होटल व्यवस्थापनमा मोर्गन कलेजका विद्यार्थी लगातार तेस्रो पटक युनिभर्सिटी बोर्ड फर्स्ट
काठमाडौं । मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा होटल व्यवस्थापन अध्ययन गरेका विद्यार्थी विश्वविद्यालयको परीक्षामा लगातार तेस्रो पटक बोर्ड फर्स्ट भएका छन् ।
स्नातक तहको होटल व्यवस्थापन विषयको पहिलो सेमेस्टरमा साइमा अन्सारी युनिभर्सिटी बोर्ड फर्स्ट भएकी हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयले होटल व्यवस्थापनमा २०७८ ब्याचमा भर्ना भएका पहिलो सेमेस्टरका विद्यार्थीको नतिजा केही दिनअघि सार्वजनिक गरेको थियो ।
विश्वविद्यालयको नतिजाअनुसार, मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थी साइमा अन्सारी बीएचएम प्रथम सेमेस्टरमा ३।७९ जिपिएसहित बोर्ड परीक्षामा विश्वविद्यालय प्रथम भएकी हुन् । अन्सारीले कक्षा ११ र १२ पनि मोर्गन कलेजमै अध्ययन गरेकी थिइन् ।
यसअघि २०७७ ब्याचको होटल व्यवस्थापनको बोर्ड परीक्षामा पनि मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थी उत्कृष्ट भएका थिए ।
उक्त ब्याचको दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा मोर्गन कलेजका विद्यार्थी नै प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कलेजका होटल व्यवस्थापन विभाग प्रमुख राहुल बुढाथोकीले जानकारी दिए ।
त्यस बेला मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजकी विद्यार्थी एकता चौलागाईं दोस्रो सेमेस्टरमा ३.८८ जिपिएसहित बोर्ड फर्स्ट भएकी थिइन् । त्यसै गरी, कृतिका खड्काले ३.७९ जिपिएसहित बोर्ड परीक्षामा दोस्रो स्थान र कृपेश अधिकारीले ३.७५ जिपिएसहित तेस्रो स्थान हासिल गरेका थिए ।
त्यसअघि २०७६ ब्याचमा पनि उनै एकता चौलागाईंले होटल व्यवस्थापनको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा विश्वविद्यालय बोर्ड फर्स्ट भएको विभागीय प्रमुख बुढाथोकीले जानकारी दिए । चौलागाईं ३.८८ जिपिएसहित बोर्ड फर्स्ट भएकी थिइन् ।
विद्यार्थीहरूलाई व्यवहारिक सिकाइमा विशेष ध्यान दिइने भएकोले मोर्गन कलेजले लगातार उत्कृष्ट नतिजा हासिल गरिरहेको बुढाथोकीले बताए ।
कलेजले गत साता मात्रै आफ्ना विद्यार्थीलाई जापानमा इन्टर्नसीप गराउनको लागि जापनिज कम्पनी आइम्याक इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ ।