सरकारको गैरजिम्मेवारीपनले सदन रोकियो: एमाले
रुपन्देही । नेकपा एमालेले सरकारको गैरजिम्मेवारी व्यवहारले लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको जनाएको छ ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बलमिच्याइँ गर्दै सरकार अघि बढेको बेला सदन स्थगित हुन पुगेको र यसको जिम्मेवार प्रदेश सरकार रहेको जिकिर गरेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने, विगत सरकारले सञ्चालन गरेका क्रमागत योजनाहरु कटौती गर्ने, बहुवर्षीय योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ थोरै बजेटको व्यवस्था गर्ने र सरकारको सम्पूर्ण ध्यान संघीयताको मर्म र भावनालाई कमजोर बनाउन उद्यत रहिरहेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले बारम्बार संवादको लागि कोसिस गर्दा समेत बलमिच्याइँ गर्दै जनविरोधी कार्यमा सरकार अघि बढ्न खोजेकाले आइतबारको सदन स्थगित हुन पुगेको उनले जनाएका छन् ।
‘एमाले सहमति र सहकार्यको पक्षमा सधैं अडिग रहँदै आएको छ । तर, सरकार एकलकाँटे, संविधानको मर्म र भावनाका विरुद्धमा एकपछि अर्को निर्णय गर्दै अघि बढिरहेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ,‘ तसर्थ सभा स्थगित हुनुमा प्रदेश सरकार नै जिम्मेवार रहेको कुरा यसै बक्तव्यमार्फत सम्पूर्ण प्रदेशवासीमा जानकारी गराउँदछौं ।’