चितवन एयरपोर्टमा केपी-रविको भेट: माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे साथ (भिडिओ)
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच जम्काभेट भएको छ । चितवनको भरतपुर विमानस्थलमा ओर्लने क्रममा ओली र रविबीच जम्काभेट भएको रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराले बताए ।
भेटमा आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनमा आफूले केरा र माछा आत्मनिर्भर बन्ने प्रयास गरेको ओलीलाई रविले बताए ।
रविले ओलीलाई भने, ‘माछा र केरा चाहिँ बाहिरबाट ल्याउन पाइँदैन भनेर अभियान सुरु भएको छ । क्रमशः हामी बढाउँदै जान्छौं । सुरुवात त गर्नुपर्यो नि !’
उनले आफ्नो अभियानलाई साथ दिन ओलीलाई आग्रहसमेत गरे । रविको आग्रहपछि ओलीले हुन्छ भन्दै जवाफ फर्काएका थिए ।
राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका ओलीले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताउँदै आएका छन् ।