अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो : अध्यक्ष तिमिल्सिना (भिडिओ)
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदीय मामिला हेर्ने पत्रकारहरूले एउटै विधेयकहरू संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउने लगायतका विषयहरूमा कलम चलाउन नसकेको गुनासो गरे ।
उनले विधेयकहरू बारम्बार शून्यमा झर्दा आम नागरिकहरूलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे ।
अध्यक्ष तिमिल्सिनाले पत्रकारहरूले विधेयक ल्याउन भइरहेको ढिलासुस्तीमा दबाब दिन सके विधेयकहरू समयमा नै आउने बताए ।