मध्यअसारसम्म लुम्बिनीको सवा ३ लाख हेक्टर जमिनमध्ये ११ प्रतिशतमात्रै रोपाइँ – Nepal Press

मध्यअसारसम्म लुम्बिनीको सवा ३ लाख हेक्टर जमिनमध्ये ११ प्रतिशतमात्रै रोपाइँ

मलको अभाव उस्तै

रुपन्देही । समयमै पानी नपरेका कारण लुम्बिनी प्रदेशमा मध्यअसारसम्म जम्मा ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । मुख्य धान खेती हुने प्रदेशका तराईका जिल्ला बर्दिया, कपिलवस्तु, बाँके, रुपन्देही, दाङ, पश्चिमनवलपरासीमा रोपाइँ नै हुन सकेको छैन भने पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुमपूर्वमा पनि गतवर्षको भन्दा निकै कम प्रतिशत रोपाइँ भएको हो ।

पडाही जिल्लामा सबैभन्दा धेरै प्यूठानमा ८० प्रतिशत रोपाइँ भएको छ भने रुकुमपूर्वमा ६०, रोल्पामा ४५, पाल्पामा १०, अर्घाखाँचीमा १० र गुल्मीमा ८ प्रतिशतमात्रै रोपाइँ भएको कृषि मन्त्रालय लुम्बिनीका प्रवक्ता अनिल मरासिनीले जानकारी दिएका छन् ।

त्यसैगरी तराईका जिल्लामध्ये बाँकेमा १३ नवलपरासीमा १२, बर्दियामा १०, रुपन्देहीमा ८, दाङमा ८, कपिलवस्तुमा ६ प्रतिशतमात्र रोपाइँ भएको छ । लुम्बिनीमा ३११०४२ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा अहिलेसम्म ३४,४८३ हेक्टरमा मात्र रोपाइँ हुन सकेको हो । यो तथ्यांक असार १३ गतेसम्मको हो ।

समयमा पानी नपर्दा मानो रोपेर मुरी उब्जनी गर्नुपर्ने असार महिनामा किसानलाई चिन्तित बनाएको छ । समयमा मनसुन सक्रिय नहुँदा तराईका खेत मध्यअसारसम्म बाँझैजस्तो रहेको हो । पानी नपरेका कारण किसान बाँझो खेत हेरेर बस्नुपरेको हो । पानीको अभावमा किसानहरुले खेत रोपाइँ गर्न पाएका छैनन् । खेत–खेतमा ब्यस्त हुनुपर्ने समय असारमा किसानहरु फुर्सदिला बनेका छन् । यस्तै फर्सदिला बनेका मध्येका एक किसान हुन रुपन्देहीको मर्चवारका सविर धुनिया । उनको मर्चवारमा ५० कठ्ठा खेत छ । मध्यअसार लागिसक्दा पनि पानी नपरेका कारण धुनियाले आफ्नो खेतमा धान रोप्न पाएका छैनन् ।

‘पानी परेको छैन जमिनमा पानी छैन बोरिङ्गबाट पानी निकाल्नका लागि पनि जमिन धेरै गहिरो खन्नुपर्ने बोरिङ्गबाट पनि भनेजस्तो पानी निस्किएको छैन’, उनले भने ।

सिँचाइकै कारण विगत ३ वर्षदेखि धान उत्पादनमा समेत कमी हुँदै आएको धुनियाले बताए ।

सविर धुनियाले मात्रै होइन मर्चवारकै भारथ यादवले समेत आकाशबाट पानी नपर्दा रोपाइँ गर्न पाएका छैनन् । यादवको मर्चवारमा २ बिगाह खेत छ । आकाशबाट पानी नपरेकै कारण उनले पनि समयमै रोपाइँ गर्न सकेका छैनन् । समयमै आकाशबाट पानी नपर्दा रोपाइँ गर्न नपाएको उनले बताए ।

गतसाल यो समयमा मर्चबारका किसानहरूलाई खेतमा काम गर्न भ्याइनभ्याई हुन्थ्यो केही किसानहरुले त रोपाइँ गरेर पनि सकिसकेका थिए । विगतमा असार मासमा बोल्नेसम्म फुर्सद नपाउने किसान अहिले पानी नपर्दा फुर्सदिला बनेको भारथ यादव सुनाउँछन् ।

‘प्रशस्त सिँचाइ सुविधा छैन आकाशबाट पानी परेपछि मात्र खेत रोप्न सुरू गर्ने हो’, उनले भने ।

आकाशे खेतीको भरमा रहेका किसान त अझ बढी चिन्तित छन् । मर्चवारका राजेन्द्र अहिर कतिबेला पानी पर्ला र रोपाइँ गरौला भनेर आकाशतिरै मात्र हेर्ने गरेको बताउँछन् । मर्चवारमा बोरिङ्गको पानीसमेत निस्किन छाडेको उनले बताए ।

रोपाइँका लागि खेत जोतेर तयारी अवस्थामा राखेपनि पानी अभावमा सुक्न थालेको छ । ब्याडमा धानभन्दा ठूलो झार उम्रेको छ । सुख्खाले बीउ ब्याडमै सुक्ने किसानको चिन्ता बढेको छ ।

रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ८० हजार हेक्टरमा धान खेती हुन्छ । गत वर्ष यतिबेलासम्म ८० प्रतिशत रोपाइँ भइसकेकोमा अहिले करिब ६ प्रतिशतमात्र छ । यहाँ उत्पादित धान बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले यसपटक समयमै पानी नपरेको र आकाशे खेतीमा भरपर्नुपरेकाले रोपाइँ हुन नसकेको बताएका छन् । अर्घाखाँचीमा अब पानी परेकाले केही दिनमा रोपाइँको प्रतिशत बढ्ने उनको भनाइ छ ।

मलको अभाव उस्तै

किसानका मलको अभावले पनि अझ बढी चिन्ता थपेको छ । यो पुरानै रोग हो । धान रोप्नुभन्दा पहिला राख्ने डीएपी मल अभाव छ । लुम्बिनीमा हाल कृषि सामग्री कम्पनी लिमिडेट र साल्ट टेड्रिङ्ग कम्पनी लिमिटेड गरी दुई वटा सरकाराी निकायले अनुदानको मल वितरण गर्दै आएका छन् ।

भैरहवास्थित प्रादेशिक कार्यालय कृषि सामग्री लिमिटेडका अधिकृत गणेश घिमिरेले ४ सय मेट्रिक टनमात्रै डीएपी मल मौज्दात रहेको बताए । जुन लुम्बिनी प्रदेका साथै कर्णालीको केही जिल्ला, गण्डकी प्रदेशका नवलपुर, स्याङ्जा जिल्लाको लागि समेत हो ।

उनी भन्छन्, ‘सरकारले नै खरिद गरेर कुल खरिदको २०.५५ प्रतिशत मल भैरहवा कार्यालयलाई पठाउने गर्दछ् ।’

डीएपीको माग रहेको बेला करिब ८ सय मेट्रिक टन युरिया स्टकमा छ । साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेट भैरहवा कार्यालयमा बल्ल मल आएको छ । उक्त कार्यालयले पनि कोटाअनुसार नै मलको वितरण गर्दै आएको छ । जिल्लामा भएको कृषि ज्ञान केन्द्रको समन्वयमा पालिकाअनुसार निश्चित कोटा मल निर्धारण गरी सहकारीमार्फत मल किसानले खरिद गरी प्रयोग गर्दै आएका छन् ।

प्रदेशमा वार्षिकरूपमा २ लाख मेट्रिक टन मल आवश्यक छ । तर, सरकारले भने ८ सय मेट्रिक टन मल दिएर किसानलाई थम्थमाउँदै आएको छ । लुम्बिनी प्रदेशमा हाल १ लाख मेट्रिक टन युरिया मल, ७० हजार मेट्रिक टन डीएपी १० हजार मेट्रिक टन पोटास आवश्यक छ । रुपन्देही जिल्लामा भने पालिकाअनुसार कोटा निर्धारण गरी मल वितरण गरिएको छ । यस्तै कर्णाली प्रदेशमा १ हजार ५ सय ३० मेट्रिक सुदूरपश्चिममा ११ हजार २ सय मेट्रिक टन मल आवश्यक छ ।

कृषि विज्ञ सुभाषराज उपाध्यायले समयमा मल नपाउँदा उत्पादनमा ५० प्रतिशतसम्म ह्रास आउनसक्ने बताउँछन् । दाङ र बाँके जिल्लामा मकैको बीउमा गरिएको अनुसन्धानमा समयमा नै मल उपलब्ध भएको मकैमा ५० प्रतिशत बढी उत्पादन वृद्धि भएको र समयमा नै मल उपलब्ध नभएको मकैमा उत्पादनमा आधा ह्रास आएको बताए । खाद्यान्न बाली र बीउ उत्पादनको लागि उपयुक्त समयमा उपयुक्त मल आवश्यक पर्ने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर