रामेश्वर थापालाई निजी हेलिपोर्ट बनाउन दिने मन्त्री किरातीको निर्णयमा क्यानको विमति – Nepal Press

रामेश्वर थापालाई निजी हेलिपोर्ट बनाउन दिने मन्त्री किरातीको निर्णयमा क्यानको विमति

काठमाडौं । काभ्रेमा सिम्रिक एयरलाई हेलिपोर्ट बनाउन दिन पर्यटनमन्त्री सुदन किरातीले गरेको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमति राखेका छन् ।

प्राधिकरणले पत्र पठाएर हेलिपोर्ट बनाउनु प्राविधिक तथा कानूनविपरीत भएकोले कार्यान्वयन गर्न नसकिने बताएको छ ।

‘ऐनमा कुनै पनि विमानस्थल वा हेलिपोर्ट निजी जग्गामा निर्माण गर्न दिने कुरा परिकल्पनासमेत गरिएको छैन । विमानस्थल वा हेलिपोर्ट भनेको संवेदनशील विषय हो । विश्वभर नै सरकारी जग्गामा विमानस्थल वा हेलिपोर्ट निर्माण भएर संचालनका लागि मात्रै निजी क्षेत्रलाई दिने चलन छ,’ क्यानको पत्रमा उल्लेख छ ।

हाल प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा १५ करोड खर्च गरेर २७ वटा हेलिकोप्टर उडान तथा अवतरण हुन सक्ने गरी हेलिपोर्ट बनाइरहेको छ ।

व्यवसायी क्याप्टेन रामेश्वर थापाको निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका- १४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न मन्त्री किरातीले जेठ २२ मा सैद्धान्तिक सहमति दिएका थिए । मन्त्रीले सहमतीबारे क्यानलाई २८ गते पत्रमार्फत् जानकारी गराएको थियो ।

हिजोमात्र महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले ७ दिनको अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।

अधिकारीले भने आफूलाई क्याबिनेटले नियुक्त गरेको भन्दै विधि प्रक्रिया अनुसार गोप्यरूपमा सोध्नुपर्ने स्पष्टीकरण फेसबुकमा पोष्ट गरेकाले जवाफ नफर्काउने अडान लिएका थिए ।


प्रतिक्रिया

One thought on “रामेश्वर थापालाई निजी हेलिपोर्ट बनाउन दिने मन्त्री किरातीको निर्णयमा क्यानको विमति

  1. डिजी प्रदीप अधिकारी सरले राम्रो निर्णय गर्नु भएको छ। मन्त्री फेसबुकमा बढी काममा कम रमाउने प्रबृत्तिका भए र स्पष्टीकरण आतंकका नाइके भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *