अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतबीचको विवादले रोल्पाको गंगादेवमा बजेट अन्योल – Nepal Press

अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतबीचको विवादले रोल्पाको गंगादेवमा बजेट अन्योल

रुपन्देही । रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष हरिबहादुर पुनले एकपक्षीय रुपमा नीति तथा कार्यक्रम र बजेट बनाएको भन्दै कार्यपालिका सदस्यले विरोध गरेपछि बजेट अन्योलमा परेको छ ।

अध्यक्षसँग द्वन्द्व बढेपछि प्रमुख कार्यकारी अधिकृत मोबाइल अफ गरेर जिल्ला छाडेका छन् । आइतबार दिनभरि जिल्लामा नभएका कार्यकारी अधिकृत साँझ पुगेका थिए ।

नेपाली कांग्रेसको जिल्ला उपसभापतिसमेत रहेका पुनलाई उनकै पार्टीबाट निर्वाचित उपाध्यक्ष अमृता कुमारी केसी तथा अन्य वडाबाट आएका कार्यपालिका सदस्यले समेत साथ नदिँदा उनलाई अप्ठ्यारो परेको हो ।

अध्यक्षले अनावश्यक दबाब दिएपछि पालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले मोबाइल अफ गरेर दाङ बसेको स्रोतले जनाएको छ ।

कार्यपालिका सदस्यहरूले अध्यक्षले एकलौटीरुपमा बजेट बनाएको भन्दै पास गर्न नदिएको एक सदस्यले बताए । उनीहरूले आफ्नो वडामा बजेट सिलिङ कम भएको भन्दै गुनासो गरेका गरेका छन् । सोमबार बिहान अब कसरी जाने भनेर अध्यक्षले कार्यपालिका सदस्यलाई छलफलका लागि बोलाएका छन् ।

वडा नं ३ का वडाध्यक्ष लोकमान वलीले पालिकाको बजेट नआएको र आफू वडामै छलफलमा रहेको बताए । अध्यक्ष, उपाध्यक्ष तथा कार्यकारी अधिकृत तीनै जनाको मोबाइल फोनमा सम्पर्क हुन सकेको छैन ।

स्थानीय तहमा बजेट बनाउने जिम्मेवारी उपाध्यक्षलाई भए पनि अध्यक्ष पुनले उपाध्यक्षका ती अधिकारमा कटौती गर्न खोजेपछि विवाद बढेको छ । आइतबारसम्म उपाध्यक्ष केसीले बजेटका विषयमा जानकारी नदिएको कार्यपालिका सदस्यसँग गुनासो गरेकी थिइन् । गत वर्ष पनि बजेटमा विवाद भएर पछि बजेट आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *