सहुलियतपूर्ण, विपन्न वर्ग र पुनर्कर्जा कुन प्रदेशमा कति प्रतिशत ?
काठमाडौं । सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित विपन्न वर्ग कर्जा ३ खर्ब १८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । सहुलियतपूर्ण कर्जा १ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ र पुनर्कर्जा ७९ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन अर्ध वार्षिक प्रतिवेदन अनुसार ०७९ पुस मसान्तसम्म कूल विपन्न वर्ग कर्जा कोशी प्रदेशमा १४.२ प्रतिशत, मधेश प्रदेशमा ९.० प्रतिशत, बागमती प्रदेशमा ४७.९ प्रतिशत, गण्डकी प्रदेशमा ११.३ प्रतिशत, लुम्बिनी प्रदेशमा १२.६ प्रतिशत, कर्णाली प्रदेशमा १.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.६ प्रतिशत कर्जा प्रवाहित भएको छ ।
त्यस्तै, ०७९ पुस मसान्तसम्ममा १ खर्ब ९७ अर्ब ८३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । कुल सहुलियतपूर्ण कर्जा कोशी प्रदेशमा १६.८ प्रतिशत, मधेश प्रदेशमा ११.१ प्रतिशत, बागमती प्रदेशमा ३५.७ प्रतिशत, गण्डकी प्रदेशमा १३.९ प्रतिशत, लुम्बिनी प्रदेशमा १५.६ प्रतिशत, कर्णाली प्रदेशमा १.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५.३ प्रतिशत बक्यौता रहेको छ ।
त्यसैगरी, ०७९ पुस मसान्तमा बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा ७९ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको छ । कुल पुनरकर्जा बागमती प्रदेशमा सबैभन्दा बढी ५६.७ प्रतिशत रहेको छ । भने, कर्णाली प्रदेशमा सबैभन्दा कम ०.७ प्रतिशत उपयोग भएको छ ।