बुटवल उपमहानगरभन्दा तिलोत्तमा नगरपालिकाले ल्यायो धेरै बजेट – Nepal Press

बुटवल उपमहानगरभन्दा तिलोत्तमा नगरपालिकाले ल्यायो धेरै बजेट

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रूपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । तिलोत्तमाले बुटवल उपमहानगरको भन्दा धेरै बजेट ल्याएको हो । बुटवलको बजेट २ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ छ ।

तिलोत्तमाकी उपप्रमुख जागेश्वर चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ ।

तिलोत्तमाको बजेट चालू आवको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो । चालू आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ ।

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रूपैँयाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गर्दै उपप्रमुख चौधरीले जानकारी दिइन् । बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालू आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो ।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताइन् । बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ ।

नगरबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गरी बजेट तयार पारिएको उपप्रमुख चौधरीले उल्लेख गरिन् ।

तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा मेयर रामकृष्ण खाणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो । आइतबार प्रस्तुत भएको बजेट तथा आर्थिक ऐनको दफाबार छलफलको लागि नगर प्रमुख खाणले असार १६ गते दिउँसो २ बजे नगरसभाको तेस्रो बैठक बोलाएका छन् ।

बुटवल नगरसभाको १३ औँ अधिवेशनमा आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेश गरेकी हुन् । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८१ मा २ अर्ब ३५ करोड रुपैयाँको बजेट थियो ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

देशभरका उपमहानगरमध्ये बुटवल संघीय सरकारबाट सबैभन्दा कम अनुदान पाउने उपमहानगरको रूपमा रहेको छ । तिलोत्तमाले संघीय अनुदान धेरै पाएकाले बजेटको आकार बढेको हो । रुपन्देहीका १६ पालिकामध्ये सबैभन्दा धेरै बजेट तिलोत्तमाको आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर