धूमपानले लिन्छ ज्यान, कसरी सकिन्छ छोड्न ? – Nepal Press

धूमपानले लिन्छ ज्यान, कसरी सकिन्छ छोड्न ?

‘पानी र जवानी कहिल्यै फर्केर आउँदैन’, कुलतमा लागेर जीवन बर्बाद गर्नेहरुमा यो भनाइ लागू हुन्छ । जवानी छँदै मोजमस्ती गर्नुपर्ने तथा सबै चिजको अनुभव लिइसक्नुपर्छ भन्ने सोच भएका युवा पुस्ताले दोहोराइरहने भनाइ हो यो ।

कास्कीका साजन घतानेमा पनि यो मेल खायो । पहिलो चुरोटको सर्को तान्दा उनले भर्खर कलेज जीवन सुरु गरेका थिए । त्यो पनि साथीको लहैलहैमा लागेर उनले धूमपान गर्न थालेका हुन् । चुरोटबाट सुरु भएको उनको दुर्व्यसन पछि सुईबाट लागऔषध लिनेतर्फ मोडियो ।

साथीहरुको कुरा सुनेर उनलाई सुईबाट लिइने लागुऔषध प्रयोग गरी हेर्ने कौतुहल जाग्न थाल्यो । घरमा एक्लो छोरा भएकाले पैसाको कमी थिएन । एकदिन घरबाट घुम्न भनेर निस्किएका साजन चुरोटको धुवाँसँगै सुईबाट लागुऔषधको लठ्याइमा घर जानै भुले । लागुऔषधको भारीले थलिएको शरीर उनले उठाउनै सकेनन् ।

राति अबेरसम्म छोरा घर नआएपछि आमाले साजनको मोबाइलमा सम्पर्क गरिन् । तर, मोबाइल उठेन । एक्कासि राति घरको टेलिफोनमा कल आयो, ‘मणिपाल अस्पताल आउनु तपाईंको छोराको उपचार हुँदैछ ।’

साजनकी आमा हतार हतार अस्पताल पुगिन् । केही समय प्रतीक्षापछि साजनको रिपोर्ट आयो । उनको अत्यधिक चुरोट सेवन र सुईबाट लागुऔषधको प्रयोगले गर्दा होस गुमिसकेको थियो । केहीबेरमा साजन होसमा आए । उनी घर फर्किए तर सँगैसँगै एचआईभी संक्रमण बोकेर । असुरक्षित र संक्रमित सुईबाट लागूऔषध लिँदा साजन एचआईभीको शिकार भए । त्यसपछि उनको जीवनमा जवानी आएको महसुस नै हुन सकेन ।

तनहुँको अकलाकी ७३ वर्षीया राममाया नेपालीको कथा पनि धूमपानले निम्त्याएको दुर्गतिकै हो । तर, उनी आफैं भने धूमपानका अम्मली होइनन् । तैपनि उनलाई क्यान्सर जस्तो घातक रोग लाग्यो ।

‘नाकबाट श्वास फेर्न गाह्रो भएपछि म अस्पताल गएकी थिएँ’, उनले भनिन्, ‘डुम्रेको अस्पतालका डाक्टरले अब घाँटीमा प्वाल बनाउनुपर्छ भन्नुभयो । काठमाडौंसम्म उपचार गर्न जाने आँट नै आएन ।’

कमजोर आर्थिक अवस्था भएकी राममायाले बिर्सेर पनि चुरोटको एक सर्को तानेकी छैनन् । तर, आफ्नो ५० वर्षको वैवाहिक जीवनमा उनी निरन्तर श्रीमानले गर्ने अप्रत्यक्ष धूमपानको शिकार भइन् । सात वर्षअघि उनका श्रीमानको मृत्यु भयो । अहिले उनलाई पनि क्यान्सर भएको पुष्टि भएको छ ।

राममायाले कहिल्यै पनि श्रीमानले फुक्ने धुँवाले आफूलाई क्यान्सर बनाउँला भनेर सोचिनन् । ‘मलाई थाहा थिएन, उहाँले तानेको चुरोटले मलाई पनि असर गर्छ भनेर’, उनले सुनाइन्, ‘छोराछोरीले नभनेका पनि होइनन् । तर, उनीहरुको कुरामा विश्वास नै लागेन ।’

क्यान्सरको कारण अहिले उनी स्पष्टसँग बोल्न सक्दिनन्, श्वास फेर्न पनि गाह्रो हुन्छ । लामो प्रयासपछि उनले काठमाडौं आउने साहस जुटाइन् । भक्तपुर क्यान्सर अस्पतालमा जाँच गर्दा छातीको क्यान्सर पुष्टि भयो । अहिले उनी उपचारमा छन् ।

साजनको जीवन वर्बादी र राममायालाई घातक क्यान्सर हुनुमा धूमपान प्रमुख कारण बन्यो । साजनले चुरोट हुँदै सुईबाट लागुऔषधको दुर्व्यवसनसम्म पुगेर आफ्नो जीवन आफैं बर्बादीमा धकेले । राममायाका लागि उनका श्रीमानको धूमपान क्यान्सर बनेर शरीरमा गड्न पुग्यो ।

साजन र राममाया त प्रतिनिधि उदाहरणमात्रै हुन् । उनीहरु जस्ता सयौंले प्रत्यक्ष तथा अप्रत्यक्ष धूमपान र लागुऔषधको दुर्व्यसनले आइलागेका हैरानी व्यहोरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार सूर्तीजन्य पदार्थ सेवनले विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गर्छ । जसमा ७० लाख आफैंले सुर्तीजन्य पदार्थ सेवन गरेर र १० लाख अरुले उपभोग गरेको सूर्तीजन्य पदार्थका कारण ज्यान गुमाउँछन् । जसमध्ये ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका नेपाल जस्ता मुलुकहरुमा हुने गर्दछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेक्षण २०१९ ले नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशत मानिस धूमपान तथा सूर्तीजन्य पदार्थको सेवन गर्छन् । सूर्तीजन्य पदार्थको सेवनबाट नेपालमा हरेक वर्ष २७ हजार १०० जनाको मृत्यु हुन्छ । जुन नेपालमा हुने कुल मृत्युको झण्डै १५ प्रतिशत हो ।

सन् १९६४ यता करिब २५ लाख धूमपान नगर्नेहरूको ‘सेकेन्ड ह्यान्ड स्मोक’बाट मृत्यु भएको छ । ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ चुरोट, चुरोट वा हुक्काको धुवाँ हो । यदि धूमपान गर्ने व्यक्तिको वरिपरि बसेको अर्को व्यक्ति त्यो धुवाँको सम्पर्कमा आएमा ऊ दोस्रो हात धुम्रपानको शिकार हुन्छ । राममाया सेकेण्ड ह्याण्ड स्मोकिङकै शिकार भएकी हुन् । यसबारे नेपाली समाजमा जनचेतनाको अभाव देखिन्छ ।

अहिले पनि ठूला शहरका सडकपेटी हुन् वा गाउँका चौतारी र चिया पसलमा अरुको पर्वाह नगरी चुरोटको आनन्द लिनेहरुको कमी छैन । सार्वजनिक क्षेत्रमा सूर्तीजन्य र धूमपान निषेध गर्न नेपालले कानून बनाए पनि त्यसको कार्यान्वयन पक्ष निकै फितलो छ । जसले सिंगो समाजलाई नै धूमपानबाट उत्पन्न हुने स्वास्थ्य जोखिममा धकेल्दै गएको छ ।

जनचेतनाले मात्रै रोक्नसक्छ जोखिम

ललितपुर खोकनाकी सम्झना मगर पेशाले गृहिणी हुन् । उनी धूमपान गर्दिनन् । तर, सम्झनालाई अरुले धूमपान गरेको पनि मन पर्दैन ।

‘मलाई धूमपान गरेको पटक्कै मन पर्दैन’, उनले भनिन्, ‘झन सार्वजनिक ठाउँमा धूमपान गर्ने मानिसहरूलाई त समातेर पिटौं जस्तै हुन्छ ।’

आजभोलि बाटो, शहरका रेस्टुराँ, गाउँका चौतारी र जमघटहरुमा धूमपान गरेपछि औंला ठ्डयाउनेहरु क्रमशः बढ्दै गएका छन् ।

कलंकीकी जूना शर्मा पेशाले विद्यार्थी हुन् । मानिसहरुले धूमपान गरेको उनलाई फिटिक्कै मन पर्दैन । ‘चुरोटको धुवाँदेखि भित्रैबाट रिस उठ्छ’, उनी भन्छिन्, ‘बाटोमा चुरोट खाँदै हिँड्ने मानिसहरूदेखि एकदमै घीन लाग्छ । खानेलाई त बडो आनन्द हुन्छ होला, रमाइलो लाग्ला । तर, हामी नखानेलाई त्यसले कति असर पारिरहेको हुन्छ भन्ने पनि सोच्दैनन् ।’

सचेत नागरिक भन्न रुचाउने उनी बाटोमा चुरोट खाँदै हिँडिरहेका मानिसहरुलाई चुरोटको सेवनबाट हुने असरबारे बुझाउने प्रयास गर्छिन् । तर, धेरैले उनको कुरा सुन्दैनन्, कोही त उल्टै रिसाउँछन् ।

कलेज नजिकका क्याफे, रेस्टुराँ, सार्वजनिक गाडीमा असभ्य तवरमा धूमपान गर्नेहरु पनि उत्तिकै देखिन्छन् । हेर्दा सुटबुटमा टिलिक्क टल्केकाहरु पनि सार्वजनिक क्षेत्रमा वा अन्यत्र आफूले धूमपान गर्दा अरुलाई पर्ने असरको ख्याल नै नगरी धुवाँ उडाउँछन् । यसले जनस्वास्थ्य सरोकारको महत्वलाई बढाइदिएको त छ नै मानिसमा जनचेतनाको कमी पनि देखाउँछ ।

स्थानीय तहहरुले पनि सार्वजनिक स्थानमा धूमपान निषेधको नीति लिएका छन् । जसको प्रभाव अहिले विस्तारै देखिन थालेको छ । तर, सार्वजनिक स्थानमा धूमपान गर्नेहरुलाई दिइने सजाय कठोर छैन । जसका कारण मानिसहरु सजाय हुँदा पनि आफ्नो बानी त्याग्दैनन् । कानून कार्यान्वयन पक्षधरहरु पनि यही कमजोर दण्ड व्यवस्थाका कारण सार्वजनिक स्थानमा हुने धूमपान र त्यसले निम्त्याउने जोखिमलाई कम गर्न कठिन हुने बताउँछन् ।

कसरी त्याग्न सकिन्छ धूमपान ?

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रवि महत धूमपान छोड्ने मिति तोक्ने र त्यसमा अडिग रहन सके भने त्याग्न सकिने बताउँछन् ।

‘किन छोड्न चाहेको हो त्यो उल्लेख गर्ने र त्यसलाई धूमपान नछोडुञ्जेल र छाडेपछि पनि प्रत्येक दिन पढ्ने, किन धूमपान गर्नुपरेको र केले गर्दा तलतल लागेको भन्ने कुरा पनि स्पष्टसँग टिप्ने’, उनले सुझाए, ‘धूमपानको सट्टामा गर्न सकिने गतिविधिको सूची बनाउने, म धुम्रपान नगर्ने व्यक्ति हुँ भन्ने विचार राख्ने, धूमपान छोड्ने आफ्नो योजना परिवार र साथीहरुलाई सुनाउने र उनीहरुलाई यस काममा सहयोग गर्न अनुरोध गर्ने र धूमपान गर्ने परिवारका सदस्यलाई आफूसँगै छोड्न अनुरोध गर्ने ।’

आफ्नो स्वास्थ्यको हेरविचार गर्ने व्यक्तिसँग धूमपान छोड्न मद्दत गर्ने चिजहरुका बारेमा सोध्ने जस्तोः सुकुमेल मुखमा राख्ने, चुइगम खाने जस्ता काम गरेर धूमपान गर्ने बानी हटाउन सकिने डा. महतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर