राजेन्द्रलाई हिक्मतको आग्रह- एमालेमा तपाईँको आवश्यकता छ, आउनुस् अँगालो मारेर काम गर्ने वातावरण बनाउँछु (भिडिओ)
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईलाई एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका विषयमा जवाफ दिने क्रमममा उनले मिलेर जान आग्रह गरेका हुन् ।
बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा बोल्दै राईले एमालेले आफूहरूलाई नचाहिँदा बेवास्ता गर्ने र चाहिँदा मात्रै खोज्ने गरेको बताएका थिए ।
उनले भनेका थिए, ‘एमालेले कमीकमजोरी सच्याएर जान खोजे समर्थन गर्न तयार छौँ । तर, सच्चिनुपर्यो हामी एमालेसँग पार्टी एकता नै गर्न तयार छौँ । सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ । त्यही पार्टीकै झण्डा उठाएर ढुंगामुढा गरेको देखिन्छ । त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन । बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन् । तर, त्यो पार्टी हामीलाई छाड्न मनै थिएन ।’
विद्यार्थी राजनीतिमा लामो समय सँगै बसेर काम गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘म पनि उहाँलाई छाती खोलेर अँगालो मारेर एमालेमा स्वागत गर्न चाहन्छु । आउनुस् राजेन्द्र जी, नेकपा एमाले निर्माणमा यहाँको ठूलो भूमिका छ । हामी विद्यार्थीकालमा कैयौंपटक सँगै कुटिएका छौं पक्राउ खाएका छौं । लडेका छौं । अहिले पनि एमालेभित्र तपाईँको आवश्यकता छ । अंकमाल गरेर म एमालेको नेताको हिसाबले पार्टीमा काम गर्ने वातावरण बनाउने छु । त्यसक्रममा कहीँ अवरोध आयो भने मिलेर सामना गरौंला ।’