‘कांग्रेसमाथिको भ्रष्टाचारी संरक्षक, राष्ट्रियतामा कमजोर आरोप व्यवहारबाटै खण्डन गरौँ’ (भिडिओ)
गगन थापा भन्छन्- कांग्रेसको टिकट वितरण प्रणाली नफेर्ने हो भने दाइले भाउजूलाई नै दिने हुन्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसप्रति लागेका सत्ता लिप्सा, भ्रष्टाचारीको संरक्षक र राष्ट्रियतामा कमजोर भन्ने आरोपहरूलाई अब व्यवहारबाटै खण्डन गर्न जरुरी भएको बताएका छन् ।
दोलखामा शनिवार आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस यही अवस्थाबाट २०८४ को चुनाव सामना गर्न सक्षम नरहेको भन्दै नीति महाधिवेशनबाट लिखित रूपमै केही प्रतिबद्धता गर्नै पर्ने बाध्यता रहेको बताए ।
महामन्त्री थापाले भने– कांग्रेसबारे एउटाले भन्छ यो सरकारको लागि जे पनि गर्छ । अर्को कोणबाट अर्कोले भन्छ भ्रष्टाचारमा लिप्त भएका मानिसलाई पनि यसले संरक्षण गर्छ । अर्कोतिर गएर भन्छ यसले आफ्ना आसेपासेको बारेमा मात्र चिन्ता गर्छ,हाम्रो भविष्यको बारे चिन्ता गर्दैन ।अर्को कोणबाट यसले राष्ट्रियताको पक्षमा दह्रो खुट्टा टेकेर जोगाउँछ जस्तो लाग्दैन । यदि मान्छेले यस्तो देख्छ भने र यो समस्या हो भने समाधान पनि यहीँ खोज्नुपर्छ ।
महामन्त्री थापाले कांग्रेसमाथि लागेका यस्ता आरोपको समाधान खोज्न एक्लै चुनाव लड्ने क्षमता चाहिने बताए ।
उनले चुनावअघिको गठबन्धनले कांग्रेसलाई ठूलो क्षति भएको र मतदाताको आकर्षण घटेको बताए ।
थापाले कांग्रेसको टिकट बाँड्ने प्रणालीमा पनि परिवर्तन आवश्यक रहेको भन्दै दाइलाई जिम्मा दिँदा भाउजूलाई छान्ने गरेको बताए ।