तामाङ जातिको सांस्कृतिक बाजा ‘डम्फु’ को ईसाईकरणबारे एक चर्चा
केही दिन पहिला ‘इन्टरनेशनल तामाङ स्पिकिङ क्रिश्चियन फिलोसोफी’ नामक संस्थाको फेसबुक फेजमा क्रिश्चियन धर्म प्रचारक ‘मदन मोक्तान’ भन्ने व्यक्तिले क्रिश्चियन धर्मको प्रतीक चिन्ह क्रस तामाङ समुदायको सांस्कृतिक/राष्ट्रिय बाजा ‘डम्फु’ को चरा हुने डाउँमा प्रयोग गर्नुका साथै ‘डम्फु’को उत्पत्तिका कथासमेतलाई गलत सन्देश जाने गरी निर्माण गरिएको श्रव्यदृश्य भजन सामग्री यूट्युब च्यानल र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको देखियो । त्यस विषयलाई लिएर प्रायः सबै तामाङहरुले तथा विभिन्न तामाङ संघ/संस्थाहरुले विरोध गर्नुको साथै गम्भीर ध्यानाकर्षण गराइरहेका छन् ।
यसै बीचमा सो फेसबुक फेजबाट नै ‘मदन मोक्तान’ भन्ने व्यक्तिले लेखेरै माफी तथा त्यस्ता गल्ती अब उप्रान्त नदोहोराउने भनेर लेखेको पनि देखियो । फेरि सोमबारमात्रै विभिन्न तामाङ संघसंस्थारूले ‘डम्फु’को गलत प्रचार गरिएको भन्दै सार्वजनिक गरिएको सामग्री हटाउनुका साथै गल्ती नदोहोराउने गरी माफी माग्नुपर्ने प्रेस विज्ञप्ति नै जारी गरिएको छ । त्यसैले यो बेला तामाङ जातिको सांस्कृतिक तथा राष्ट्रिय बाजा ‘डम्फु’ बारे केही चर्चा गर्नु सान्दर्भिक लाग्यो । मैले विभिन्न लेख, रचना तथा पाठ्य सामग्रीदेखि तामाङ अध्येयताहरुसँग सोधखोज गरी अनुसन्धनात्मक टिपोटहरुको संगालोको रुपमा यहाँ छोटो लेख प्रस्तुत गरिएको छ । सोसम्बन्धी चर्चा गर्नुभन्दा अघि तामाङ जाति को हो त ? भन्नेबारे छोटो चर्चा गरौं ।
तामाङ जाति
तामाङ जाति हिमालय पर्वतको मध्यवर्ती खण्डको एक प्रमुख आदिवासी जनजाति हो । यो जातिको मुख्य घना आवादी रहेको र पहिलो चुमेको मुलुक नेपाल भन्ने देश नै हो । आधुनिक राज्यहरुको निर्माण हुनुभन्दा पहिले यस क्षेत्रमा तामाङहरुको स्वतन्त्र स्वशासित भू-क्षेत्रहरु थिए । त्यसलाई तामाङहरुले आफ्नो भाषामा ताम्सालिङ भन्थे । तर, आधुनिक राज्यहरुको राजनैतिक भौगोलिक सीमारेखाहरु कोरिएर निर्माण भए सँगसँगै तामाङहरुको पुर्ख्यौली क्षेत्रहरु विभिन्न देशहरुमा रहन वा विभाजित हुन पग्यो । भारतका केही ठाउँहरु सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार (वर्मा), तिब्बत-चीन आदि देशहरुमा तामाङको पुर्ख्यौली भूक्षेत्रहरु रहन पुगे । आधुनिक राज्यहरुको राजनैतिक भौगोलिक सीमारेखाहरु कोरिनुभन्दा पहिला नै ताम्सालिङ भूमि नेपाल, म्यानमार (वर्मा), भारतका दार्जिलिङ, सिक्किम, भुटान, तिब्बत-चीन, आदि नामधारी देशहरुमा बाँडिएका थिए र सो भूक्षेत्रमा अहिले पनि तामाङ जाति बसोबास गर्दै आएको छ ।
आधुनिक राज्यहरुको राजनैतिक भौगोलिक सीमारेखाहरु कोरिनुभन्दा पहिला नै ताम्सालिङ भूमि नेपाल, म्यानमार (वर्मा), भारतका दार्जिलिङ, सिक्किम, भुटान, तिब्बत-चीन, आदि नामधारी देशहरुमा बाँडिएका थिए र सो भूक्षेत्रमा अहिले पनि तामाङ जाति बसोबास गर्दै आएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको साङपोनदी दक्षिण, खासगरी केरुङ-कुतीदेखि महाभारत पहाडसम्मको भूभाग आदिकालदेखि तामाङ जातिका ऐतिहासिक उद्गम भूमि/किपट/मूलथलो/थातथलो वा उत्पत्ति भूमि हुन् । यसलाई तिब्बती भाषामा माङयुल भनिन्छ भने भारतीय भाषा मिश्रित नेवाबोलीमा सेंषान्त र तामाङ भाषामा ताम्सालिङ (तामाङ भू-क्षेत्र) भन्ने गरिन्छ । तामाङ जातिको उद्गम भूमि तिब्बतको दक्षिण पश्चिम स्याङस्युङ, केरुङ, कुती, पुराङ हुँदै नेपालको शैलुङ, मेलुङ, रिसेङ्गु, तेमाल, मुगु, मुस्ताङ क्षेत्रबाट त्रिशूली नदी उद्गस्थलको भाग हुँदै बुढी गण्डकी गणेश हिमालको श्रृंखलातिर प्रसारित वा फैलिएर वा बसोबास गर्दै गएको/आएको देखिन्छ । हाल नेपालको मध्य भागमा तामाङ जातिको जनघनत्व बाक्लो रहेको छ भने हिमाली ठन्डी प्रदेशदेखि मध्य पहाड, भित्री मधेश र तराईसम्मको भूगोलमा समेत बाक्लै उपस्थिति रहेका पाइन्छन् तामाङ बस्तीहरु ।
नेपाल देशमा खासगरी पूर्वमा दूधकोशी र सो नदीसँग जोडिएको सिन्धुलीको पूर्वी सीमादेखि पश्चिम, पश्चिममा बुढी गण्डकी र नारायणी नदीदेखि पूर्व, दक्षिणमा चितवन जिल्लासहित पूर्व-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सीमासम्मको भू-भाग ताम्सालिङ हो । ताम्सालिङ प्रदेशको बीचमा नेवार जातिको बाहुल्य रहेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको क्षेत्र नेवाः राज्य प्रदेश पर्दछ भने ताम्सालिङ प्रदेशको भूभागसँग जोडिएको काठमाडौं, भक्तपुर र ललितपुरको तामाङ बाहुल्य गाउँपालिकाका वडाहरु साविकका गाविसहरु दक्षिणमा राजमार्गसँग अविछिन्न रुपमा जोडिएका तामाङ बाहुल्य वडाहरु साविक गाविसका क्षेत्रहरु पनि ताम्सालिङ स्वायत्त प्रदेशकै भूभागहरु हुन् । हालमा सो ताम्सालिङ भूभाग काठमाडौं उपत्यका वरिपरिका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्ला हुन् भने चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, काठमाडौं, भक्तपुर र ललितपुरका केही तामाङ बाहुल्य भूभाग/गाउँपालिका तथा वडाहरु साविकका गाविसहरु हुन् ।
त्यसो त अहिले तामाङ जाति नेपालको प्रायः सबै जिल्लामा तथा विश्वका जुसुकै विकसित देशहरु जस्तो खाडी मुलुकका विभिन्न देशहरु यूएई, कतार, साउदी अरब, इजरायल आदि, एसियाका विभिन्न देशहरु जापान, कोरिया, हङकङ आदि, युरोपका विभिन्न देशहरु फ्रान्स, जर्मन, बेलायत आदि तथा अमेरिका, क्यानडा इत्यादि देशहरुमा अध्ययन, अनुसन्धान तथा रोजगारीको सिलसिलामा पुगेर अस्थायी वा स्थायी रुपमा बसोबास गरिरहेका छन् ।
यसको प्रयोग खासगरी तम्बाले गर्छन् । तम्बा भनेको तामाङ जातिको इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाजसम्बन्धी ज्ञान भएको व्यक्ति हो । तम्बाहरूले डम्फु बजाउँदै तामाङ इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाजसम्बन्धी ज्ञान गीत जस्तै गरी गाएर भन्छन् ।
‘डम्फु’ को उत्पत्ति
अब चर्चा गरौं डम्फुबारे । तामाङ जातिको इतिहाससँगै जोडिएर आउँछ तामाङ जातिको सांस्कृतिक/राष्ट्रिय बाजा ‘डम्फु’ उत्पत्तिको कथा वा मिथक पनि । मानव सभ्यता र समाज विकास हुने क्रममा शिकारी युगतिर तामाङहरुको म्हेमे (जिजुबुवा/एक पुर्खा) पेङदोर्जे नाम गरेका शिकारी शिकार खेल्दै शैलुङ डाँडा क्षेत्रमा पुगेको कहावत तामाङ समुदायमा प्रचलित छ । उक्त कथा वा मिथकअनुसार सोही क्षेत्रमा पेङदोर्जेले ताङसर रा (घोरल बाख्रा) लाई तीर प्रहार गरेर शिकार गरेछन् । त्यो दृश्य देखेपछि पेङदोर्जेको श्रीमती अत्यन्तै दुःखी भएछिन् । पेङदोर्जेले जति नै फकाउँदा पनि फकाउन नसकेपछि पेङदोर्जेको मनमा अचानक एउटा जुक्ति फुरेछ । उनले मरेको घोरलको छाला उतारेर सुकाएर ह्रोल्मो (बाजा) बनाउन अम्बु सिङ (कोइराला काठ) को हाँगा काटेछन् । त्यो हाँगा ताछेर डम्फुको घेरा बनाएछन् । त्यसपछि पेङदोर्जे मधेशतिर झरेछन् । त्यहाँबाट बाँस लिएर आएपछि त्यो बाँसको ३२ (बत्तीस) वटा फुर्बा (किला) बनाएछन् । पेङदोर्जेले बनाएको डम्फुको घेरामा घोरलको छाला एकपट्टि मोरेर तन्काउँदै ३२ (बत्तीस) वटा किला घेराको वरिपरि ठोकेछन् ।
स्मरण रहोस्, आजकल डम्फु बाजा घोरलको साट्टो बाख्राको छाला मोरेर बनाइन्छ । त्यसपछि डम्फु बजाउँदा बाजाको आवाज ‘प्लाक धुई धुई…, ताक धुई धुई…, ‘धिङ, धिङ ताक…’ भन्ने आएछ । डम्फुको आवाज सुनेर हर्षविभोर हुँदै गीत गाउँदै पेङदोर्जे डम्फुको नाच्न थालेछन् । त्यो आवाज डाँफे चरीले सुनेछ । डाँफे पनि नाच्न थालेछ । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डम्फुको घेरोको शीरपट्टि डाँफेको प्रतीक पनि बनाएछन् । त्यस्तैगरी डम्फुको घेरोको तलतिर चोयाको टुक्रा पनि राखेछन् । जसलाई ‘टेपटेप’ भन्दछन् । यसरी तामाङ जातिको राष्ट्रिय बाजा डम्फुको उत्पत्ति भएको देखिन्छ । अर्थात पेङदोर्जेले डम्फु बनाएको हो भनिन्छ ।
‘डम्फु’को ऐतिहासिक, आध्यामिक तथा वैज्ञानिक अर्थ र प्रयोग
तामाङ पुर्खाहरुका अनुसार डम्फुलाई नै डम्बा, डम्बुर, डम्फा र डम्फुर पनि भन्ने गरिथ्यो । तर, अहिले चलनचल्तीको भाषामा डम्फु नै भनिन्छ । यसको प्रयोग खासगरी तम्बाले गर्छन् । तम्बा भनेको तामाङ जातिको इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाजसम्बन्धी ज्ञान भएको व्यक्ति हो । तम्बाहरूले डम्फु बजाउँदै तामाङ इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाजसम्बन्धी ज्ञान गीत जस्तै गरी गाएर भन्छन् ।
यसको प्रयोग खासगरी तम्बाले गर्छन् । तम्बा भनेको तामाङ जातिको इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाजसम्बन्धी ज्ञान भएको व्यक्ति हो । तम्बाहरूले डम्फु बजाउँदै तामाङ इतिहास, सृष्टि, संस्कार, संस्कृति र रीतिरिवाजसम्बन्धी ज्ञान गीत जस्तै गरी गाएर भन्छन् ।
त्यस्तैगरी तामाङ सेलो गीत, तामाङब्हाई (माया पिरतीका गीत) आदिमा पनि आजकल डम्फुको प्रयोग गरेको देखिन्छ । त्यसैले आजकल ‘तम्बा’ र ‘डम्फुरे’ मा मान्छेहरु झुक्किन्छन् । कतिपयले तम्बालाई नै डम्फुरे, डम्फुरेलाई नै फेरि तम्बा भनेर भन्छन् । तर त्यो ठीक होइन । तम्बा भनेको तामाङ समुदायको सांस्कृतिक धरोहर, इतिहासकार हो भने डम्फुरे भनेको संस्कृतिको एउटा अंग गीतांगी वा डम्फुरेमात्रै हो । तम्बाले डम्फु जथाभावी बजाउँदैनन् । बजाउनु नै पर्दा विधि पुर्याएरमात्रै बजाउँछन् । डम्फु बजाउँदा ‘आम्मैले होई, आम्मैले…’ भन्ने शब्दबाट गाउन शुरु गर्दछन् । त्यो सम्बोधन आमा र धर्ती वा पृथ्वीलाई गरिएको हो । डम्फु बजाइसकेपछि थन्क्याउने विधि पनि तम्बाहरूले अवलम्बन गर्छन् । तर, डम्फुरेले यी विधि अवलम्बन गर्दैनन् । तम्बाले कुनै पनि कार्य वा कार्यक्रम सुरु गर्दा सर्वप्रथम सङ्सेरग्यम (चोख्याउने वा धुप चढाउने) गीतदेखि विवाह संस्कारको एक चरण चारदम/चरतम (विवाह संस्कार) मा डम्फुको प्रयोग गर्छन् । जन्मदेखि विवाहको संस्कारसम्म डम्फुको प्रयोग गरिन्छ । कतैकतै आजकल घेवा (मृत्यु संस्कार)मा समेत डम्फुको प्रयोग भएको देखिन्छ ।
यो बाजालाई पहिले तामाङ भाषामा ह्रोल्मो भनिन्थ्यो । तर, पछि ‘डम्फु’ नाम राखियो । मानिसको गोलो अनुहार वा गालालाई तामाङ भाषामा ‘ग्राम्बा वा डम्बा’ भनिन्छ । त्यही गोलो अनुहार जस्तै वृत्ताकार देखिएकै कारण ‘ग्राम्बा वा डम्बा’ हुँदै ‘डम्फु’ भएको केही तामाङ अध्येताहरूको मत छ । तामाङहरु पहिले बोन धर्म मान्थे । त्यसो हुँदा बोन धर्म र बौद्ध धर्म मान्ने तामाङ पुर्खाहरूको मतअनुसार ‘डम्फु’ गोलो/वृत्ताकारको हुन्छ । त्यस वृत्तले घाम वा सूर्यलाई इंकित गर्छ । जुन चराचर जगतको जननी (तामाङ भाषामा अमाधिनी) हो । ३२ (बत्तीस) किलाले घामको किरणलाई जनाउँछ । साथै ३२ (बत्तीस) किलाले ३२ (बत्तीस) शुभ लक्षण (गुण) लाई पनि बुझाउँछ ।
त्यस्तै मानिसको अनुहारको एक अंग मुखभित्र ३२ वटा सेता दाँत हुन्छन्, त्यस दाँतको प्रतीकको रुपमा पनि डम्फुको घेरोको ३२ वटा किलालाई जनाउँछ भने सम्पूर्ण डम्फुलाई मानिसको अनुहारको रुपमा । डम्फु बाजा एकातिर छालाले मोरेको हुन्छ भने अर्कोतिर ह्वाङ्गै खाली हुन्छ । त्यो ह्वाङ्गै खाली पट्टिको अर्थ शून्य/महाशून्यलाई जनाउँछ । जहाँ ‘अमाधिनी’ (आमा) वा सूर्यको उत्पत्ति भएको थियो भन्ने बुझाइ छ । त्यसैलाई ताम्बाले सूर्यको टुक्राबाट ग्रह बन्ने क्रममा जम्बुलिङ (पृथ्वी) पनि बनेको थियो भनेर गीतमार्फत गाउने गरिन्छ र भनिन्छ । तामाङहरुले घाम वा सूर्यलाई अमाधिनी मान्छन् । डम्फुको घेरोको तल्लो भागमा चोयाको टुक्रा पनि राखिएको पाइन्छ, त्यसको अर्थ शिकारी युगमा प्रयोग गरिएको धनुषबाण र तीरलाई संकेत गरिरहेको हुन्छ । यसरी तामाङ जातिले सांस्कृतिक तथा राष्ट्रिय बाजा ‘डम्फु’ को ऐतिहासिक, आध्यामिक तथा वैज्ञानिक अर्थ बुझेर प्रयोग गरिरहेको देखिन्छ ।
(लेखक लामा नेपाल तामाङ घेदुङका संघीय सचिव हुन् ।)
राम्राे लेख।