविधान सबैभन्दा उत्कष् छ , न्यायिक राज्य छ भनेर भनेर संविधान निर्माताहरूको दाबी छ । एउटा तपाईँले दर्ता गरेको मुद्दा क्याबिनेटले फिर्ता गर्छ । र, तपाईँ आफ्नो प्राध्यापन कर्म छोड्नु हुन्छ । परिवारलाई समय दिन छोड्नु हुन्छ । आफूले दिएको उजुरीमा न्यायिक फैसला होस भनेर यो स्तरको सक्रियता दुःख गर्नुपर्या छ । तपाईँ समाजशास्त्रको प्राध्यापक पनि भएको हिसाबमा, यसलाई कसरी लिनुहुन्छ ?

मैले यसरी दुःख गर्नुको पछाडि मलाई के लाग्छ भने, म चैँ न्याय प्राप्तिको विषय चैँ, केबल सरकारी संरचना अथवा राजनीतिक संरचनामा मात्र निर्भर हुन्छ भन्ने कुरामा म चैँ विश्वास गर्दिन ।

समाज शास्त्री र समाजशास्त्रको विद्यार्थी भएको नाताले त्यो न्यायिक बाटो कसरी फराकिलो हुन्छ भने जब समाज चैँ बढी आलोचनात्मक हुन्छ । जब चैँ एउटालाई परेको दुःख चैँ समाजको विभिन्न तप्कालाई दुख्छ । जब त्यसले कलेक्टिब कन्साइन्सलाई एक किसिमले थ्रेटन दिन्छ भने ।

मेरो अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिँदा जसरी पब्लिक जुरमुरायो, जसरी पत्रकारहरू जुरमुराउनु भो, समाजका अरू तप्काका जुरमुराउनु भो, यसरी जुरमुराएपछि चैँ मलाई के लाग्छ भने न्यायको बाटो चैँ फराकिलो हुन्छ ।

हामीले चैँ कहिले पनि म के मान्दिन भने केबल सरकारी संरचना अथवा न्यायिक निकाय अदालतमा मात्रै हामी निर्भर भयौँ भने चाहिँ त्यसले हामीलाई न्याय दिइहाल्छ भनेर सोच्यौँ भने त्यतिबेला चैँ न्यायको बाटो फराकिलो हुँदैन । त्यो साँघुरो हुन्छ जस्तो लाग्छ मलाई ।

न्यायको बाटो फराकिलो हुनलाई चैँ हाम्रो बृहत्तर सांस्कृतिक सामाजिक संरचनामै सुधार आउनुपर्छ । त्यसले खबरदारी गरिरहनुपर्छ । पहरेदारी गरिरहनुपर्छ ।

अन्याय र अत्याचारको विरुद्धमा जति जति बृहत् समाजले पहरेदारी गर्‍यो खबरदारी गर्‍यो हाम्रो संरचनाहरू पनि त्यति न्यायिक हुँदै जान्छ । त्यहाँ रुल अफ ल स्थापना हुने सम्भावना बढेर जान्छ । लोकतन्त्र पनि बलियो भएर जाने सम्भावना हुन्छ । जब हाम्रो पहरेदारी छुट्छ त्यसपछि त शक्तिमा बस्नेहरूले त यस्तै त हो नि । स्वेच्छाचारी निर्णयहरू गर्छन् ।

सानातिना कुराहरू पनि एक दम टिप्पणी गरिराख्ने कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तपाईँको यो मुद्दामा यत्ति मज्जाले चुप लाग्नु भएको छ कि त्यत्ति चुप उहाँहरू सार्वजनिक महत्वको अरू मुद्दामा हुनुहुन्न थियो । अहिले उहाँहरू कुनै टेलिभिजनको हास्यव्यङ्ग्य कलाकारको कार्यक्रममा अतिथि भएर जान भ्याउनु भएको छ तर तपाइको मुद्दामा उहाँहरू बेखबर जस्तै देखिनुहुन्छ । यसमा तपाइको टिप्पणी के छ ?

हरेक विषयमा यसरी प्रखर भएर बोल्ने मान्छेले यसरी मौनमा साँधेको चैँ अवस्यपनि पब्लिकले प्रश्न गरिरहेको छ । मैले प्रश्न गरिरहेको देखिराछु फेसबुक, ट्विटर र अरू सोसल मिडियाहरू । त्यसमा म आलोचना भएको देख्छु ।

उहाँहरू लोकतन्त्र र विधिको शासनको माला जपेर धाक्नुहुन्न उहाँहरू । त्यो गर्नु पनि पर्छ । त्यसमा मैले गर्नु हुँदैन भनेको होइन । यत्रो नाकै मुनिको अन्याय नदेख्नु भएको चैँ एक किसिमले अन्याय गर्नु जस्तै हो भन्ने लाग्छ मलाई । उहाँहरूले नबोलेको चैँ एक किसिमको अन्यायलाई वैधता दिएको हो उहाँहरूले ।

सरकारले मुद्दा फिर्ता लिन गरेको निर्णयको विरुद्धमा बुधवार सर्वोच्चमा रिट दायर भएको छ । यो रिटको विषयमा तपाईँ कत्तिको आशावादी हुनहुन्छ ?

मलाई भएको अन्याय, सरकारले गरेको स्वेच्छाचारी निर्णय, यसले चैँ वृहत् सामाजिक मर्ममा धक्का दियो नि । मान्छेको कलेक्टिब मोरालिटीलाई एक किसिमले धक्का दियो । त्यसबाट मान्छेहरू क्षतविक्षत भए ।

मैले चिन्दै नचिनेको कयौँ मान्छेहरूले मेरो पक्षमा यसरी बोलिराख्नु भएको छ, लडिरहनु भएको छ, त्यो चैँ मैले जिन्दगीमा कहिल्यै नचिनेको कहिल्यै अनुहार नदेखेको धेरै हुनुहुन्छ ।

उहाँहरूको कलेक्टिब कन्साइन्स चैँ घाइते भयो के । त्यसो भएर उहाँहरू बोल्नु भयो । प्रखर भएर बोलिराख्नु भएको छ ।

त्यसले गर्दा भोलीको रिटबाट आशावादी छु । यसले पनि सर्वोच्चलाई एक किसिमले मेरो दुःख मेरो अनिश्चितता प्रति सर्वोच्च ध्यान आकृष्ट गरेको छ भन्ने लाग्छ ।

प्रेम बहादुर चलाउने अन्यायमा पर्‍यो है भनेर सर्वोच्चलाई झकझक्याएको छ । त्यस हिसाबले चैँ त्यो रिटबाट म आशावादी छु ।

तपाईँको आशा आशावादी हुने अवस्था भएन भने तपाईँ के गर्नुहुन्छ ?

म त कोर्टलाई परीक्षण गर्न गएको हो । मैलो कोर्टबाट धेरै अपेक्षा गरेको थिइन । कोर्ट कसरी चल्छ कसरी काम गर्छ भन्ने कुरा म पब्लिकलाई देखाउन चाहन्थे । वास्तममा मैले त्यहाँबाट पाउनु केहि थिएन ।

क्षतिपूर्तिको कुरा त्यो आफ्नो ठाउँमा छ । फेरि पनि मेरो सरोकारको विषय चैँ के हो भने अदालतमा के छ भने अहिले सबै संस्थाहरू भताभुङ्ग भइरहेका छन् । यो गिर्दो अवस्थामा छ विश्वविद्यालय, अदालत, कर्मचारी, सेना, प्रहरी हरेक संस्थाहरू ध्वस्त हुने अवस्थामा छ ।

फेरि पनि हामी सभ्य समाजमा भरोसा गर्ने भनेको चैँ न्यायालयलाई हो । न्यायालयलाई नै भरोसा गरिन्छ । विधिको शासन लोकतन्त्र मान्ने समाजमा चाहिँ ।

न्यायालय प्रतिको भरोसा त टुटाउन पनि त सकिँदैन नि । तर, यदि सर्वोच्चले आफ्नो विवेक प्रयोग गरेन भने, मलाई फेरि पनि न्यायालयमा पार्‍यो भने सरकारको स्वेच्छाचारी निर्णयको अनुमोदन गर्‍यो भने म चैँ सत्याग्रहलाई निरन्तरता दिन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर