२५ लाखभन्दा बढीको औषधी बोकेको भारतीय कारसहित एक व्यापारी पक्राउ
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १२ बारह्विघा नजिकैबाट सशस्त्र प्रहरीले २५ लाखभन्दा बढी मूल्य बराबरको औषधी बोकेको भारतीय नम्बर प्लेटको कारसहित एक व्यापारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक २९ वर्षीय मो. ईक्बाल रहेका छन् । भारतीय नम्वर प्लेट बी. आर. ३२ ए. क्यू. १२०२ भएको कारमा अवैध किसिमले नेपाल भित्र्याएको औषधी फेला परेपछि सो कार, त्यसमा सवार मो. ईक्बाल र औषधी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वेश क्याम्पस जनकपुरले जनाएको छ ।
प्रहरीका अनुसार कारबाट बरामद डेन्टलको औषधी करिब २५ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ । उक्त औषधी, कार र पक्राउ परेका मो. ईक्बाललाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले आज जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका मो. इक्बाल औषधी तस्करी गर्ने ठूलो व्यापारी हुन् । उनले नै जनकपुरका अधिकांश अस्पताल र औषधी पसललाई भारतीय औषधी पुर्याउँछन् ।