नाइट क्लबमा खुलेआम नाबालिग प्रवेश, बलात्कारको घटनामा कसरी जोडियो एलओडी – Nepal Press

नाइट क्लबमा खुलेआम नाबालिग प्रवेश, बलात्कारको घटनामा कसरी जोडियो एलओडी

काठमाडौं। नाइट क्लब, बारहरूमा नाबालिगलाई दिने कानुन विपरीतको प्रवेशका कारण यति बेला विश्व चर्चित एलओ‌डीका साहुहरूको भागाभाग भइरहेको छ।

ललितपुर प्रहरी परिसरले एलओडीका साहुहरू रुदीलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ।

उनीहरूले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा १ (ख) कसुर गरेको प्रहरीको दाबी छ। त्यसमा ‘बालिगहरुकालागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरन्जनस्थलमा प्रवेश वा प्रयोग गराउने’ कार्यलाई बालबालिकाविरुद्ध हिंसा गरेको मानिने छ भन्ने उल्लेख छ।

त्यस्तो हिंसा गरेबापत ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

उदयपुरकी १६ वर्षीया बालिकालाई एलओडी भित्र भेटेका ५० वर्षीय सुजन कोइरालाले सानेपामा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती बालिका बुढानीलकन्ठस्थित दिदीको घरमा बस्दै आएकी थिइन् ।

फेसबुकमार्फत चिनजान भएकी केटी साथीले रमाइलो गर्न जाऊँ भन्दै पीडितलाई एलओडी पुर्‍याएकी थिइन्। पीडितले क्लबभित्र पुगेपछि केटी साथीले एक्लै छाडेर ‘हराएको’ बताएकी छन् ।

सानेपामा आफू बलात्कृत भएपछि बालिकाले दिदीलाई फोन गरेर बोलाएकी थिइन् । प्रहरी तत्कालै घटनास्थल पुगेको थियो । बालिकाको साथबाट भेटिएको कागजपत्रमा उनी नाबालिग रहेको फेला पारेपछि एलओडी तानिएको हो ।

‘पीडित र पीडक एलओडीमा भेट भएको देखिन्छ। पीडितले पनि मदिरा सेवन गरेको अवस्था थियो । त्यसरी १८ वर्षभन्दा कम उमेरकालाई क्लबमा प्रवेश दिएर एलओडीले कानून उल्लङ्घन गरेको छ । त्यहीँ भेट भएर सानेपामा बलात्कार भएको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन् ।

ठमेलमा रहेका अधिकांश नाइट क्लबहरूले नाबालिग प्रवेश सम्बन्धी मापदण्ड पालना गरेको पाइँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर