अर्थमन्त्री महतको गुनासो- काम भन्दा कुरो विक्छ, कांग्रेसले गरेका काम टिकटकमा देखाउँदैनन्
पोखरा । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस हरेक दिन जनता तथा कार्यकर्ताको समस्यामा जोडिराखेको बताएका छन्।
प्रेस युनियन कास्की शनिवार पोखरामा गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले कांग्रेसले गरेका काम टिकटकमा राखेर देखाउने नगरेको बताएका हुन् ।
‘कांग्रेस हरेक दिन जनता तथा कार्यकर्ताको केही न केही समस्यामा जोडिराखेका हुन्छौँ, अस्पताल लिएर जान्छौँ, कसैलाई कार्यालयमा समस्या प¥यो, सँगै लिएर जान्छौँ,’ उनले भने, ‘हामीले टिकटकमा राखेर देखाउँदैनौँ । हामी भिडियोसँगसँगै गएर खिचेर मैले यसो गरेर भनेर देखाउने प्रचलन नै होइन, त्यो हाम्रो गर्नुपर्ने काम हो ।’
कांग्रेस धेरै काम गरिरहेको अर्थमन्त्री महतले जिकिर गरे ।
‘हामी तमाम काम गरिरहेका छौँ, अरूले तिललाई पहाड बनाएर देखाइराखेका छन्, हामी पहाड बराबर काम पनि नदेखाएर उल्टो कतिपय अवस्थामा आलोचना गरेर यस्तो हुनुपर्यो, त्यस्तो हुनुपर्यो भन्छौँ,’ अर्थमन्त्री महतले भने ।
गठबन्धन फेरिने कुरा अफवाह मात्रै रहेको अर्थमन्त्री महतले सुनाए । ‘संसदमा सबै दलको सबैसँग भेट भइराखेको हुन्छ । त्यसकै आधारमा गठबन्धन नै फेरिन थाल्यो भन्ने अफवाह वा भ्रम छ त्यो भ्रम नै हो । त्यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘गठबन्धन अगाडि बढ्छ काम गरिराखेको छ । सुशासन दिने, आर्थिक वृद्धि गर्ने, देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने यही उद्देश्यका साथ काम गरिराखेका छौँ, यो अगाडि बढ्छ ।’