दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौं: मन्त्री भुसाल (भिडिओ) – Nepal Press

दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौं: मन्त्री भुसाल (भिडिओ)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् ।

आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन् । उनले सरकारले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो, बोर्डले त्यो उद्देश्यअनुसार काम गर्न नसकेको बताए ।

उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताउनु भयो । उहाँले सरकार दुध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने बताए । दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने क्षेत्रमा रहेको उनको भनाइ छ ।

उनले भने,‘ दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने, दुःखी हुनुपर्ने अवस्था देख्दिनँ । सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ । व्यवस्थापन गर्ने विषयमा सबैसँग छलफल भइरहेको छ । मन्त्रालयको प्रस्तावमा खारेज भएको होइन । खर्च कटौती आयोगले गरेको सिफारिसका आधारमा भएको छ । दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो । कामको हिसाबले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन । बोर्ड जसरी जे गर्ने भनेर स्थापना गरिएको थियो । त्यो अनुसार काम भएको छैन । सरकारले बोर्ड पुनर्संरचना गर्न खोजेको मात्रै हो । दूध विकासबाट हात धुन सरकारले खोजेको होइन । दूध विकासको पक्षमा सरकार छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए । उनले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताए ।

उनले केही उद्योगहरुले लभिङ गरेर बाहिरबाट पाउडर दूध र चिज ल्याउन रोक लगाएको भन्दै त्यसको कारण दूधको मूल्य बढेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर