एनएमबी बैंकले किसानलाई विनाधितो अनलाइनबाट ऋण दिने – Nepal Press

एनएमबी बैंकले किसानलाई विनाधितो अनलाइनबाट ऋण दिने

काठमाडौं । एनएमबी बैंकले किसानलाई विनाधितो अनलाइनबाट ऋण दिने भएको छ ।

एनएमबी बैंक र डिजिटल माध्यम ‘खेती एप’ बीच किसानलाई विनाधितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र ‘खेती एप’का सह-संस्थापक तथा निर्देशक तुलसी गिरीले शुक्रबार किसानलाई अनलाइनबाट कर्जा दिने सम्झौता गरेका हुन् ।

बैंकले धान दिवसमा नेपालमा पहिलो पटक डिजिटल कर्जा योजना ल्याएको छ । किसानले कर्जा लिन खेती एपको प्रक्रियामार्फत जानुपर्नेछ । सम्झौतासँगै किसानहरुमा सहजै कर्जाको पहुँच पुग्ने एनएमबी बैंकका डेपुटी सीईओ गोविन्द घिमिरेले बताए ।

बैंकले योजनाअन्तर्गत विनाधितो डिजिटल कर्जा दिनेछ । जसमा किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । कर्जाको न्यूनतम अवधि ३ महिनाको हुने जनाइएको छ । कर्जा लिन किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने प्रावधान रहेको छ ।

बैंकका अनुसार किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गरिनेछ । जसमा ‘खेती’ एपले प्रयोगकर्ताको क्रियाकलापहरुको आधारमा छनोट गर्दछ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ । निकट भविष्यमा सातै प्रदेशमा पुर्‍याइने बैंकले बताएको छ ।

त्यस्तै पछिल्लो एक वर्षदेखि खेती एपमा आवद्ध किसान यस्तो कर्जा लिन योग्य हुनेछन् । कर्जालाई ३ किसिममा वर्गीकरण गरिएको छ । प्लाटिनम, गोल्डेन र सिल्भर । कर्जाको वर्गीकरणको आधारमा कर्जा पाउनेछन् ।

कुनै किसानले लिएको कर्जा साँवा वा ब्याज भुक्तानी नगरेका कालोसूचीमा राखी भविष्यमा कर्जाको लागि अयोग्य मानिने बैंकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर