बुटवल ज्योतिनगरवासीको दुःखः अर्बौं खर्चियो, रोकिएन चुरेको पहिरो
विज्ञहरु भन्छन्- चुरे फेदको क्षेत्र बसोबासको लागि अनुपयुक्त, स्थानीयवासीको जिकिर- दीर्घकालीन समाधान नखोजिँदा हामी असुरक्षित
रुपन्देही । वर्षाको भल बग्न थालेसँगै बुटवलको ज्योतिनगर आसपासका स्थानीयलाई सधैं त्रास हुने गर्छ । आकाशमा बादल मडारिन थालेपछि स्थानीयको निद्रा हराउनेमात्र होइन कसरी वर्षा कटाउने भन्ने तनाव हुन्छ ।
२०३८, २०५५ र २०७८ मा आएका ठूला तथा हरेक वर्ष आउने साना पहिरोले यहाँका दर्जनौं घर पुर्दा सयौं स्थानीय विस्थापित भएका छन् । तर, अझै पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन । त्यसो त वर्षाको समयमा बिलौना गर्ने स्थानीय पानी पर्न छाडेपछि त्यहीं घर बनाएर बस्न थालिहाल्छन् ।
अन्यत्र वैकल्पिक व्यवस्था भएकाहरुसमेत पुनः यही आएर बसेका छन् । स्थानीय राजनीतिक दलहरु उनीहरुलाई भोट बैंक बनाउन पाएका कारण स्थानीयलाई यहाँबाट अन्यत्र सार्न तयार हुँदैनन् ।
पछिल्लो पटक २०७८ सालमा गएको पहिरोले खुइलिएको डाँडा अझै पनि उस्तै छ । आकाश गर्जन थालेसँगै त्यही चुरे डाँडाबाट पहिरो बस्तीमा आउने त होइन भन्ने पिरलोमा पर्छन् यहाँका बासिन्दा । चुरेको माथिल्लो भाग नै भासिएपछि डाँडा खुइलिएको छ भने बीचबीचमा धाँजा फाटेको छ । पहिरो जोगाउन बनाइएका ग्याबिन वालले झन् ठूलो पानी पर्दा असुरक्षित बनाएको विज्ञहरुको भनाइ छ ।
बुटवलमाथि रहेको चुरेको रुप क्षतविक्षत छ । उक्त क्षतविक्षत चुरेमा जाने पहिरोले ज्योतिनगर, लक्ष्मीनगर मात्रै होइन गोलपार्क, क्याम्पस रोड, आदर्शनगरसहित बुटवल बजार नै जोखिममा पारेको छ । चुरेको उत्तरी भागमा बनाइएको केबलकारका संरचनाले समेत डाँडालाई कमजोर बनाउनसक्ने विज्ञहरुको चिन्ता छ ।
ज्योतिनगरकी ६२ वर्षीया लक्ष्मी श्रेष्ठले अन्त कुनै विकल्प नभएर यहाँ बसेको बताइन् । उनले भनिन्, ‘अन्त जाने ठाउँ छैन, यहाँ बस्न पहिरोकै डर छ, परार पहिरोले घरमा क्षति भयो, पोहोर पानी पर्न थालेपछि वर्षाभरि भाडामा बस्नुपर्यो, यो वर्ष पनि के हुने हो भन्ने डर छ ।’
ज्योतिनगरकै ६४ वर्षीया शिवसती श्रेष्ठको मन चुरे जस्तै छियाछिया बनेको दुई वर्ष भयो । ‘भर्खर घर बनेको थियो, चुरेको बाढी पस्यो । अहिले आकाश कालो हुन थालेपछि मन आत्तिन्छ’, उनले भनिन् ।
करिब १० वर्षको बसाइपछि श्रेष्ठले मुस्किलले पक्की घर बनाएकी थिइन् । तर, घरमा चुरेबाट बग्दै आएको ढुंगासहितको लेदो छि¥यो । श्रेष्ठले उक्त घर बनाउँदाको ऋण तिर्न सकेकी छैनन् । तैपनि अहिले मर्मत गरेर सोही घरमा उनी बसेकी छन् । तर, वर्षा सुरु भएपछि आफ्नो मनले ठाउँ छोड्ने उनको भनाइ छ ।
पानी पर्न थालेपछि कसरी रात कटाउने भन्ने त्रास बढ्ने बताउँछिन् स्थानीय रेउमाया गुरुङ । ७० वर्षीया गुरुङ २०७८ साल भदौ १४ गतेको पहिरोले विस्थापित भएकी हुन् । त्यो बेला गुरुङको घर पहिरोले क्षतविक्षत बनाएको थियो ।
‘५० वर्ष भयो यहाँ बस्न थालेको, दुई वर्षदेखि आफ्नै घर सबैभन्दा असुरक्षित भयो’, उनले भनिन्, ‘यो वर्ष पहिरो नियन्त्रणको काम त भइरहेको छ । तर, मन ढुक्क छैन ।’
भूगोलविद् डा.भोजराज कडरियाले चुरेमा आउने पहिरोले बुटवल बजार नै जोखिममा रहे पनि यसको स्थायी विकल्पका बारेमा ध्यान नदिइएको बताए ।
चुरे आफैंमा कमजोर भूबनोटको भएकाले पहिरो गइरहने उनको भनाइ छ । ‘पानी परेपछि चुरे घिउ जस्तै पग्लन्छ, पहाडको टुप्पोबाट पानी पस्यो भने त्यो पहाड विस्तारै खलबलिन्छ, त्यसरी पहाड खलबलिएपछि पुरै डाँडै बग्न सक्छ’, डा. कडरियाले भने ।
दुई वर्षअघि चुरेबाट बगेको लेदोसहितको बाढी बुटवलको मुख्य बजार क्षेत्रसम्म पुगेको थियो ।
‘पानी पर्न थालेपछि रातभर जाग्राम बस्नुुपर्छ’, ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष हस्त केसीले भने । उनले २०७८ सालमा एक दर्जन घर र सयौं परिवार विस्थापित भएकाले फेरि त्यही नियति दोहोरिने आशंका व्यक्त गरे ।
त्यसो त यो क्षेत्र पहिल्यैदेखि पहिरोको जोखिममा थियो । २०५५ भदौ २० गते पहिरोका कारण ५७ घरपरिवार विस्थापित भएका थिए । त्यसअघि २०३८ सालमा पनि उसैगरी क्षति पुर्याएको थियो । त्यो बेला धेरै माथिसम्म घरहरु नबनेको भए पनि पहिरो र लेदोले बजारसम्म प्रभावित बनाएको थियो ।
बुटवलदेखि केही उँचो भागमा रहेको बुटवल वडा नं ३ र ४ मा पर्ने ज्योतिनगर र लक्ष्मीनगर बस्ती वातावरणका हिसाबले आवासीय रुपमा निकै लोभलाग्दा छन् । तर, यही लोभलाग्दो क्षेत्र भूगर्भशास्त्रीले दुई दशकअघि नै बसोबासका हिसाबले उपयुक्त नभएको सिफारिस गरेका थिए ।
२०५५ साल भदौ २० गते चुरे पहाड खसेपछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा ५७ घर क्षतिग्रस्त भएको थियो । त्यतिखेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले स्थलगत निरीक्षणसमेत गरेका थिए । पहिरोपछि तत्कालीन बुटवल नगरपालिकाले पहिरोबाट विस्थापितलाई तामनगरमा स्थानान्तरण गरेको थियो ।
तत्कालीन उपमेयर विमलबहादुर शाक्यले २०५५ सालमा आएको बाढीपछि भूगर्भविद्हरूको एउटा टोली आएको र बस्तीको माथि डाँडा नै चिराचिरा परेको भनेर रिपोर्ट दिएको बताए । उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र पहिल्यैदेखि नै असुरक्षित रहेको बताए ।
अनावश्यक दोहन, मानवीय स्वार्थका कारण पनि ज्योतिनगरमा पहिरो निम्तिएको शाक्यको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा नगरपालिकाले बायो इन्जिनियरिङ गरेर पहिरो रोकथाम गरेको थियो ।
उनले भने, ‘अहिले पनि चुरेको पहिरोले मन आत्तिन्छ, बुटवल नै जोखिममा छ, राष्ट्रिय बजेटले पहिरो नियन्त्रणका लागि काम गर्नुपर्छ, अन्यथा पहिरोले बस्ती जोगाउन सकिँदैन । दीर्घकालीन विकल्प खोज्नुपर्छ ।’
चुरे संरक्षणका लागि खोलिएको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले गरेको अध्ययनमा डाँडाको माथिल्लो भागमा धाँजा फाटेको उल्लेख छ । समितिले गरेको अध्ययनमा वसन्तपुर डाँडाको केही तल्लो भागमा २०७२ सालको भूकम्पपछि धाँजा फाटेको छ । वर्षामा त्यहीबाट पहिरो जाने र बुटवलको ज्योतिनगर, लक्ष्मीनगर र आदर्शनगर प्रभावित हुनसक्ने अध्ययनमा उल्लेख छ ।
चुरेको माथिल्लो भागमा पहिरो नियन्त्रणका लागि काम भइरहेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जनाएको छ । चुरे निकै संवेदनशील भए पनि त्यहाँ लक्ष्मी पार्क, पैदलमार्ग, सडक र मन्दिरलगायतका भौतिक पूर्वाधार निर्माण गरिनुले पनि पहिरो देखापरेको हुनसक्ने अनुमान छ ।
समितिको बुटवलस्थित कार्यालयका इञ्जिनियर निर्मल थापाका अनुसार अघिल्लो वर्ष समितिमार्फत २ करोड ३५ लाखको काम भए पनि चालू आर्थिक वर्षमा परेको ४० लाखको कुनै काम नभएको बताए ।
‘त्यहाँ सानो रकमले काम गर्न समस्या छ, सबैले आफ्नो अगाडि काम गर्न खोज्ने अवस्था छ, त्यही भएर यो वर्ष काम हुन सकेन, आउने वर्ष विस्तृत अध्ययनका लागि ६० लाख परेको छ’, उनले भने ।
उनले स्थानीयले विज्ञको सल्लाहविना धेरै ठाउँमा वालहरु उठाएकाले समस्या भएको बताए । ‘म आफैं पुगेर यहाँसम्म ग्याजिनिङ वाल लगाउने भनेर संकेत गरेर आएको हुँ, पछि त कुन कुन संस्थामार्फत एकमाथि अर्को लगाइएको छ, यसले ठूलो पानी र पहिरो आउँदा क्षति बढाउँछ’, उनले भने ।
दीर्घकालीन समाधानको खोजी नै भएन
सरकारबाट पहिरो नियन्त्रणका लागि केही प्रयास गरे पनि दीर्घकालीन समाधान नहुँदासम्म ज्योतिनगर, लक्ष्मीनगरका स्थानीयले अब बर्सेनि पहिरोको त्रास भोग्नुको विकल्प छैन ।
पहिरो नियन्त्रणका लागि केही प्रयास भए पनि प्रभावकारी भएका छैनन् । २ वर्षको अवधिमा पहिरो नियन्त्रण गर्न राष्ट्रपति चुरे तराई-मधेस संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय र बुटवल उपमहानगरपालिकामार्फत पाँच करोड रुपैयाँ खर्च गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नंं ३ का अध्यक्ष विष्णु ढकालले अघिल्लो वर्ष चुरेमा छरिएका पानीका मुहान एकत्रित गरी एउटै खोल्सीबाट बग्ने गराएकाले केही सहज भइरहेको बताए ।
अहिले विभिन्न ठाउँमा चेकड्याम र खोल्सी बनाइएको भन्दै अब पानी बस्तीतर्फ आउन रोकिएको उनले दाबी गरे । उनले भने, ‘यो सबै हामीले गरेको अल्पकालीन समाधान हो । स्थायी समाधान हाम्रो एक्लो प्रयासले सम्भव नै हुँदैन । यसका लागि प्रदेश र संघ सरकारको सहयोग चाहिन्छ ।’
ज्योतिनगर र लक्ष्मीनगरमाथिको श्रवण डाँडामा जमिन ८० मिटर तलसम्म धस्सिएको छ । वर्षामा मात्रै नभएर हिउँदमा पनि ढुंगामाटो खस्ने समस्या रहेको स्थानीय बताउँछन् ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले चुरे पहिरो नियन्त्रण गर्न प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेको बताए । उनले आफ्नै पहलमा संघ सरकारबाट ४ करोड ५० लाख रुपैयाँ बजेटबाट चेकड्याम, रिटेनिङ वाल, बक्स कल्भर्टलगायत कामहरू भइरहेको जानकारी दिए ।
त्यस्तै सोही स्थानमा विपद् प्राधिकरणमार्फत ४५ लाख रुपैयाँ लागतमा पहिरो नियन्त्रणको काम भइरहेको उनको भनाइ छ ।
भूगर्भविद् डा. रञ्जनकुमार दाहाल, सिंचाइ डिभिजन कार्यालयका प्रकाशदास उलकलगायत सहभागी टोलीले २ वर्षअघि नै ज्योतिनगरमाथिको श्रवण डाँडा नै बगिरहेकाले ग्याबिन वाल र ग्याबिन चेक ड्यामले पहिरो नियन्त्रण हुन नसक्ने निष्कर्ष दिएको छ ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष तथा चुरे संरक्षण समन्वय समितिका महासचिव गणेश घिमिरेले पहिरो नियन्त्रणका केही काम भए पनि ती पूर्ण नभएकाले स्थानीयलाई सधैं त्रासमा राखेको बताए ।
‘म पनि स्थानीय हुँ, यसको समाधान गर्न तीनै तहका सरकारको लगातार ध्यान खिचिएको छ, केही काम भए पनि स्थायी समाधान हुने तरिकाले भएका छैनन्, स्थानीय सरकार विपदको तयारीमा बस्न प¥यो, प्रदेश र संघीय सरकारले दीर्घकालीन समाधानको बाटो बनाउनुपर्यो’, उनले भने ।
पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले यसअघि आफू अर्थमन्त्री हुँदा तत्काल संरक्षणका लागि ५ करोड रकम विनियोजन गरेर काम गरेको र पछिल्लोपटक जिम्मेवारीमा रहँदा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिबाट १ अर्ब १० करोडको योजना बनाएर पेश गर्ने समयमा सरकार ढलेपछि अलपत्र परेको बताए ।
यसको दीर्घकालीन समाधानका लागि विज्ञहरुको अनुसन्धानपछिको सल्लाहमा अगाडि बढाउनुपर्ने र त्यसमा आफूले पहल गरिरहेको बताए ।
कसरी हुन्छ समाधान ?
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य डा. सुस्मिता ढकालले ज्योतिनगरको पहिरो नियन्त्रण गर्न सामान्य योजना बनाएर नहुने बताइन् ।
चालू आवमा समितिबाट ४० लाख रकम विनियोजन भएकोमा लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रमा २०-२० लाखको तारजाली वाल उठाउन खोजे पनि नभएको बताउँदै डा. ढकालले आगामी वर्ष यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न ६० लाख रकम विनियोजन भएको जानकारी दिइन् ।
‘ज्योतिनगरको पहिरो सानो योजनाले व्यवस्थापन हुने सम्भावना छैन, यसको स्थायी समाधान हुने होइन, चुरेको फेदमा दरार छ, जमिनमुनि दरार भएकाले सामान्य भूकम्प आउँदा पनि खतरा हुन्छ, डाँडोलाई स्लो गर्ने र यसको पानी पाइपबाट खोलामा फाल्नुपर्छ’, उनले भनिन् ।
‘माथि डाँडोको पानी कटाएर केही समाधान देखिए पनि त्यहाँ ठूलो खाडल बनेमा पानीभित्र भित्र पसेर अझै ठूलो क्षति हुनसक्छ, सतहको पानी कटाएर हुँदैन भित्रको पानी कटाएर खोलामा पुराउने योजना चाहिन्छ’, डा. ढकालले भनिन्, ‘पहिरो वरिपरि बस्ती बसेको छ, नाला साँघुरो भएर लेदो पानी बग्ने ठाउँ छैन, ठूल्ठूला बाटो बनाइएको छ, त्यसले डाँडो खल्काउँछ, वरिपरिको केही बस्ती सार्नैपर्छ, तीन तहकै सरकार बसेर बृहत योजना बनाउनुपर्छ । हामी समन्वय गर्न तयार छौं ।’