सिम्रिक एयरले काभ्रेपलाञ्चोकमा बनाउन लागेको हेलिपोर्ट निर्माण खारेज गर्छु: अधिकारी – Nepal Press

सिम्रिक एयरले काभ्रेपलाञ्चोकमा बनाउन लागेको हेलिपोर्ट निर्माण खारेज गर्छु: अधिकारी

'मलाई क्याविनेटले नियुक्त गरेको हो, त्यहाँबाट स्पष्टीकरण सोधियो भनेमात्रै दिन्छु'

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका- १४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न दिइएको सैद्धान्तिक सहमतिलाई आजै रोक्ने बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरलाई निजी हेलिपोर्ट बनाउन सहमति दिएका थिए । सिम्रिक एयरलाई गैरसैनिक हवाई ऐन २०१५ विपरीत हेलिपोर्टको अनुमति दिएको भन्दै विरोध भएको थियो ।

पर्यटनमन्त्री किराँतीले गत जेठ २२ गते हेलिपोर्टका लागि सैद्धान्तिक सहमति दिएका थिए । सहमतिसँगै मन्त्रालयबाट गत जेठ २८ गते पत्र पठाइएको थियाे ।

‘सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका- १४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमतिलाई आजै खारेज गर्नेछु । मलाई क्याबिनेटले नियुक्त गरेको हो । क्याबिनेटबाट स्पष्टीकरण सोधियो भनेमात्रै जवाफ दिन्छु’, अधिकारीले भने, ‘मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्यपत्र भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट भएको छ । फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन आवश्यक छैन ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको सचिवालय स्रोतले भने स्पष्टीकरण पत्र अधिकारीको हातमा परेपछि मात्रै फेसबुकमा पोष्ट गरिएको बतायो ।

सचिवालय स्रोतले भन्यो, ‘हेलिपोर्ट निर्माण र खारेज गर्ने अधिकार महानिर्देशक अधिकारीसँग हुने भएकाले उहाँले नै निर्णय गर्न सक्ने बतायो ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले अधिकारीलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।

हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा १५ करोड खर्च गरेर २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *