‘गुरु’ कसरी यति धेरै जान्ने हुनुभयो होला ? – Nepal Press

‘गुरु’ कसरी यति धेरै जान्ने हुनुभयो होला ?

काठमाडौं । गुरु पूर्णीमा मनाइएको छ । त्यही अवसरमा गुरुहरुप्रतिको सम्मानमा म सोच्दै थिएँ कि साँच्चै हामीलाई यो अवस्थासम्म डोर्याउने गुरुहरु यति धेरै जान्ने कसरी हुनुभयो ? गुरु अर्थात अँध्यारोबाट उज्यालोतर्फ डोर्याउन सहयोग गर्ने जुनसुकै व्यक्ति, औपचारिक वा अनौपचारिक व्यक्ति तथा भौतिक वा अभौतिक प्रकृति सबैलाई गुरु मान्न सकिन्छ ।

यसरी हेर्दा जीवनका पहिलो गुरुहरु भनेका यो उज्यालो संसारमा हामीलाई पदार्पण गराउने पुजनीय आमाबुबा नै हुनुहुन्छ । त्यस्तै, शिक्षा ज्ञानको कुरामा पनि उहाँहरुले नै प्रारम्भिक चरणका ज्ञान हामीलाई प्रदान गर्नुभएको हुन्छ । तसर्थ सर्वप्रथम उहाँहरुमा हाम्रो हृदयदेखि नै नमन भाव जाग्नुपर्छ ।

त्यसपछि जीवन यतिमै रोकिँदैन । जीवनमा भएका हरेक घटनाहरु हामीलाई नयाँ गन्तव्यमा डोर्याउने पाठ दिएर जान सक्छन् । तिनीहरुलाई पनि गुरुको रुपमा हामीले स्वीकारेर अघि बढ्नु पर्ने हुन्छ ।

मानिसले केही पनि कुरा एकैपटक शत प्रतिशत प्राप्त गर्न सक्दैन । उसलाई कुनै न कुनै प्रेरणा, हौसला र विशेष तरिकाहरु आवश्यक हुन्छन् । जसमा गुरुको भूमिका अतुलनीय हुने गर्दछ ।

शैक्षिक उन्नतिको पाटोमा पनि जीवनमा गुरुहरुको भूमिकाले एउटा विद्यार्थीकाे बाँकी जीवनको खाका कोर्न विशेष योगदान निभाएको हुन्छ । यस क्रममा मलाई मेरो प्राथमिक तहदेखि दर्शनचार्य हुँदै पीएचडीको अवस्थासम्म आइपुग्नमा धेरै संख्यामा गुरुहरुको भूमिका रहेको छ ।

हुन त याे यात्रामा हुनुहुने सबैप्रति मेरो उच्च सम्मान रहन्छ । यहाँ भने मेरो मनमा अमिट छाप छोड्न सफल केही गुरुहरुबारे सामान्य चर्चा गर्न चाहन्छु ताकी गुरुहरुप्रतिको व्यवहारिक सम्मान गर्नुपर्छ भन्ने अनुभूति आजका पुस्ताका विद्यार्थीहरुमा पर्न सकोस् ।

मनमा बस्न सफल गुरूहरू

टीकाबहादुर घिमिरे प्राथमिक विद्यालयमा मलाई अंग्रेजी पढाउने शिक्षक हुनुहुन्थ्यो । उहाँले अत्यन्तै राम्रोसँग पढाउनुहुन्थ्यो । विभिन्न व्यवहारिक उदाहरण दिएर अध्यापन गराउनुहुन्थ्यो । उहाँले पढाउने तौरतरिकालाई हाम्रो मस्तिष्कले टपक्कै टिप्थ्यो । वास्तवमा भन्नुपर्दा मेरो जीवनमा अंग्रेजीको आधारस्तम्भको रुपमा घिमिरे सर रहनुभएको छ ।

त्यस्तै, निमावि तहमा हाम्रा लागि उत्कृष्ट शिक्षक पदम खड्का हुनुहुन्थ्यो जसले गणितका स-साना तथा महत्वपूर्ण विषयलाई व्यवहारसँग जोडेर सुस्पष्ट हुनेगरी हामीलाई सिकाउनुहुन्थ्यो । त्यसैगरी माध्यमिक तहमा बद्री बस्नेत सशक्त शिक्षक हुनुहुन्थ्यो । उहाँले भूगोल र अर्थशास्त्र पढाउनुहुन्थ्यो । यी दुवै विषयमा उहाँको शिक्षण निखारिएको तथा स्पष्ट थियो । उहाँले पनि निकै व्यवहारिक पक्षलाई ध्यान दिएर अध्यापन गर्नुहुन्थ्यो । मेरो अर्थशास्त्रको आधार भूगोलप्रतिको अगाध माया तथा लगाव र सुस्पष्टता पनि उहाँकै योगदानले तयार भएको हो ।

यता आईएड र आईए गर्दा ताका पनि केही शिक्षक एवम् प्रध्यापकहरु निकै सशक्त हुनुहुन्थ्यो । त्यो बेला पूर्णमान शाक्य हुनुहुन्थ्यो । उहाँमा राम्रो भौगोलिक ज्ञान विद्यमान थियो । उहाँले भूगोल पढाउँदा निकै उत्कृष्ट प्रस्तुती रहने गर्दथ्यो । उहाँले पढाएका कुराहरु आफू उहाँ स्पष्ट भएकाले विद्यार्थीलाई छर्लङै पार्नुहुन्थ्यो । जसका कारण विद्यार्थीहरुलाई भूगोलको विषय बुझ्न निकै सहज भएको थियो ।

अंग्रेजीका ऋषिकेश उपाध्याय हुनुहुन्थ्यो । जसले पढाएको अंग्रेजी अत्यन्तै राम्रो ढंगले बुझिन्थ्यो । उहाँले जसरी पढाउनुहुन्थ्यो विद्यार्थीले सिरिन्जमार्फत औषधि लिएको जसरी बुझ्थ्यौं । उहाँ ज्ञानको खानी नै हुनुहुन्थ्यो । र उनले हामीलाई अंग्रेजी भाषाको ज्ञान हो कि दर्शन भन्ने विषयमा पनि निकै मजाले बुझाउनुहुन्थ्यो । उहाँले अंग्रेजीलाई भाषाभन्दा माथि गएर प्रस्तुत गर्नुहुन्थ्यो । यसबाट विद्यार्थीहरुले दार्शनिक चेतना विकास गर्न सहज भयो ।

त्यस्तै, अर्का भूगोल पढाउने विलक्षण प्रतिभाको प्रतिमूर्ति जस्तै शिक्षक हुनुहुन्थ्यो कलाधार पौडेल । अंग्रेजी तथा भूगोल दुवै विषयमा गहिरो ज्ञान राख्ने उहाँ आफैंमा ज्ञानको महासागर हुनुहुन्थ्यो । उहाँले पढाएको भूगोल सबै मानिसहरुलाई उदाहरणीय हुन्थ्यो । उहाँले आउँदा भविष्यमा कसरी भौगोलिक ज्ञानलाई आफ्नो जीवनोपयोगी बनाउन सकिन्छ भनेर जानकारी दिने गर्नुहुन्थ्यो ।

स्नातकोत्तरमा पढ्दै मेरो जीवनमा केही भूगोलवेत्ताको गहिरो प्रभाव पर्यो । पहिलो प्राध्यापक डा. भीमप्रसाद सुवेदी जो तीक्ष्ण बुद्धि भएको हुनुहुन्थ्यो । सर्वदा उत्कृष्ट नतिजा हासिल गरेको तथा उत्कृष्ट अमेरिकन विश्वविद्यालयमा अध्ययन गर्नुभएको मात्रै नभएर आफैंमा सामाजिक भूगोलको अथाह ज्ञान भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँमा जति गहिरो खोतल्यो त्यति विशेष हुनुहुन्थ्यो । उहाँसँग जस्तोसुकै समस्याको समाधान गर्न सक्ने, जवाफ दिन सक्ने ल्याकत थियो ।

त्यस्तै, हामीमाथि नरेन्द्रराज खनालले पनि ठूलो छाप छोड्नुभयो । उहाँसँग भूआकृति विज्ञानको विशेष क्षमता थियो । उहाँ अति नै ज्ञानी एवम् बुद्धिमानी र हाम्रो त्यो विषयको पुस्तक लेख्ने विद्वान रिचार्ड जेम्सचोरले जस्तै ज्ञान भएको हुँदा हामी उहाँलाई पनि त्यही नामले बोलाउँथ्यौं । यद्यपी उहाँको अंग्रेजी भाषाको सीप कम थियो तर हामीलाई जसरी पनि सहज ढंगले बुझाउने प्रयत्न गर्नुहुन्थ्यो ।

नामै छुटाउन नमिल्ने जो विशेषगरी अतिथि प्राध्यापक मात्रै रहेपनि मेरो शोधकार्यमा भने प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो डा. हर्क गुरुङ सर । भौगोलिक ज्ञानमा अब्बल उहाँ आफैं एक दार्शनिकको छवि समेत बनाउनुभएको थियो । भूगोलका विषयमा उहाँले निकै राम्रो जानकारी प्रदान गराउनुहुन्थ्यो ।

अर्कोतर्फ आर्थिक प्रा. डा. पिताम्बर शर्मा अत्यन्तै तेजावी प्राध्यापक हुनुहुन्छ । उहाँले मलाई योजना सबालमा प्रदान गरेको ज्ञान अकाट्य भएर रह्यो । त्यो व्यवहारिक ज्ञानले पछि मलाई फ्रान्सको टुलुज स्कुल अफ इकोनोमिक्समा पुग्दासम्म पनि स्मरण मात्रै गराएन सहयोगी समेत बन्यो । यसैगरी, प्रा. उपेन्द्रमान मल्ल हुनुहुन्थ्यो । उहाँले पनि मेरो शोध कार्यमा धेरै ठूलो सहयोग गर्नुभयो । वातावरण भूगोलमा विशेष दख्खल राख्ने उहाँको ज्ञानले पनि मलाई निकै सहज बनायो ।

यहाँनेर प्रा. डा. चन्द्रमान श्रेष्ठलाई पनि सम्झिन्छु । उहाँले पनि हामीलाई अनुसन्धान भूगोलको ज्ञान प्रदान गर्नुभएको थियो । उहाँसँग आधारभूत भूगोलको राम्रो क्षमता थियो । तसर्थ उहाँले प्रदान गर्नुभएका कुराहरु राम्रोसँग बुझ्थ्यौं ।

त्यस्तै, प्रा. डा. पुष्कर प्रधान जो क्षेत्रीय योजना भूगोलमा गहिरो ज्ञानसहित गणितीय तवरले प्रस्तुत गर्ने सीप भएको व्यक्तित्व हुनुहुन्थ्यो । त्यस्तै, प्रा. डा. उमेशकुमार मण्डल जो तथ्यांकशास्त्रका प्रखर व्यक्तित्व हुनुहुन्थ्यो । तथ्यांकसम्बन्धी विषयलाई सरल ढंगले उहाँले प्रस्तुत गर्ने क्षमता राख्नुहुन्थ्यो ।

विश्वम्भर प्याकुरेल जो मलाई एकदमै सशक्त प्राध्यापक लाग्थ्यो । उहाँले दिनुभएको, देखाउनुभएको बाटो, प्रदान गर्नुभएको शिक्षाले आज म अरुसमक्ष आफूलाई राम्रोसँग पस्तुत गर्ने अवस्थामा जस्तो लाग्छ । त्यस्तै, अंग्रेजीमा सकारात्मक प्रभाव छोड्न सफल प्रा. डा. श्रीधर लोहनी लाग्थ्यो । जसले अंग्रेजीको गहिरो ज्ञान प्रदान गर्न सक्नुहुन्थ्यो । उहाँसँग मैले एकता पब्लिेकसनलाई पुस्तक दिने क्रममा १४ वर्ष सँगै काम गर्ने मौका पनि पाएँ । यही समयमा मेरो अंग्रेजीको विकास हुन सकेको जस्तो अहिले महसुस गर्छु ।

इतिहास शिक्षातर्फ भने मलाई प्रा. डा. गंगा कर्माचार्यले अत्यन्तै राम्रो ढंगले मलाई शिक्षा दिनुभएको महसुस हुन्छ । उहाँले प्रदान गर्नुभएको त्यो दक्षताले गर्दा मलाई अरु ज्ञान हासिल गर्न सहज भयो । इतिहास सबै विषयको ऐतिहासिक विषय उजागार गर्ने माध्यम हो । यी विषयका जरैदेखि ज्ञान प्राप्त गर्न उहाँको सानिध्यले सजिलो भयो ।

दर्शनचार्य गर्दाताका भने प्रा. डा. मनप्रसाद वाग्लेज्यूले कसरी यति धेरै जान्ने हुनुभयो होला भन्ने मलाई अनुभूति हुन्थ्यो । उहाँलाई शिक्षाका हरेक विषयका गहिरो ज्ञान थियो । विद्यानाथ कोइरालाले सरले पनि दर्शनचार्यका क्रममा, मेरो शोध कार्यमा सहयोग गर्नेदेखि लिएर आफ्नो शिक्षा सम्बन्धी सुस्पष्ट ज्ञान उपलब्ध गराउनु भयो । यद्यपी उहाँ गुणात्मक अनुसन्धानका लागि धेरै महत्वपूर्ण मानेँ मैले ।

त्यस्तै, प्रा. डा. टंकनाथ शर्मा तिमिल्सिना पनि प्रतिभाशाली, तीक्ष्ण र सुस्पष्ट हुनुहुन्थ्यो । उहाँले प्राविधिक शिक्षामा प्रदान गर्नुभएको ज्ञानले हामीलाई जीवनमा सहजता प्रदान गरेको थियो ।

यता प्रा. सुसाना क्रिक प्याट्रिक भन्ने प्राध्यापकले मलाई अष्ट्रेलियामा ठूलो प्रभाव पार्नुभयो । उहाँले प्रदान गर्नुभएको अर्थशास्त्र शिक्षाको ज्ञानले आफ्नो जीवनमा अघि बढ्न धेरै सजिलो भयो । त्यस्तै, बर्लिनको हम्बोल्ड विश्वविद्यालयमा पढाउने डोनाल्ड वानिस्जाले मलाई अर्थशास्त्र सम्बन्धीको ज्ञान प्रदान गरेको महसुस हुन्छ ।

नोभा युनिर्भिसिटीमा आएर प्रा. डा. डेभिड जस्टिनले साह्रै राम्ररी ज्ञान दिएको मलाई लाग्छ । उहाँमा अर्थशास्त्र, समाज र विकास शिक्षाका विषयमा गहन ज्ञान रहेको छ । जस्टिन अर्थशास्त्र शिक्षा, समाज र विकास एवम् ऐतिहासिक अर्थशास्त्रको धरोहर र अत्यन्तै तेजावी जो विश्वपरिवेशकै प्रतिस्पर्धी प्राध्यापकको रुपमा प्राप्त हुनुभयो । उहाँले आथिर्क विषयलाई शिक्षा, समाज, विकास तथा विज्ञानसँग जोडेर विद्यार्थीलाई प्रतिस्पर्धी बाटोमा डोहोर्याउनु हुनेरहेछ । जसको अनुभूत भयो ।

क्लिनिकल साइकोलोजीमा फ्रान्सिस्को पेसोते विश्वपरिवेशमै सशक्त प्राध्यापक रहेछन् । जसले गणितीय र तथ्यांकशास्त्रीय नमुना प्रयोग गरी प्रमाणिक ढंगले प्रयोगिक मनोविज्ञानको अध्यापन गराउनुहुन्छ । उहाँले सयौं लेख तथा पुस्तकहरु लेखन तथा सम्पादन गर्नुभएको छ । पेसोतले आफ्नो अद्भूत ज्ञान सजिलो, सरल सटिक किसिमले प्रदान गर्नुभएको ज्ञान मेरो जीवनको लागि मार्गदर्शन मात्रै नभएर जीवनशैली बनेको छ ।

त्यस्तै, एलिसन बुथ र ब्रुस च्याम्पम्यान अस्ट्रेलियन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ । उहाँहरु अत्यन्त्रै विद्यत व्यक्तित्व जोसँग अर्थशास्त्र, समाज र विकास अध्ययनका विषयमा गहिरो ज्ञान भएको प्राध्यापकहरु हुनुहुन्थ्यो । बुथले मानव साधनको विकास कसरी गर्न सकिन्छ भन्ने सवालमा अत्यन्तै व्यवहारिक ढंगले ज्ञान प्रदान गर्नुभयो । त्यसैगरी, च्याम्पम्यानले अर्थशास्त्र शिक्षा सवालमा सशक्त, प्रयोगिक र सुस्पष्ट रुपमा प्रदान गर्नुभयो । जसमा जसरी उहाँका अन्य छात्रछात्राहरु गौरवान्वित महसुस गर्छन् मलाई पनि त्यस्तै अनुभूति हुन्छ ।

म बेलाबेला उहाँहरुले यतिधेरै ज्ञान कसरी जान्नु भएको होला भनेर सोच्ने गर्छु ।


प्रतिक्रिया

One thought on “‘गुरु’ कसरी यति धेरै जान्ने हुनुभयो होला ?

  1. राम्रो छ गुरु! यस्तो जान्ने कसरी हुनुभो?#आर

Leave a Reply

Your email address will not be published. Required fields are marked *