गाउँपालिका अध्यक्षविरुद्ध न्याय परिषद् र न्याय सेवा आयोगमा उजुरी – Nepal Press

गाउँपालिका अध्यक्षविरुद्ध न्याय परिषद् र न्याय सेवा आयोगमा उजुरी

रुपन्देही । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) विरुद्ध छानबिन गरी कारबाही गर्न माग गर्दै न्याय परिषद् र न्याय सेवा आयोगमा उजुरी परेको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ कै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले गुप्तालाई लागू औषध र भ्रष्टाचार मुद्दामा कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।

भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष गुप्तासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्र पाण्डेय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका अनुसन्धान अधिकृत बाबुराम पौडेल, पाल्हीनन्दन गापाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल,पाल्हीनन्दन गापाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,पाल्ही नन्दन गापाका बहालवाला प्रमुख इन्जिनियर उमेश शर्मा,पाल्हीनन्दन गापाका तत्कालीन लेखा अधिकृत शरद न्यौपानेलाई विपक्षी बनाई छानबिन गरी कारबाहीको माग गरिएको छ ।

गुप्ताविरुद्ध गाउँपालिका अध्यक्ष हुँदा आर्थिक अनियमितता गरेको र साझेदारी व्यापारको करोडभन्दा बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई लागू औषध मुद्दामा फसाएको आरोपमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी गरिएको हो ।

लागू औषध सम्बन्धी मुद्दामा गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए तर पछि राजनीतिक शक्तिको आड र आर्थिक चलखेल गरेर धरौटीमा रिहा भएको आरोप उजुरीकर्ताले लगाएका छन् । अध्यक्ष गुप्ता माओवादीबाट निर्वाचित भएका हुन् ।

अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको थियो । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नताका आधार भेटिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको थियो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो ।

उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागूऔषध बरामद भएको प्रहरीको दाबी थियो ।

छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको थियो । तर उनीहरू प्रहरी हिरासतमा छन् ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागूऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको थियो ।

थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए । रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो ।

सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागू औषध मुद्दामा फसाएको आरोप छ । यही काण्डले एसपी कँडेलको सरुवा भएको थियो ।

थुनामा रहेका गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न थुनामा रहेका भारतीयको परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले माग गर्दै आन्दोलनसमेत गरेका थिए ।

यता गाउँपालिका अध्यक्ष गुप्ताले केही व्यक्तिले चुनावमा पराजित भएपछि राजनीतिक प्रतिशोधका आधार अनर्गल प्रचारबाजी गरेको बताए ।

मैले कसैको विषयमा नबोलौँ भन्ने हो, तर निर्वाचनमा पराजित भएपछि पटक पटक एउटै विषयमा आधारहीन, तथ्यहीन विषयलाई प्रचारमा ल्याएर मानमर्दन गर्न हुँदैन नि, मैले के गरेको छु, कसरी काम गरेको छु यहाँका जनताले बुझेका छन्, मलाई जनताले चुनेर पठाएका हुन्, राजनीतिक प्रतिशोधका आधारमा यसो गरिनु राम्रो होइन’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर