गुल्सन र सन्दीपको उत्कृष्ट साझेदारीमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य
काठमाडौं। विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको प्रतिस्पर्धामा नेपालले टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोड्यो।
नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। नेपालले ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९-७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए। गुल्सनले अविजित ५७ रन जोडे।
सन्दीपले ३२ रन जोडे। नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्।
नेपालले ७ रनको अन्तरमा पछिल्ला तीन विकेट गुमाएको थियो। पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेको नेपाल कुनै समय १६२-४ रनको स्थितिमा थियो। तर पाचौँ विकेटका रुपमा भीम आउट भएपछि नेपालको पतन सुरु भएको हो। १६९ रनको स्थितिमा नेपालले कुशल र दीपेन्द्रलाई गुमाएको थियो।
गुल्सनले ४२ बलमा ३ छक्का र ४ चौकाकाे मद्दतमा अर्धशतक प्रहार गरे । उनले २२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा तेस्रो अर्धशतक बनाएका हुन् । यस्तै सन्दीपले ३० बलमा एक छक्का र ३ चौका हिर्काए । ३८ बल खेलेका कुशल मल्लले २ छक्का र ५ चौका प्रहार गरेका थिए।