नेपाल–चीन ड्रागन बोट रेस : दुवै इभेन्टमा सिचुवान टिम विजयी
पोखरा । पोखरामा जारी पहिलो नेपाल–चीनमैत्रीपूर्ण ड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।
सिचुवान टिमले २ सय र ५ सय मिटरको दुवै इभेन्टमा जित हासिल गर्दै उपाधि सुरक्षित गरेको हो । उपाधिसँगै सिचुवान टिमले ११ लाख रुपैयाँ प्राप्त गर्यो ।
नेपाली टिम नारा ड्रागन बोट टिम दुवै इभेन्ट दोस्रो बन्दा चिनिया युनान ड्रागन बोट टिम तेस्रो बन्यो । नेपाली टिम एनआरसीएले चौथो स्थानमा चित्त बुझाउनु प¥यो । दोस्रो र तेस्रो हुने टिमले क्रमशः ७ लाख र ४ लाख रुपैयाँ हात पारे ।
प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँ दरले प्राप्त गरेका छन् । शुक्रवार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए ।
विजेता टिमलाई राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि भारतीय राजदूत छन् छोङ, पर्यटन राज्यमन्त्री सुशिला श्रीपाइली ठकुरी, पोखरा महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङले पुरस्कार हस्तान्तरण गरेका थिए ।
पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिता समापनसँगै अके वर्ष पुनः फेस्टिबल गर्ने उद्घोष गरिएको छ ।