त्यो यात्रामा मेरो हातमा किताब नभएको भए देशकै बेइज्जत हुनेरहेछ ! – Nepal Press
चीन ब्लग: २

त्यो यात्रामा मेरो हातमा किताब नभएको भए देशकै बेइज्जत हुनेरहेछ !

प्रस्टोक्ति

यो ब्लग चिनियाँ पठन संस्कृतिको बारेमा हो । चिनियाँ नागरिक र सरकारले पठन क्षेत्रमा गरेको लगानीको मैले देखेका दृश्यको बारेमा हो । त्योभन्दा अगाडि सुरुमै प्रस्ट गरौं कि चीनमा पठन संस्कृति प्रवर्द्धन राम्रो छ भन्दैमा तपाईं हामीले खोजेका सबै उत्तर चिनियाँहरुबाट नआउन सक्छ । हामीलाई सजिलो लागेका कुरा पनि आम चिनियाँलाई गाह्रो हुनसक्छ । जस्तोः मैले सिचुआन, हुनानदेखि फुजिआन प्रान्तमा पुग्दा कुरा गरेका कुनै पनि युवाले नेपाल चिनेको बताएनन् । उनीहरुले तिब्बत मुन्तिरको चिनियाँ छिमेकी देश भनेर संकेत गर्दामात्रै नेपाल चिने । नेपाल नचिन्नेले नेपाली प्रधानमन्त्री चिन्ने कुरै आएन । मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखाएर चिन्छौं भनें । मोदीलाई पनि नचिन्नेहरु उत्तिकै थिए । तर, भारत चिन्नेहरु चै थिए । मोदीभन्दा धेरै त आमीर खानलाई चिन्नेहरु थिए ।

पठन, पठन र पठन- सीटदेखि ककपिटसम्म

सिचुआन प्रान्तको राजधानी छेङ्दुसम्मको हवाई यात्रामा थिएँ । सिचुआन एयरलाइन्सको तीन सीटे पंक्तिमा झ्यालतर्फ थिएँ म । बाँकी दुई सीटमा युवती र उनीहरुको अगाडि थियो पुस्तक । हत्केलामा पुस्तक अड्याएर पुस्तकसँग आमनेसामने भएर बसेका उनीहरु मन्त्रमुग्ध थिए । पुस्तक पढेको कि मेडिटेसन गरेको जस्तो । मसँग पनि दुई पुस्तक थिए । एक पुस्तक थियो- इतिहास शिरोमणि बाबुराम आचार्यले नेपालीमा लेखेको र उनका नाति माधव आचार्यले अनुवाद गरेको ‘चाइना, टीबेट एन्ड नेपाल’ । अर्को थियो, कोरी स्याकीले लेखेर हार्वर्ड विश्वविद्यालय प्रेसले प्रकाशन गरेको पुस्तक ‘सेफ प्यासेज’ ।

साढे दुई घण्टा हाराहारीको हिमाल पार उडानमा यी पुस्तकले मलाई धेरै राहत दियो । पहिलो त लामो जहाजी यात्रामा आउने आलस्यलाई टार्न पुस्तकले धेरै राहत दियो । दोस्रो, मसँगै बसेका दुई साथीले खुरुखुरु पढ्दा म भने उङ्दै, हाई काड्दै बसेको भए, त्यहाँ मेरोमात्रै बेइज्जत हुन्थेन । मसँगै मेरो देशको पनि बेइज्जत हुन्थो । चीन यात्राको मेरो पहिलो प्रभाव नै पठनबाट सुरु भयो । सबै सीटका चिनियाँहरु पढ्दै देखिएनन् । धेरैजसो सीटका भने पढ्दै देखिए ।

माओले लेखेका र माओबारेमा लेखिएका पुस्तकहरुको विशाल संकलन थियो । उसो त माओ आफैंमा राम्रा पाठक थिए, लेखक थिए । उनी पठनमा अब्बल थिए । दुई हजार वर्षभन्दा अगाडि चिनियाँ जर्नेल, रणनीतिकार, दार्शनिक तथा लेखक सुन्चुले लेखेको ‘आर्ट अफ वार’ पढेर जनवादी गणतन्त्र चीनको युद्ध सुरु गरेका थिए माओले ।

छेङ्दु विमानस्थलमा अवतरण हुन लाग्दा पाइलटले त्यो शहर २ हजार वर्षभन्दा पुरानो लिखित इतिहास भएको भनेर सुनाए । उनले त्यो प्रान्तका केही लेखक कविहरुको पनि नाम भने । अब मेरो पठन इम्प्रेसन म बसेको सीटदेखि पाइलट बसेको ककपिटसम्म पुग्यो । मैले सोचें- सिचुआन प्रान्तको राजधानी छेङ्दु जस्तै हाम्रो संघीय राजधानी काठमाडौंको पनि त दुई हजार वर्षभन्दा पुरानो लिखित इतिहास छ । काठमाडौंले जन्माएका पनि नामी लेखक-कविहरु छन् । के नेपाली ध्वजाबाहक जहाजका पाइलटले काठमाडौंको त्यस्तै व्याख्या गर्लान्, जस्तो सिचुआन एयरलाइन्सका पाइलटले छेङ्दुको गरे ?

माओ संग्रहालयको विशाल पुस्तक कक्ष

म हुनान प्रान्तको माओ जन्माउने साओस्यानको घरमा पुगेको थिएँ । माओ गाउँमा उनको जन्मघर पुग्नुअगाडि एक संग्रहालय बनाइएको छ । विशाल संग्रहालयमा भिन्नभिन्न कोठामा भिन्नभिन्न कुराहरु सजाइएका थिए । सबैभन्दा ठूला कक्षहरुमध्ये एक पुस्तकको थियो । माओले लेखेका र माओबारेमा लेखिएका पुस्तकहरुको विशाल संकलन थियो । उसो त माओ आफैंमा राम्रा पाठक थिए, लेखक थिए । उनी पठनमा अब्बल थिए । दुई हजार वर्षभन्दा अगाडि चिनियाँ जर्नेल, रणनीतिकार, दार्शनिक तथा लेखक सुन्चुले लेखेको ‘आर्ट अफ वार’ पढेर जनवादी गणतन्त्र चीनको युद्ध सुरु गरेका थिए माओले ।

एक पाठक र लेखकको संग्रहालयमा पुस्तकको बारेमा बेग्लै विशाल कक्ष हुनु स्वाभाविक हो । नेपालमा पनि मदन भण्डारी राम्रा लेखक र पाठक थिए । के मदन भण्डारीको संग्रहालयमा यस्तै विशाल पुस्तक कक्ष छ ? के बीपी वा पुष्पलालका संग्रहालयमा पुस्तक कक्षले स्थान पाएका छन् ? माओको पुस्तक कक्षमा पुग्दा मलाई यी प्रश्नहरुले घेरिरहे ।

फुजिआनः होटलदेखि क्याफेसम्म पढ्न प्रवर्द्धन

ताइवानसँगको संधियारी फुजिआन प्रान्तको राजधानी फुचौको एक कुनामा ‘एसियन टाउन’ छ । हामी त्यहाँ घुम्न पुग्यौं । दुई हजार वर्ष हाराहारी पुरानो संरचनाको एसियन टाउन पुग्दा नेपालकै वसन्तपुर पुगेको झल्को आयो । एसियन टाउनका सात गल्लीमध्येको एक कुनामा क्याफे भेटियो । पुस्तकहरुले भरिभराउ क्याफे अटोमेटेड थियो । किचेनका स्टाफबाहेक अरु कर्मचारीहरु नभएको शान्त क्याफे । क्याफेमा कर्मचारीहरु किचनमा मात्रै भएको तर अन्त नभएको बारेमा त्यहाँ भेटिएका अंग्रेजी बोल्ने चिनियाँसँग जिज्ञासा राखे । उनले यहाँ मान्छेहरु पढ्नमात्रै आउने र बेलाबेला खानपिन गर्नलाई मात्रै किचन स्टाफ चाहिएको बताए । पुस्तक पढ्न र किन्न दुवै सुविधा भएको एसियन टाउनको जस्तो क्याफे नेपालमा पनि बनेका छन् । किचनमा मात्रै कर्मचारी राख्ने स्तरमा भने हाम्रा क्याफे पुग्न अझै समय छ ।

नेपालमा पनि मदन भण्डारी राम्रा लेखक र पाठक थिए । के मदन भण्डारीको संग्रहालयमा यस्तै विशाल पुस्तक कक्ष छ ? के बीपी वा पुष्पलालका संग्रहालयमा पुस्तक कक्षले स्थान पाएका छन् ? माओको पुस्तक कक्षमा पुग्दा मलाई यी प्रश्नहरुले घेरिरहे ।

एसियन टाउनको घुमघाम सकेर होलिडे एक्सप्रेस इनमा आइयो । हाम्रो बसाइको चाँजोपाँजो त्यही थियो । साथीहरुसँगको घुमघाम सकेर कोठामा पुग्दा रोचक दृश्य देखियो । बेड नजिकै दुई स्विच थिए । एउटामा बत्ती मार्ने संकेत थियो, अर्कोमा पुस्तक । अर्थात् कि बत्ती मार्नुपर्ने कि बालेर पढ्नुपर्ने । पठनमा यो स्तरको प्रवर्द्धन गजब लाग्यो ।

चिनियाँ पठन संस्कृतिः इतिहासदेखि उखानसम्म

पठन संस्कृतिको शक्तिशाली डीएनए भएकैले होला चिनियाँ पठनको उचाइ र गहिराइ दुवै अब्बल छ । गहिराइको कुरा गर्दा हजारौं वर्ष पुराना किताबहरु चीनमा छन् । उचाइको कुरा गर्दा पेकिङ, सिङ्गुआलगायतका चिनियाँ विश्वविद्यालयहरु अहिले विश्व मानचित्रमा बलिया भएर उभिएका छन् । चिनियाँ पठन संस्कृतिको संस्थागत विकासकै विम्ब हुन् यी विश्वविद्यालयका सफलताहरु ।

चिनियाँहरुको लेखनले, पठनले नेपाललाई पनि फाइदै भएको छ । जस्तो चिनियाँ तीर्थयात्रीले सातौं शताब्दीमा नेपालको बाटो यात्रामात्रै गरेनन्, तत्कालीन लिच्छविकाललाई चित्रित गरेका छन् । कैलाशकुट दरबारको दृश्य चित्रित गरेका छन् । यसले नेपाली इतिहासको वैद्यता थपिएको छ । यतिमात्रै होइन, चीनकै दस्तावेजहरु तथा लेखौटहरुका आधारमा भृकुटी र अरनिकोलाई नेपाली विभूतिको सूचीमा राख्न सकिएको छ । चिनियाँहरुको पठन र लेखन संस्कृतिले सगरमाथाको उत्तरी मोहडाको चीनलाई मात्रै फाइदा पुगेको छैन । दक्षिणी मोहडाको नेपाललाई पनि फाइदा पुगेको छ ।

चीनको लोभलाग्दो पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने सरकारमात्रै छैन, नागरिकमात्रै छैन, उखान पनि छन् । जस्तै पठनमैत्री यी दुई उखान हेरौंः

  • पुस्तक एक घर सुन हो ।
  • तीन दिन पढ्न छोडेर गफिँदा कुरामा मिठास आउन छोड्छ ।

याे पनि पढ्नुस् : उपहारमा चिनियाँ क्रेज: लिन उत्साहित, दिन उदार !


प्रतिक्रिया

One thought on “त्यो यात्रामा मेरो हातमा किताब नभएको भए देशकै बेइज्जत हुनेरहेछ !

  1. एउटा जिज्ञासा विराट भाई । उहिले उहिले चीन–तिव्वतबाट हु येन साङ, फाहियानहरु यात्रामा आए । तिनिहरु तत्कालिन समयका विद्धान दार्शनिक थिए र नै नेपाल खाल्डोको वृतान्त लेखे । तर हिमाल दक्षिणको विशाल भूभागलाई देवीदेवता बस्ने, पवित्र भूमि, स्वर्ग, ऋषि मुनीहरुले ध्यान तपस्या गरेको माटो भनेर हाम्रा पुर्खाहरुले सुनाए । अहिले पनि कितावमा त्यस्तै पढाइन्छ । त्यसो भए पक्कै पनि यताका ऋषिमुनीहरुले पनि चिन तिर यात्रा गरे होलान् । हिमाल दक्षीणबाट फलाना महाप्रतापी अलौकिक चमत्कारी फलाना तपस्वी ऋषीमुनीले यात्रा गरेर चिनको बृतान्त यसरी कहेका छन् भनेर कुनै पुस्तकहरु पनि त्यता पाइन्छ कि ? यसो सोधी खोजी गर्नु है । ठट्टा होइन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *