सीमामा दुई केजी सुन पक्राउ प्रकरण : बुटवलका दुई सुनचाँदी पसलको संलग्नता
रुपन्देही । रुपन्देहीबाट भारत लैजाँदै गरेको साढे २ केजी सुन बुटवलकै सुन पसलको संलग्नता भेटिएको छ ।
असार १० गते रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको साढे २ केजी सुन प्रकरणमा बुटवल अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको संलग्नता देखिएपछि प्रहरीले ती पसल शील गरेर अनुसन्धान अगाडि बढाएको छ ।
सशस्त्र प्रहरीले करिब साढे २ केजी सुन इँटा आकारमा लैजाँदै गर्दा कालिदह नाकाबाट बरामद गरेको थियो।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरूका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।
अहिले बालाजी र लक्ष्मीपति सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले बताए ।
‘दुवै पसललाई सिल गरी अनुसन्धान भइरहेको छ। यसबारे अरू अहिले बताउन मिल्दैन। पछि यसबारे जानकारी आउँछ’, उनले भने।
बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र रिजाल हुन् भने लक्ष्मीपति सुनचाँदी पसलकी सञ्चालक उनकी श्रीमती हुन्।
सुनसहित पक्राउ परेका दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको र त्यही अनुसन्धानबाट बालाजी सुनचाँदी पसल पनि संलग्नता देखिएको पसल सिल गरेको उनले बताए।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, डण्डाको टोलीले असार १० गते १ केजी ९६५।३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो।
करिब २ करोड मूल्यको बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधानअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको थियो ।
बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो।
सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी भए व्यवसायीलाई कानुनअनुसार कारबाही हुनुपर्ने स्पष्ट अडान रहेको बताए ।
प्रहरी भन्सार अनुसन्धानमै होला, विषय मैले पनि सुनेको छु, गलत गर्ने व्यवसायीलाई हाम्रो संरक्षण हुनेछैन, एक जनाले गलत गर्दा सिंगो व्यवसायलाई दोष लाग्छ’– उनले भने ।