नागरिकता वितरणमा गलत अभ्यास : भैरहवामा एक जनाको नागरिकता खोसियो, बुटवलमा २ जना पक्राउ – Nepal Press

नागरिकता वितरणमा गलत अभ्यास : भैरहवामा एक जनाको नागरिकता खोसियो, बुटवलमा २ जना पक्राउ

रुपन्देही । नयाँ कानुन अनुसार नागरिकता वितरणका लागि वडाबाटै गलत व्यक्तिको नाम सिफारिस भएर नागरिकता लिएको खुलेपछि रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाबाट एक जनालाई दिएको नागरिकता फिर्ता गरेर अनुसन्धान थालिएको छ भने बुटवलमा गलत सिफारिस गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

सिनपा वडा नं ३ बाट यो कानुन अनुसार पहिलो दिनमै सोही वडाका १९ वर्षीय अस्ताक अहमतले नागरिकता लिँदा उनले बाबुको नाम आजम मुलसमान र आमाको नाम सबिरुन निसा रहेको छ । तर उनले राखेको विवरण झुटो भएको सूचना जिल्ला प्रशासनले पाएपछि नागरिक लिएको अर्को दिन नै उनको नागरिकता खोसेर अनुसन्धान थालेको छ ।

प्रशासनले नागरिकता खिचेर अनुसन्धान थालेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जनाएका छन् । उनलाई नागरिकताका लागि सिफारिस दिएका सो वडाका वडाध्यक्ष नारायणप्रसाद उपाध्यायले परिवारले नै झुक्काएर जालझेल गरेर सिफारिस लिएर नागरिकता लिएको सूचना पाएपछि आफै जिल्ला प्रशासनमा निवेदन दिएर नागरिकता खिच्न लगाएको बताएका छन् ।

‘उनीहरुको ०६३ साल पहिलेकै जालझेल रहेछ, कागजी रूपमा मिलाएका रहेछन्, दिदी सासूलाई श्रीमती बनाएर आजम मुसलमानले छोरालाई नागरिकताको सिफारिस गरेको देखिन्छ, जनप्रतिनिधिलाई नै समस्या भयो, अब सर्जमिन नगरी सिफारिस नै नगर्ने निर्णयमा पुगेँ म त एकजनाले गलत नियत बनाउँदा अरूलाई पनि समस्या भयो’, उनले भने ।

यसैगरी आफ्नै सन्तान भनेर झुटा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा इलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पत्तीलाई नियन्त्रणमा लिइएको छ ।

बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सिता कशौधनको दम्पत्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरूले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनी विवरण पेश गर्दै नागरिकता दिने प्रयास गरेका थिए ।

नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार उपस्थित भएका उनीहरूलाई गोप्य सूचनाका आधारमा झुटा विवरण पेश गरेको थाहा भएपछि नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगिएको थियो ।

इलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गर्दा उनीहरूले अर्कैका छोराछोरीलाई आफ्नो भनी नागरिकता दिने प्रयास गरेको भेटिएको प्रतिवेदनसहित इलाका प्रशासन कार्यालयलाई प्राप्त भएको सूचना अधिकारी ज्ञवालीले बताए ।

उनीहरूलाई झुटा विवरण बनाएर नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगर वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतको समेत संलग्नता देखिएको आशंका गरिएको छ ।

अर्कैका छोराछोरीलाई आरोपित रमेश कशौधनको छोराछोरी भनी सिफारिस गर्ने वडाअध्यक्ष बस्नेतलाई भने नियन्त्रणमा लिइएको छैन । वडा अध्यक्ष बस्नेतले उनीहरुको नाता सम्बन्धबारे जानकार हुँदाहुँदै पनि गलत नियत राखेर नागरिकता प्रदान गर्नका लागि झुटा विवरणमा सहयोग गरेको स्रोतको दाबी छ । यो विषयमा कुरा गर्न वडाध्यक्ष बस्नेतसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहँदैनन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले सिद्धार्थनगर वडा नं ३ को विषयमा अनुसन्धान भइरहेको र बुटवलको वडा नं १ को विषयमा इलाका प्रशासनबाट फाइल मगाउने तयारी भइरहेको बताए ।

उनले वडाबाट गलत सिफारिस भएकै कारण यस्तो भएको बताए । जिल्ला प्रशासनले नागरिकता सिफारिसका लागि सबै पालिकाका अध्यक्ष तथा वडाध्यक्षलाई गलत सिफारिस नगर्न र त्यो भएमा कारबाही भोग्न तयार हुनुपर्ने विषयमा पहिले नै सचेत गराएको छ ।

सर्वोच्चबाट यो कानुन अनुसार नागरिकता दिने बाटो खुला भएसँगै गृह मन्त्रालयको परिपत्रपछि जिल्ला प्रशासनले जिल्लाका सबै पालिका प्रमुख तथा वडाध्यक्षहरूको भेला गरेर नै यो सन्देश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर