यस्तो छ कोशी प्रदेश सरकारको वित्तीय स्थिति – Nepal Press

यस्तो छ कोशी प्रदेश सरकारको वित्तीय स्थिति

काठमाडौं । कोश प्रदेश सरकारको चालू खर्च ३८.७ प्रतिशत र पुँजीगत खर्च २०.६ प्रतिशत रहेको छ । आइतबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार कोश प्रदेशले ६ महिनाको अवधिमा कुल विनियोजन बजेटको २५.७ प्रतिशत खर्च गरेको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले विनियोजन गरेको ३९ अर्ब ७३ करोड रुपैयाँ बजेटको पहिलो ६ महिनाको अवधिमा १० अर्ब १९ करोड रुपैयाँ खर्च देखाएको छ । प्रदेशले कुल विनियोजन बजेटको २५.७ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै, चालु खर्चतर्फ विनियोजन भएको १४ अर्ब ८७ करोड रुपैयाँमा २०७९ पुस मसान्तसम्म ३८.७ प्रतिशत अर्थात् ५ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खर्च ३२.६ प्रतिशत रहेको थियो ।

त्यसै गरी, पुँजीगत खर्चतर्फ विनियोजित २१ अर्ब ५० करोड रुपैयाँमा समीक्षा अवधिको अन्त्यसम्म २०.६ प्रतिशत अर्थात् ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत खर्च २१.१ प्रतिशत रहेको थियो ।

प्रदेश सरकारले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट गरी कुल २० अर्ब ३८ करोड रुपैयाँ राजस्व परिचालन अनुमान गरेको थियो । जसमा ०७९ पुस मसान्तसम्म २२ प्रतिशत अर्थात् ४ अर्ब ४७ करोड रुपैयाँ मात्रै राजस्व परिचालन गरेको छ ।

त्यस्तै, प्रदेश सरकारले संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष र समपूरक गरी कुल १९ अर्ब ३५ करोड अनुदान प्राप्त अनुमानमा २०७९ पुस मसान्तसम्म कुल ४ अर्ब ६९ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *