निगम नाफामा गएको प्रचार झूटो रहेको मन्त्री किराँतीको स्वीकारोक्ति, ४ महिनामा सर्कसवालाले पनि तिर्न सक्दैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई ४८ अर्ब ऋण लगाउने धमिराबारे सबैलाई थाहा भएको बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अख्तियारले सो ऋणबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
मन्त्री किराँतीले भने, ‘यहाँ लाग्छ न्याय मर्दैन । ४८ अर्ब ऋण रहेछ । कसरी नाफामा गयो ? यो कुरा ढोंगी भएन ? मैले भने त म जन्मनुभन्दा अगाडि बढेको निगम हो । धमिजा र लाउडा कत्रो कत्रो काण्डहरु आए यहाँहरु सबैलाई थाहा छ ।’
निगमको अहिलेको अप्रेसन अवस्थामा नाफामा रहेको जिकिर गर्दै उनले त्यो बेलादेखिको ऋण ४ महिनामा कुनै चटके र सर्कसवाला आए पनि तिर्न नसक्ने बताए ।
उनको भनाइ जस्ताको तस्तै
कर्मचारीले मेरो कुरा नपत्याएर गुनासो गरेको होइन । जबरजस्ती सबैको सीमाभित्र सानासाना योजनाको पछि लागेर हिँड्ने स्थिति पनि थिएन । हुँदैन पनि रहेछ । ३३४ जनाको निवेदन हुन्छ । लाग्छ, निवेदन दिएपछि परिहाल्छ । १० वर्ष सांसद भएर जुत्ता फटाउने मै हो । सडकमा दश वर्ष जुत्ता फटाएको अनुभव छ । सम्झेर मन्त्रीले साध्य पनि हुँदैन नि ! अब ४८ अर्ब ऋण पार्ने धमिरा को हो ? यो देश र अख्तियारले खोज्नुपर्यो । कतिपय मुद्दाहरु अख्तियारमा छन् । मलाई लाग्छ, अख्तियारले उपयुक्त समयमा दूधको दूध पानीको पानी देखाएर छाड्ला ।
यो बुद्ध, पशुपति र सगरमाथाको देश हो । यहाँ लाग्छ न्याय मर्दैन । ४८ अर्ब ऋण रहेछ । कसरी नाफामा गयो ? यो कुरा ढोंगी भएन ? म जन्मनुभन्दा पहिले अगाडि बढेको निगम हो । धमिजा र लाउडा कत्रो कत्रो काण्डहरु आए, यहाँहरु सबैलाई थाहा छ । ११ प्रतिशत ऋणब्याज भार बोकेर आपत्तकालीन अवस्थामा कोरोना कालको ऋण एकैचोटी मुक्त हुन्छ त ? त्यसो भए सडक विभागले कति कमायो यहाँ प्रश्न गरेर हुन्छ त ?
यसको अर्थ त्यहाँ विकृति छैन भनेको होइन, भारी विकृति छ । त्यसलाई पन्छाउनु चाहिँ छ नै । दार्चुलामा गाडीको बाटो पुग्यो, सडक विभागलाई के नाफा भयो ? त्यहाँका जनताको आर्थिक रुपमान्तरण आयो कि आएन भन्ने कुरा मुख्य कुरा होला जस्तो लाग्छ । त्यो बेलामा ऋण अहिले ४ महिनामा कुनै चटके र सर्कसवाला आएर पनि हुनेवाला केही छैन । तर, जुन समयमा हामी आयौं, अप्रेसन समयमा नाफा छ । यसरी नै समय समयमा नाफा भएको भए डुब्दैनथ्यो नि त !