६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक – Nepal Press

६ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक

काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो ।

सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।

बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार आठ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए ।

यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुईसय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सातसय ७३ र मेमा ७७ हजार सातसय तीन विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।

जुन महिनामा  नेपाल भित्रिएका पर्यटकहरुमध्ये सबैभन्दा बढी भारतबाट ३८ हजार ८४५ रहेका छन् भने, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बंगलादेशबाट २ हजार ४०२, यूकेबाट १ हजार ९९२, मलेसियाबाट १ हजार ७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ पर्यटक नेपाल भित्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर