लोकप्रियतावादी दूषित हावाहुरी चलिरहेको बेला पढेर के हुन्छ ?
विद्धताको जीवन-मूल्य, विद्याको तृष्णा कि तिरस्कार ?
काठमाडौं । पौरत्स्य दर्शन, सभ्यता, संस्कृति र वाङ्मयका दृष्टिले नेपालीहरू वैभवशाली र गौरवशाली दुवै छौँ । किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन, लोकायत दर्शन, वेदान्त दर्शन लगायतका हाम्रा दार्शनिक वैभवहरू विश्व मानचित्रमा आजपर्यन्त उत्तिकै ख्यातिप्राप्त र महत्तम् प्रकृतिका छन् ।
सभ्यता र शक्तिको केन्द्र पूर्वबाट पश्चिमतर्फ स्थान्तरण हुनुपूर्व हाम्रो प्राच्यविद्याको सामर्थ्य र बहस घनिभूत थियो । तर, वर्तमानमा विद्याको सर्वमान्य प्रधानतालाई सुविचारित बेवास्ता गरिरहेको अनुभूत हुन्छ ।
कोभिड महामारीको चुनौतीपूर्ण त्रासबाट मुक्त हुन, अध्ययनलाई जीवनसंस्कृतिका रूपमा पुनःजागृत गर्न, चुनौतीलाई अवसरमा बदल्ने सिद्धान्तको व्यवहारिक प्रयोजनार्थ हामीले वैचारिक स्कूलको आरम्भ गर्यौँ । अध्ययनको तत्परता हुँदाहुँदै पनि मृतप्रायः अध्ययन संस्कृतिको गुरूत्वबाट थिचिएका पुस्तकहरू खोलिए । विद्यानुरागीहरूका बीच सघन अन्तरक्रियाको वातावरण बन्यो । यो आफैंमा उत्साहजनक र प्रेरणादायीसमेत रह्यो ।
तर, कतिपय सन्दर्भमा अनपेक्षित प्रश्नहरूको सामना गर्नुपर्यो । जसलाई हामीले अग्रजका रूपमा दिशानिर्देशका रूपमा सम्बोधित गथ्र्यौं, तिनीहरूमध्येका कतिपयमा ज्ञान र अध्ययनप्रति अरूचि मात्र नभएर असहिष्णु व्यवहार प्रदर्शित हुन्थ्यो ।
उनीहरू सीधा प्रश्न गर्थे– किताब पढेर के हुन्छ, किन पढ्ने, यसको प्रयोग कहाँ–कसरी हुन्छ ? आदित्यादि । हाम्रो तीतो अनुभूति रह्यो– कतिपय मानिसहरू ज्ञानको सारतत्व ग्रहणार्थ नभई सामाजिक आडम्बरका निम्तिसमेत अध्ययनप्रति औपचारिक ऐक्यवद्धता जाहेर गर्दछन् । कतिमा यथाभूतज्ञानको आत्मचिन्तन प्रकट हुन्छ ।
देशभरीमा ७०–८० लाख विद्यार्थीहरू नियमित स्कुल/कलेज जान्छन् । प्राच्यविद्या भन्छ– स्रृष्टिसँगै मान्छेको सिकाइ प्रक्रिया सुरू हुन्छ । हामी आफ्ना छोराछोरी, दिदीबहिनी, भाइभतिजलाई पढ्नका लागि प्रेरित गरिरहेका मात्र हुँदैन, बेलाबखत उनीहरूको अध्ययन प्रगतिबारे असन्तुष्टिपूर्ण प्रतिक्रियासमेत जनाइरहेका हुन्छौँ ।
तर, जसलाई अध्ययनका लागि अभिप्रेरित गर्छौं, अध्ययन जीवनको अनिवार्य कर्म भन्छौँ, हाम्रो आफ्नै कर्म चाहिँ कस्तो हुनुपर्ला ? के हामीले आफ्नो अध्ययनको जीवनदर्शन बिना विद्यार्थीका निम्ति पथप्रदर्शक बन्न सक्छौँ ? हाम्रो शब्द र कर्मबीच एकत्वबिना सभ्य, शिक्षित र सुसंस्कृत उत्तराधिकारी निर्माणको कार्यभार पूरा गर्न सक्छौँ ? यो प्रश्न तिरस्कारपूर्वक पन्छाइनु हुँदैन ।
आद्यदर्शन, इतिहास र हाम्रा वाङ्मयहरूमा ज्ञान–विद्याबारे विहङ्गम अध्ययन÷बहस भएको पाइन्छ । चाणक्य (इशापूर्व ३७५–२८३) ले ‘ज्ञानभन्दा ठूलो अर्को गुरू नभएको र धन नहुँदैमा कसैलाई निर्धन मान्न नसकिने’ भन्दै ज्ञानको महत्वलाई शीर्षस्थान दिएका थिए । अत्यधिक लोभ पतनको प्रमुख कारण बताएका उनले दीर्घमार्गको दिग्दर्शन गरेको पाइन्छ ।
संस्कृत वाङ्मयमा विद्याको महत्व सर्वोपरि राखिएको छ । ऐतिहासिक भौतिकवादी दृष्टिले मानव जीवनको सर्वाधिक महत्वको विषय उत्पादन पद्धति हो, यद्यपि यसले ज्ञानको महत्वलाई अवमूल्यन गर्दैन ।
न चौरहार्यं न च राजहार्यं,
न भ्रातृभाज्यम् न च भारकारी ।
व्यये कृते बर्धत एवं नित्यम्,
विद्याधनम् सर्वधनः प्रधानम् ।।
अर्थात्,
चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशवण्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो । तसर्थ, सम्पूर्ण धनमध्ये विद्याधन प्रधान हो ।
यद्यपी, पूर्वीय दर्शन र साहित्यमा विद्याधनको अर्थ कोरा ज्ञानार्जन मात्र नभएर विघ्नबाधामा जुक्तिपूर्ण समाधानको कुरा गरिएको छ । अकबर र वीरवलका कथाको लोकप्रियताले बुद्धिविलासका निम्ति नभएर ज्ञानको विविधता र व्यापक अभिव्यक्तिका साथ जीवनमुखी समाधानको वकालत गरेको पाइन्छ ।
पूँजीवादको तीव्र विकासको परिप्रेक्ष्यमा शीघ्रातीशीघ्र प्रतिफलको अपेक्षा स्वाभाविक मान्ने गरिएको छ, जसले ज्ञान, साधना, कर्तव्यबोध, निरन्तर प्रयासजस्ता ज्ञानसाधनाको अनिवार्यतालाई महत्वाहीन तुल्याइदिन्छ ।
शून्यवादी दर्शनको प्रभाव बिस्तार भइरहेको उत्तरआधुनिक दुनियाँमा पुँजीवादका खराबीहरू असीमित छन् । यसका वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक खराबीले गहनतम अध्ययन, अनुसन्धान र खोजको आवश्यकता इन्कार गरिदिन्छ । आज हामी जुन वस्तुस्थितिमा बाँचिरहेका छौँ, त्यसमा पूँजीवादको बलियो प्रतिछायाँ नै व्यक्त हुन्छ ।
ज्ञानविज्ञान जीवनका निमित्त त्यस्तो कम्पास हो, जसले आफ्नो मात्र नभएर सिंगो जनसमुदायलाई बाटो देखाउँछ । जोसँग विषयको ज्ञान छ, यसले समस्याको शीघ्र र सही पहिचान गर्छ, समाधानको मार्गबारे विभिन्न बिकल्प प्रस्तुत गर्दछ र बहुजनको विश्वासप्राप्त समाधान निकाल्छ ।
जसरी सामाजिक जीवनमा रातारात धनी बन्ने महत्वकांक्षा बढोत्तरी हुँदैछ, त्यसरी नै ज्ञानविज्ञानको क्षेत्रमा पनि कुनै मिहेनत र साधनाविनाको व्यक्तिश्रेयवादको अपेक्षा गरिँदैछ, जुन विज्ञानको नियमविरूद्ध मात्र नभएर असम्भवसमेत हुन्छ । यसले देखाउँछ– मान्छे दूरदृष्टिका साथ सुखद् भविष्यका निम्ति संघर्ष गर्न तयार छैन, बरू क्षणिक लाभहानीका निम्ति सिंगो भविष्य कुर्वानी गर्न तत्पर छ। यस्तो मनोवृत्तिमाथि विजय हासिल नगर्दा विवर्तवादमा पुगिन्छ ।
समाजको अग्रगति उच्चचेतना र विवेकले निर्धारण गर्नुपर्नेमा पुँजीवादी विश्वमा भीडले नै समाजको मार्गनिर्देश गर्ने खतरा देखिँदैछ । ज्ञान वा विद्वताको मापक जीवनमूल्य नभएर लोकप्रियतावाद हुँदा त्यसले जीवनवृत्तिका ऐतिहासिक संघर्षमा मानव जातिले आर्जन गरेको सम्पूर्ण ज्ञान, मूल्य र अनुभवमाथि प्रहार गर्दछन् । आज हामी त्यही विनिर्माणवादी शून्यवादको शिकार भइरहेका छौँ ।
भनिन्छ– ज्ञानविज्ञानको कुनै भूगोल र सीमा हुँदैन । संज्ञानात्मक ज्ञानको क्षेत्रलाई जति व्यापकतामा ग्रहण गर्यो, मानव जीवनका ज्ञान र अनुभवहरूको दायरासमेत त्यत्तिकै फराकिलो हुँदै जान्छ । तर, ‘नजिकको तीर्थ हेँला’ भनेझैं आफ्नै सेरोफेरोमा व्याप्त ज्ञान र अनुभव नजरअन्दाज गरेर चिन्तनको दायरा फराकिलो बनाउन सकिँदैन ।
शक्ति नै ज्ञानको प्रमुख स्रोत भन्ने भाष्य निर्माण हुँदै जाँदा हाम्रो ज्ञानमूल्य पश्चिमा विचार र संस्कृतिको चौघेरामा कैद हुँदैछ। जबसम्म नेपाल चिन्तनका बहुआयमिक विषयहरू हाम्रो अध्ययन र खोजको कार्यक्षेत्रभित्र पर्दैनन्, हाम्रै माटोमा आर्जित ज्ञान र अनुभवहरूले हाम्रो आफ्नै वैधता प्राप्त गर्दैन, तबसम्म यो जञ्जाल तोड्न सकिँदैन ।
कतिपय साथीहरू प्रश्न गर्नुहुन्छ- ‘पढेर के हुन्छ, पढेर के फाइदा, फुर्सद नै हुँदैन कतिबेला पढ्ने ?’ यथार्थ त्यस्तो होइन । पढ्ने नाफाघाटाका लागि होइन, जीवनदृष्टिका लागि हो । अध्ययनले आत्मविश्वास बढाउँछ, हर कुनै समस्याका बेला धैर्य रहन सिकाउँछ, हरेक चुनौतीभित्र समाधान भएको दृष्टिबोध गराउँछ, रूढीवाद र अन्धविश्वासबाट मुक्त बनाउँछ, इतिहास र समकालीन विश्वबारे दीक्षित गर्दछ, भविष्यका लागि सधैं आशावादी बनाउँछ, क्षणिक उत्साह र निराशा दुवैबाट मुक्ति दिन्छ, व्यष्टि र समष्टिको एकत्व अनुशरण गराउँछ, अब्बल मानिसहरू राजनीतिमा लाग्न प्रेरणा दिन्छ, समाजमा अध्ययन संस्कृतिको विकास गराउँछ, नेतृत्वको कार्यक्षमता बढाउँछ, व्यक्तिले दिने परिणाममा गुणात्मक विकास हुन्छ, समाज र राष्ट्रलाई प्रगतिपथका लागि मार्गनिर्देश गर्दछ, त्यसका लागि नियमित पढ्नुपर्छ ।
ज्ञानविज्ञान जीवनका निमित्त त्यस्तो कम्पास हो, जसले आफ्नो मात्र नभएर सिंगो जनसमुदायलाई बाटो देखाउँछ । जोसँग विषयको ज्ञान छ, यसले समस्याको शीघ्र र सही पहिचान गर्छ, समाधानको मार्गबारे विभिन्न बिकल्प प्रस्तुत गर्दछ र बहुजनको विश्वासप्राप्त समाधान निकाल्छ ।
जोसँग विषयसँग सम्बन्धित ज्ञान कमजोर छ, त्यसले समाधान होइन, समस्याको बोधगम्यता छुट्याउन सक्दैन र चुनौतीका रूपमा गिजोल्छ। जसरी कम्पास नभएको जहाज हरकुनै बखत दुर्घटना हुने खतरा रहन्छ, ज्ञानबिनाको गन्तव्य र जिम्मेवारीसमेत त्यस्तै खतराको बीच बाँच्दछ ।
ज्ञान एउटा ‘इन्ड्रोइड मोबाइल’जस्तै हो, जहाँ हजारौँ ‘फङ्सन’ हुन्छन्। जोसँग ज्ञान छ, त्यसले उक्त मोबाइलका हजारौँ ‘फङ्सन’हरू चलाउँछ, सम्पूर्ण विश्वसँग त्यही मोबाइलको सहायताले सम्बन्ध बिस्तार गर्दछ । तर, जोसँग त्यो ज्ञान छैन, उसले कल उठाउने र कलब्याक गर्ने साधनका रूपमा मात्र मोबाइलको प्रयोग गर्दछ । तसर्थ, ज्ञानसहितको नेतृत्व त्यस्तो सेतु हो, जसले एकैपटक हजारौँ ‘फङ्सन’को उपयोग गर्दछ र गुणात्मक प्रतिफल दिन्छ । यद्यपी, उक्त ज्ञानसँग क्रान्तिकारी व्यवहार अन्योन्याश्रित रहनैपर्दछ ।
हामीकहाँ अर्को तर्क पनि छ- ‘अल्पज्ञानम् भयंकरम् ।’ अर्थात् आधा ज्ञान सबैभन्दा भयानक हुन्छ । अध्ययनलाई जीवन संस्कृतिका रूपमा आत्मसात गर्न नसक्दा पुगिने ठाउँचाहिँ भयानक अल्पज्ञान नै हो, जसले मानव जीवन, समाज र देशका निम्ति सबैभन्दा बढ्ता क्षति गर्दछ । खास विषयको गहिराइमा ज्ञान नहुने तर अल्पज्ञानको यथार्थ अस्वीकार गर्ने त्यस्तो मनोरोग अझ बढ्दा खतरा हुन्छ, अनि त्यस्तो रोगले लोकप्रियताको सहारा लिन्छ ।
मानिस चेतनशील प्राणी हो, इन्द्रीयहरूमार्फत चेतना सक्रिय हुन्छ। इन्द्रीयले दिएको जानकारीअनुसार संशय, स्मृति, घृणा, प्रेम, स्वीकार अर्थात् सबै अनुभवका संश्लेषणात्मक एवं विश्लेषणात्मक रूप नै मस्तिष्करूपी ज्ञान हुन् । मस्तिष्करूपी ज्ञानमा तर्क दिने आधार हुन्छन्, यसमा अंकगणितले काम गर्दछ। झुठो, साँचो, उचित, अनुचित, सैद्धान्तिक, असैद्धान्तिक, वैधानिक, अवैधानिक जस्ता विचार, चिन्तन, दृढता र तिनको भिन्नता छुट्टयाउन सक्ने क्षमता मस्तिष्करूपी ज्ञानअन्तर्गत नै पर्दछ। तसर्थ, संज्ञानात्मक ज्ञान उच्च व्यवहारिक अन्तरक्रियाको अभिव्यक्तिसमेत हो । ज्ञानको अर्थ औपचारिक शास्त्र वा डिग्री नभएर विषयको बोध र आत्मसातीकरणको संकेन्द्रण हो ।
ज्ञानको स्रोत र ज्ञान–व्यवहार सम्बन्धबारे माओत्सेतुङले जति गहन विश्लेषण गर्नेहरू सायदै होलान्। माओले प्रकृतिका अनेकौँ विषय र घटनाक्रमहरू मानव मस्तिष्कमा प्रतिबिम्बको रूपमा आउने र तत्पश्चात् हुने अन्तरक्रियाले ज्ञानलाई परिस्करण गर्दै सिद्धान्तको रूपमा विकसित हुने बताउँछन्, ज्ञानको स्रोत र परीक्षणसमेत सामाजिक व्यवहार भएकोमा जोड दिँदै उनले व्यवहार र ज्ञान अन्योन्याश्रित ठान्छन् ।
माओ भन्छन्, ‘केही मानिसहरू जानाजान कुरा बंगाउँछन् र उल्टो तर्क गर्दछन् । उडन्ते कुराको बोक्रे ज्ञान टिपेर सबै कुरा थाहा पाएको छु भन्ठान्ने र आफूलाई संसारको एक नम्वरको आधिकारिक व्यक्ति घोषित गर्ने मान्छे नै संसारमा सबैभन्दा हाँसउठ्दो व्यक्ति हो । यसबाट उसले आफ्नै मूल्यांकन गर्न नसकेको ठहर्छ । ज्ञान भनेको विज्ञानको कुरा हो, यसमा बेइमानी वा घमण्ड कहिँकतै हुनुहुन्न। चाहिएको बिलकूल उल्टो छ, इमानदारी र नम्रता’, उनी अगाडि भन्छन्, ‘प्रकृति विज्ञानका अनेकौँ सिद्धान्तहरू प्रकृति विज्ञविदहरूले उब्जाएका भएर मात्र साँचो ठानिएका होइनन्, त्यसपछिको वैज्ञानिक व्यवहारमा समेत प्रमाणित ठहरिएकाले नै ती साँचो मानिएका हुन्। द्वन्द्वात्मक भौतिकवाद पनि त्यही वैज्ञानिक परीक्षणले प्रमाणित गरेको सच्चाइ हो ।’ (माओ, दर्शनबारे पाँच कृति, व्यवहारबारे) ।
ज्ञानको अनिवार्यताबारे लेनिन पनि उत्तिकै महत्व दिन्छन् । उनी अगाडि भन्छन्, ‘मानव जातिले सिर्जना गरेका सम्पूर्ण ज्ञानभण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाई कम्युनिस्ट बन्न सक्नुहुनेछ ।’
ज्ञानको शब्दार्थ र भावार्थ दुबैले शास्त्रार्थमा पारंगत हुनु अर्थ दिँदैन, अरू दूरदृष्टिका साथ मानव जातिको भविष्यका निम्ति नयाँ–नयाँ बिकल्प प्रस्तुत गर्नु हुन जान्छ, यसको मूल स्रोत अनुसन्धान हो । अनादीवाद र भौतिकता यसको प्राण हो । सामाजिक जीवनको ठोस र वैज्ञानिक अनुसन्धानबिना भविष्य त टाढाको कुरा वर्तमानको यथार्थमा समेत पुग्न सकिँदैन । तसर्थ, ज्ञानको ठोस अर्थ अध्ययन, खोज र अनुसन्धान भएको आत्मसातीकरण नै आजको परिप्रेक्ष्यमा ज्ञान-मूल्यको उच्चतर संश्लेषण हुन जान्छ ।
जसरी भौतिक विज्ञानको नियम हुन्छ, त्यसरी नै सामाजिक विज्ञानको पनि आफ्नो स्वतन्त्र नियम हुन्छ। जसले सामाजिक विज्ञानका नियमहरूलाई ठीक ढंगले अध्ययन गर्छ, वैज्ञानिक निष्कर्ष निकाल्छ, त्यसले मात्र वैज्ञानिक समाधानसमेत दिन्छ । दर्शन र जीवन, पुस्तक र व्यवहारको अभिभाज्य सम्बन्ध नै संश्लेषित ज्ञान हो, जुन प्रक्रियाभित्र मानव जीवन अन्तर्निहित छ ।
ज्ञान वा अध्ययन मूलतः विज्ञान हो । तर, यो विज्ञान मात्र नभएर विधिविज्ञान पनि हो। स्वअध्ययनका लागि यस कलाको ज्यादा महत्व रहन्छ । हामी प्रायः केही न केही पढिरहेका हुन्छौँ, तर कुन पुस्तक वा पाठ्यसामग्रीको सान्दर्भिकता के, कुन समयमा कुन सामग्री पढ्ने, कुन स्तरको सामग्री कुन कालमा पढ्ने, पढिएको सामग्रीबाट ठोस ज्ञान आर्जन कसरी गर्ने, अध्ययनको विश्वदृष्टिकोण के ? यी विषयहरू हेर्दा सामान्य लाग्छन् । तर, व्यवहारिक जीवनका निम्ति त्यति नै मूल्यवान् छन् । तसर्थ, ज्ञानविज्ञानको बहसमा अध्ययनकलाको महत्वमाथि विमर्श आवश्यक हुन्छ ।
कार्लमार्क्सले संश्लेषण गरे, ‘प्रत्येक सच्चा दर्शन आफ्नो समयको उच्चतम् बौद्धिक सारतत्व हो ।’ दर्शनको दिशानिर्देशभित्र नै समकालीन विश्व र मानवजातिको भविष्य अन्तर्निहीत रहन्छ भन्ने माक्र्सको विश्लेषण आजपर्यन्त कालजयी छ । ‘अज्ञानताले दुनियाँमा कहीँ-कतै क्रान्तिको सेवा गरेको छैन’ भन्ने उनको निष्कर्षसमेत ज्ञानमूल्यको महत्वका निम्ति विहङ्गम् छ ।
ज्ञानको अनिवार्यताबारे लेनिन पनि उत्तिकै महत्व दिन्छन् । उनी अगाडि भन्छन्, ‘मानव जातिले सिर्जना गरेका सम्पूर्ण ज्ञानभण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाई कम्युनिस्ट बन्न सक्नुहुनेछ ।’
कतिपयले मार्क्सले ‘संसारलाई बुझ्नु ठूलो कुरा होइन, बदल्नु मुख्य हो’ भनेको युक्तिलाई सिरानी हालेर ज्ञानविज्ञानको महत्व अवमूल्यन गर्दछन् । तर, यथार्थ त्यस्तो होइन । हरेक विषयवस्तु र घटनाक्रम राम्ररी नबुझीकन त्यसलाई बदल्ने कुराको कल्पना गर्न सकिँदैन । जसले के बदल्ने भन्ने बुझेकै छैन, त्यसले केही पनि बदल्न सक्दैन । तसर्थ, बुझाइमा द्वन्द्वात्मक पद्धतिको अनुशरण अत्यावश्यक छ ।
अध्ययनको अर्थ माक्र्सदेखि माओसम्मका पुस्तक, भनाइ र दृष्टान्तहरूको ज्ञान राख्नुपर्ने वामपन्थी रूझान पनि देखिन्छ । तर, यसले भयंकर अल्पज्ञानको प्रतिनिधित्व गर्दछ ।
अध्ययनको अर्थ दर्शन, अर्थशास्त्र र समाजवाद त हो नै, त्यसका अतिरिक्त विज्ञान–प्रविधिको विषय, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, इतिहास, भूगोल, भाषा, कला-साहित्य, गणित, कुटनीति लगायत समकालीन विश्वमा मानव जातिले आर्जन गरेको ज्ञानका साथै मानव जातिले आर्जन गर्न नसकेका ज्ञानका क्षेत्र र विषयहरूको खोजीसमेत हो ।
भविष्यमुखी भएर अध्ययन र अनुसन्धानप्रति परिलक्षित नभएको ज्ञान अन्ततः धर्मशास्त्रमा परिणाम हुन्छ भन्ने हेक्का राख्नैपर्छ ।
ज्ञानको पनि आफ्नो समय र पुस्ता हुन्छ । प्राचीन युगमा प्राकृतिक भौतिकवादले दुनियाँको शासन गर्यो, मध्य युगमा धर्मले शासन गर्यो, आधुनिक युगको शासन विज्ञानले गरिरहेको छ । हामीले जुन ‘डिजिटल एरा’को कुरा गरिरहेका छौँ, त्यसका लागि प्रविधिमैत्री जीवन र अभ्यस्तता अनिवार्य शर्त हो । विज्ञानको पनि अगुवाइ गर्ने सामथ्र्य राखेर मात्र हामीले मानवमुक्तिको वैचारिक र नैतिक प्राधिकार राख्न सक्छौँ ।
विद्याबारे विद्वानहरूका गहन मतहरू छन् । सुप्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाइ छ, ‘मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र नयाँ कुरा जान्न र बुझ्नका लागि सधैं उत्सुक रहन्छु ।’ निरन्तर साधना, निरन्तर संकल्प नै सफल जीवनको सर्वोपरि आधारसमेत हो । भनिन्छ– जसरी तरबार धारिलो बनाउन धार तिखार्ने ढुंगाको आवश्यक पर्छ, त्यसरी नै दिमाग तिखार्न पुस्तक चाहिन्छ । तर, त्यस्तो पुस्तक उन्नयनवादको दृष्टिगोचर गर्न सक्ने हुनुपर्दछ ।
अन्त्यमा, लोकप्रियतावादी दुषित हावाहुरी चलिरहेको प्रतिकूल परिस्थितिमा ज्ञानको महत्व सामान्य परिस्थितिभन्दा बढ्ता हुन्छ । अल्पदृष्टिको गन्तव्य छनोट गर्नेहरू त्यहाँसम्म मात्र पुग्दछन्, जहाँसम्म पुग्न बनिबनाउ मार्ग छ ।
तत्पश्चात्को मार्गनिर्देश उनीहरूको सामथ्र्यभित्र पर्दैन, आवश्यकताको गतिलाई पछ्याउन सक्दैन र इतिहासको चिहानमा थन्किन्छ। तसर्थ, सस्तो लोकप्रियता, द्वैतवाद, शीघ्र प्रतिफल र कमजोर जग रोज्ने कि कठोर मिहेनत र साधनाको बलमा गतिशील भविष्य ? छनोटको अधिकार तपाई–हाम्रै हातमा छ ।
चरित्र, संस्कार र विचारहीन शक्तिले सधैँ विनाश निम्त्याउँछ भन्ने कुरो हामीले ठिक ढङ्गले नबुझ्दा पछिल्लो तीन दशकको राजनीतिमा पहिले प्रचण्डको उपयोगितावादले दुःख दियो र ध्वंस मच्चायो भने अहिले बालेन्द्र शाह, रवी लामिछाने र रेशम चौधरीहरूको सस्तो लोकप्रियतावादले चर्चा कमाउँदै छ जसरी २०५२ पछि प्रचण्डको उपयोगितावादले अस्वाभाविक चर्चा पाएको थियो । यो चर्चाको भोलिका दिनमा देश र जनताले अकल्पनीय दुःख व्यहोर्नुपर्ने हुनसक्छ । किनभने नेपालमा नियन्त्रित अस्थिरता बढाउन उपयोगितावाद, कम्फर्टेबलवाद र लोकप्रियतावादलाई बाह्य पक्षले उपयोग गर्दैछ ।
राम्रो ,पठनीय र अनुकरणीय लेख ।
Great